भक्तपुर – करिब डेढघन्टादेखि प्राध्यापकको पोडियममा उभिएर बोलिरहेका सांसद नारायणमान बिजुक्छें(रोहित)लाई सोही कक्षामा रहेका एक विद्यार्थीले प्रश्न गरे, ‘नेताज्यु, अहिले संघीयतालाई नै समाजवादको रुपमा बुझ्नेहरु पनि छन्, यसलाई तपाइ कसरी लिनुहुन्छ ?
प्रश्न भुँइमा खस्न नपाउँदै नेपालको परिप्रेक्ष्यमा माक्र्सवाद विषयमा कक्षा लिन आएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष बिजुक्छें यसरी जवाफिए, संघीयता भनेको समाजवाद होइन, सबै समाजवादी देशहरूमा संघीय बन्दोबस्त पनि छैन ।
अरु बेला या त कुनै राजनीतिक कार्यक्रम अथवा टेलिभिजनको स्क्रीनमा देख्ने गरेका बिजुक्छेंलाई आफ्नै अघि ह्वाइटबोर्डसामु शिक्षकको रुपमा देख्दा विद्यार्थीहरू उत्साहित भएर उनीामाथि विभिन्न जिज्ञासाहरुको पोको फुकाइरहेका थिए ।
माक्र्सवादको गहिरो अध्ययन गर्दै राजनीतिमा जीवन होमिएका व्यक्तित्वबाट माक्र्सवादबारे कक्षा लिन पाउँदा विद्यार्थीहरू बढीभन्दा बढी सिक्ने चाहनाका देखिन्थे । ्
भक्तपुर बहुमुखी क्याम्पसको समाजशास्त्र विभागको आयोजनामा भएको नेपालको सन्दर्भमा माक्र्सवाद विषयक विशेष कक्षामा प्रशिक्षण दिन बिहानै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) क्याम्पस पुगेका थिए । झण्डै साढे दुई घण्टा चलेको कक्षामा विद्यार्थीहरूबाहेक क्याम्पसका प्रमुख डा.कृष्ण पोखरेललगायत प्राध्यापकहरूको पनि बाक्लो उपस्थिति थियो ।्
कक्षामा अतिथि शिक्षक बिजुक्छेंले नेपालका कम्युनिष्ट भनाउँदा दलहरू सिद्धान्तप्रति इमानदार नबन्दा नेपालको कम्युनिष्ट आन्दोलन सही दिशामा नहिँडेको बताउँदै माक्र्सको जन्म दिन मनाउने तर व्यवहारमा भारतीय शासक वर्गको दलाली गर्ने प्रवृत्तिले नेपाल र व्यापक जनताको हित नगर्ने विचार व्यक्त गरेका थिए ।
अध्यक्ष रोहितले शान्तिपूर्ण ढङ्गबाट समाजवाद आउने विचार गलत भएको र त्यस्तो विचार राख्ने संशोधनवादीहरू सोभियत सङ्घ पतन भएजस्तै माक्र्सवादी बाटोबाट विचलित हुने गरेको धारणा राखे ।
कार्यक्रममा समाजशास्त्र विभागका प्रमुख सुमन्त घिमिरेले पनि बोलेका थिए । राजनीतिकर्मी रोहितको कक्षामा बस्न पाउँदा आफूहरु निक्क लाभान्वित भएको विद्यार्थीहरुले प्रतिक्रिया दिएका थिए ।
प्रतिक्रिया