Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

के पढ्दै छन् नायिकाहरू ?

सोमबार, ११ पुस २०७३

काठमाडौं ११ पुस/दिनभरिको सुटिङको व्यस्तताले थकित हुँदा नायिका केकी अधिकारी रिफ्रेस्मेन्ट खोज्न थाल्छिन् । झोलामा हमेसा कुनै न कुनै पुस्तक रहेकै हुन्छ । उनी सुटिङको ब्रेक टाइममा पनि पुस्तक निकाल्छिन् र पढ्न थाल्छिन् ।

‘समय पास गर्ने गतिलो साधन पुस्तक नै लाग्छ,’ फिल्मवृत्तमा पढन्ते नायिकाको छवि बनाएकी उनले भनिन्, ‘फुर्सद मिल्नेबित्तिकै पाना पल्टाउन थालिहाल्छु ।’
फिक्सन र ननफिक्सन दुवै उनको रोजाइमा पर्छन् । पछिल्लो समय उनले पढेको पुस्तक हो, बुद्धिसागरको उपन्यास ‘फिरफिरे’ । उनी बुकको कन्टेन्टसँगै प्रिजेन्टेसनमा पनि चासो राख्छिन् रे । ‘भाषा सलल बगेको छ र प्रस्तुति रोचक लाग्यो भने पुस्तक पढ्नुको मज्जा भिन्नै हुन्छ,’ उनले भनिन् । यति बेला चाहिँ उनी जापानी लेखक हारुकी मुराकामीको उपन्यास ‘नर्वेजियन उड’ पढ्दै छिन् ।
‘भर्खरै सुरु गर्दै छु,’ सन् १९८७ मै छाएिको उपन्यासबारे उनले सुनाइन्, ‘प्रस्तुति नै सारै मिठो लाग्यो । त्यसैले कति बेला पढेर सकुँ जस्तै भएको छ ।’
केकीको जस्तै अचेल दीपाश्री निरौलाको ध्यान पनि पुस्तकतिर खिचिएको छ । उनले चाहिँ हालै म्याक्सिम गोर्कीको बहुचर्चित उपन्यास ‘आमा’ पढिसकेको बताइन् । सोभियत संघ गठनपूर्व रुसी जनताले समाजवादी व्यवस्थाका निम्ति गरेको संघर्षको मार्मिक कथा समेटिएको यो कृतिले निकै मन छोएको उनले बताइन् । यति बेला चाहिँ उनको हातमा हरिवंश आचार्यको आत्मसंस्मरण ‘चिना हराएको मान्छे’ छ । धेरै पहिले किनेको भए पनि समय अभावका कारण भर्खरै पाना पल्टाउन थालेको उनले सुनाइन् । आफैंले निर्देशन गरेको फिल्म ‘छक्का पन्जा’ को चटारोले पनि उनी बीचमा बेफुर्सदिली बनिन् ।
‘त्यही भएर अब हरिवंश दाइको किताबतिर नजर परेको छ,’ उनले भनिन्, ‘एकैपटक पढी सिध्याउने बानी छैन । फुर्सद मिलेको समय चोरेर किताबलाई दिन्छु ।’
सहरका पुस्तक लोकार्पणतिर अतिथि बनेर देखा पर्नेमा नायिका ऋचा शर्मा पनि पर्छिन् । यसमा उनको पुस्तक मोहले पनि काम गरेको छ । भर्खरै भने उनले अर्की नायिका विनीता बरालकै उपन्यास ‘जुइनो’ पढिसिध्याएको बताइन् । प्राय: उनी लभस्टोरी समेटिएको पुस्तक पढ्छिन् रे ।
‘विनीताको उपन्यास चाहिँ एग्रिकल्चरमा आधारित भएको हुँदा अरूभन्दा फरक स्वादको लाग्यो,’ उनले भनिन्, ‘यस्तो कृति पनि समाजलाई चाहिन्छ ।’ जाडो मौसममा सुन्तला, बदामको स्वादसँगै पुस्तक पढ्न निकै मज्जा लाग्ने उनले तर्क गरिन् ।
‘फुर्सदमा किताबलाई साथी बनाउँदाको आनन्द भिन्न हुन्छ,’ उनले भनिन् ।
नायिका करिश्मा मानन्धर आफू पनि पुस्तकको प्यासी भएको बताउँछिन् । पछिल्लो समय चाहिँ उनी ओशोका दार्शनिक पुस्तकहरूतिर तानिएकी छन् । ‘एउटा पुस्तक पढ्न थालेपछि त्यसलाई नसक्दासम्म छोड्नै मन लाग्दैन,’ उनले भनिन्, ‘पुस्तक पठन चाहिँ मुडमा भर पर्छ । मन छोयो भने दिनभर नै किताबमै बिताएको पनि छु ।’ ज्ञानका लागि फिक्सन र ननफिक्सन दुवै पुस्तक पढ्नुपर्ने उनको अनुभव छ । त्यसैले पनि पुस्तक असल साथीजस्तै लाग्ने उनले बताइन् ।
पढ्नेकै पंक्तिमा पर्छिन् अर्की नायिका रजनी केसी । उनलाई पनि फिक्सन, ननफिक्सन दुवैले तान्छन् रे । भर्खरै उनले बजारबाट ‘चाणक्य नीति’ लगायतका किताब किनेर ल्याएकी छन् ।
‘पुस्तक पढ्ने बानीले मान्छेलाई सिर्जनशील पनि बनाउँछ,’ उनले भनिन्, ‘अबको केही समय चाणक्य नीतिलाई दिन्छु ।’

मधु शाहीले कान्तिपुरमा लेखेको खबर ।

प्रतिक्रिया