Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

सिकाइ उपलब्धिमा सुधार ल्याउन विद्यालयको सूक्ष्म अनुगमन सुरु

मंगलबार, १२ पुस २०७३

काठमाडौं १२ पुस/ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार तथा विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार ल्याउन विद्यालय तहमा ‘सूक्ष्म अनुगमन’ सुरु गरिएको छ ।  विगतमा जिल्ला शिक्षा कार्यालयका अधिकारीहरूले सरसर्ती विद्यालय भौतिक संरचना र प्रधानाध्यापकसँग छलफल गरी अनुगमन गर्ने गरेकोमा अब भने कक्षा कोठा र विद्यार्थीसँगै पुगेर अनुगमन गर्न सुरु गरिएको छ ।  जिल्ला शिक्षा कार्यालय गोरखा र डोटीका जिल्ला शिक्षा कार्यालयले यस खालको अनुगमन तीव्र बनाएका छन् ।  अधिकारीहरूले यसलाई ‘माइक्रो मनिटरिङ’ नाम दिएका छन् ।
गोरखाका जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले अनुगमनको शैलीमा परिवर्तन गरिएको जानकारी दिँदै शिक्षकको माध्यमबाट सामुदायिक विद्यालयको गुणस्तरमा सुधार ल्याउन प्रयास गरिएको बताउनुभयो ।  जिशिका गोरखाले पहिलो पटक सामुदायिक विद्यालयमा कार्यरत सबै शिक्षकलाई झोला वितरण गरी यस खालको अभियान सञ्चालन गरेको हो ।
विगतमा शिक्षक तयारीबिनै हात हल्लाउँदै कक्षा कोठामा जाने गरेकोमा यस खालको अभियानपछि अध्यापन सामग्रीसहित कक्षा कोठामा जाने गरेका छन् ।  शिक्षकको झोलामा किताब, कलम, शैक्षिक सामग्री लगायतका सामग्री हुनेछन् ।  शिक्षक तयारी गरेर कक्षा कोठामा जाँदा विद्यार्थीको सिकाइ उपलब्धिमा वृद्धि हुन्छ भन्ने अपेक्षा गरिएको र हालसम्मको अवस्था सन्तोषजनक रहेको जिशिअ सुवेदीले बताउनुभयो ।
सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि शिक्षकले विशेष तयारी गरेर कक्षामा जानुपर्ने उल्लेख गर्दै उहाँले जिल्लामा सञ्चालित ‘एक शिक्षक एक झोला’ अभियानले सकारात्मक सन्देश दिएको बताउनुभयो ।  उहाँका अनुसार जिल्लाका सबै शिक्षकलाई विद्यालयको आन्तरिक स्रोतबाट व्यवस्था हुने गरी झोला वितरण गरिएको छ ।
जिल्ला शिक्षाको यस अभियानले विद्यालय तहमा सकारात्मक सन्देश दिएको र आफूहरूले तयारीसाथ झोला नै लिएर कक्षा कोठामा जाने गरेको गोरखाको अमरज्योति प्राथमिक विद्यालयका प्रधानाध्यापक तीलकप्रसाद काप्रीले बताउनुभयो ।  जिल्लामा हाल ४९९ वटा सामुदायिक विद्यालय छन् ।
डोटीका जिशिअ अनन्त पौडेलले विगतको अनुगमनको शैलीमा व्यापक परिवर्तन गरिएको जानकारी दिँदै आफूहरूले विद्यालय तहको अनुगमन गर्दा सीधै विद्यार्थीसमक्ष नै पुग्ने गरिएको बताउनुभयो ।  जसमा अनुगमनमा सहभागी अधिकारीहरू कक्षा कोठामा गएर विद्यार्थीले के जानेको के नजानको भनेर सोध्ने गरेका छन् ।  शिक्षकले अध्यापनमा प्रयोग गरेको बोर्ड हेर्ने, शिक्षक कहाँनिर अध्यापन गर्दछन्, विद्यार्थीको बसाइ व्यवस्था कस्तो छ भनेर हेर्ने गरिएको छ ।  शिक्षाका जानकारहरूका अनुसार शिक्षकले कक्षा कोठामा पढाउँदा कुनै पनि एक स्थानमा मात्र नउभिकन घुमेर पढाउनु पर्छ भने विद्यार्थीको बसाइ पनि समय समयमा परिवर्तन गर्नुपर्छ ।
पछिल्लो समय कक्षा कोठामा दुवैतिर बोर्ड राख्ने अभ्याससमेत गरिएको छ ।  यसो गर्दा कुनै पनि विद्यार्थीलाई सबैभन्दा पछिल्लो बेञ्चमा बस्ने विद्यार्थी भन्ने अवधारणा हटाउन सहयोग पुग्ने बताइन्छ ।  दुवैतिर बोर्ड हुँदा विद्यार्थीलाई अघिपछि फर्काएर अध्यापन गराउन सकिन्छ ।
साथै शिक्षकले उक्त बोर्डमा लेखेको कुरालाई तत्काल नमेट्न सुझाव दिने गरिएको छ ।  यसबाट ढिला गरेर कपीमा सार्ने विद्यार्थीलाई सहज हुने र कुनै शिक्षक कक्षामा अनुपस्थित हुने अवस्था आए पनि विद्यार्थीले उक्त सामग्री हेरेर अध्ययन गर्न सक्ने जिशिअ पौडेल बताउनुहुन्छ ।  विद्यार्थीसँग झोला तथा किताब भए नभएको अवस्थाबारे जानकारी लिने गरिएको छ ।
शिक्षकहरू विद्यालयमा अध्यापनका लागि कत्तिको सक्षम छन्, तयारी गरे नगरेको विषयमा आफूले कक्षा कोठामा नै पुगेर अनुगमन गर्ने गरेको जानकारी अधिकारीहरूले दिएका छन् ।  विद्यालयको अवस्था हेरी तत्काल सुधार गर्न प्रधानाध्यापकलाई निर्देशनसमेत दिने गरिएको छ ।  यसबाट विद्यार्थीको सिकाइ उपलब्धिमा वृद्धि हुने अपेक्षा गरिएको छ ।
गोरखापत्रमा शेषकान्त पण्डितले लेखेको खबर ।

प्रतिक्रिया