Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

अन्तिम परीक्षा आयो किताब आएन

मंगलबार, १२ पुस २०७३

काठमाडौं १२ पुस/ करिब २० प्रतिशत विद्यालयका विद्यार्थीले अझै किताब पाउन सकेका छैनन् । शैक्षिक सत्रको ९ महिना बितिसक्दा पनि १० हजारभन्दा बढी विद्यार्थी पुस्तकबिना पढिरहेका मात्रै छैनन्, उनीहरूले परीक्षासमेत दिइसकेका छन् ।
निमित्त जिल्ला शिक्षा अधिकारी मानबहादुर गिरीका अनुसार ७ र ८ कक्षालाई कम्प्युटर, गणित, जनसंख्या, विज्ञान, ९ र १० लाई अर्थशास्त्र, शिक्षालगायत किताब पाइएको छैन । छपाइको जिम्मा लिएको जनक शिक्षा सामग्री केन्द्रले समयमा पुस्तक नछापेका कारण विद्यार्थीले पाउन नसकेको उनले बताए । ‘कतिपय वितरण केन्द्रले पुस्तक नल्याइदिँदा पनि समस्या भएको हो,’ उनले भने । जिल्लाका १० वितरण केन्द्रबाट पुस्तक वितरणको व्यवस्था मिलाइए पनि नपाएपछि विद्यार्थीले किताबबिनै परीक्षा दिएको उनले बताए ।
२०७३ को शैक्षिक वर्ष सकिन ३ महिना मात्र बाँकी छ, तर विद्यार्थीले किताब पाउने/नपाउने अझै टुंगो छैन । ‘प्रथम त्रैमासिक र अर्धवार्षिक परीक्षा किताब नपढीकनै दिएका विद्यार्थीले अन्तिम परीक्षमा पनि पुस्तक नपढीकनै दिनुपर्ने हो कि भन्ने चिन्ता छ,’ कोर्ताङका अभिभावक दयाराम जैसीले भने, ‘पुस्तक अभावमा कतिपय विद्यार्थी स्कुल नै जाँदैनन् ।’
‘जनक शिक्षा नेपालगन्जको लापरबाहीले पुसको मध्य भइसक्दा पनि पुस्तक उपलब्ध हुन सकेन,’ निमित्त जिल्ला शिक्षा अधिकारी गिरीले गुनासो गरे । जिल्लामा पाठ्यपुस्तकका लागि डेढ करोड बजेट खर्च हुने गरेको उनले बताए । सबै विद्यालयको खातामा पुस्तक खरिदका लागि उक्त रकम निकासा भइसकेको उनको भनाइ छ ।

भीमबहादुर सिँहले जाजरकोटबाट कान्तिपुरमा लेखेको खबर ।

प्रतिक्रिया