Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

माकाजुलाई उपकुलपति बनाउन लबिइङ

सोमबार, ११ पुस २०७३

काठमाडौं ११ पुस/काठमाडौं विश्वविद्यालयका निर्वतमान उपकुलपति डा. रामकण्ठ माकाजुलाई दोस्रो पटक सोही पदमा नियुक्ति दिलाउन नेताका घर–घरमा लबिइङ सुरु भएको छ । उपकुलपति छनोट समितिका सदस्यहरू सुरेशराज शर्मा र दमननाथ ढुंगाना आफ्नो पक्षमा भए पनि शिक्षामन्त्री धनीराम पौडेलले विकल्प खोजेपछि काभ्रेका राजनीतिक दलका नेता तथा प्राध्यापक संघका पदाधिकारीसहित माकाजु लबिइङमा जुटेका हुन् । यो टोलीले कांग्रेस, एमाले र माओवादी केन्द्रका प्रमुख नेताहरूलाई भेटेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले माकाजुलाई उपकुलपति बनाउनुपर्ने भन्दै केही समूह दबाब दिन आइरहेको बताए । आइतबार टोली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न पुगेको थियो । यसअघि पनि धुलिखेलका विभिन्न दलका नेता, अस्पतालका निर्देशकसहितको टोलीले देउवालाई भेटेको थियो । देउवासँगको भेटपछि संयुक्त फोटो खिचेर सामाजिक सञ्जालमा समेत राखिएको छ । ‘माकाजुलाई नै निरन्तरता दिनुपर्नेलगायत अरू माग लिएर एक हूल आज बिहान आएका थिए,’ देउवा निकट स्रोतले भन्यो, ‘सभापतिले कसैको दबाबमा भन्दा पनि योग्य व्यक्ति नियुक्ति गर्न पहल गर्ने आश्वासन दिनुभयो ।’ माकाजुलाई उपकुलपति नबनाए विश्वविद्यालयमा ताला लगाउनेसम्मको चेतावनी उनीहरूले दिएका छन् ।
माकाजुलाई उपकुलपति बनाउन एमाले अध्यक्ष केपी ओली र उपप्रधानमन्त्री कृष्णबहादुर महरालगायतलाई भेटेको एमालेका स्थानीय नेता एवं धुलिखेल नगरपालिकाका पूर्वउपमेयर अशोक बेन्जुले बताए । प्रधानमन्त्री दाहालसँग पनि समय माग गरिरहेको उनले बताए । ‘माकाजु नै हुनुपर्छ भनेर नेताहरूलाई भेटिरहेका छौं,’ उनले भने, ‘उहाँबाहेक अरूले विश्वविद्यालय हयान्डल गर्न सक्दैन । अरू नियुक्ति गरिए हाजिर हुन पनि दिँदैनौं ।’ लोभलालचमा नपर्ने र विश्वविद्यालयको अहित हुने कुनै पनि सम्झौता नगर्ने भएकाले उनी नै चाहिने बेन्जुले बताए । उनलाई उपकुलपति बनाउनुपर्ने लबिइङमा धुलिखेल अस्पतालका निर्देशक राजु कोजु पनि दलका नेतासँगै जाने गरेका छन् ।
तर, माकाजुले उपकुलपति हुनेबित्तिकै पूर्वाधार नपुगेका विराट र देवदह मेडिकल कलेजलाई सम्बन्धन दिएका थिए । स्थानीयले माकाजुको यो कामलाई तत्कालीन माओवादी सरकारको दबाबले दिएको भन्दै संरक्षण गरेका छन् । मेडिकल क्षेत्रका सफल व्यक्ति भए पनि विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सलाई माकाजुले विवादित बनाए । यसले सिंगो विश्वविद्यालयकै साख गिर्न पुगेको छ । स्थानीयले विश्वविद्यालयमा माओवादीले राजनीति छिराएको आरोप लगाउँछन् । माओवादीले स्वार्थ पूरा गर्ने आफ्ना कार्यकर्तालाई उपकुलपति बनाउन लागेको बेन्जुले आरोप लगाए । ‘माओवादी सरकार हुँदैमा उसकै कार्यकर्ता उपकुलपति हुनुपर्छ भन्ने छ ? विश्वविद्यालय यहाँसम्म ल्याउन उसको भूमिका छैन,’ पूर्वउपमेयर बेन्जुले भने ।
प्रधानमन्त्रीका स्वकीय सचिव मल्ल भने यो आरोप अस्वीकार गर्छन् । ‘सिफारिस गर्दा एकजना शिक्षामन्त्रीले भनेको व्यक्तिको पनि नाम सिफारिस गरौं भन्दा राजनीतिक हस्तक्षेप भएको भन्न मिल्छ ? अनि प्रधानमन्त्रीज्यूले समितिका सबै सदस्यले स्वीकारेका व्यक्तिलाई उपकुलपति बनाउनेभन्दा राजनीतिक हस्तक्षेप कसरी भयो ?’ उनले भने ।
‘तेस्रो व्यक्तिको खोजी गर्नुपर्छ’
प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले सबैलाई सहमति गराएर योग्य व्यक्तिलाई चाँडै उपकुलपति नियुक्ति गर्ने बताएका छन् । उपकुलपति छनोट समितिका तीन जनाले उपकुलपतिको उम्मेदवार टुंग्याउन नसकेपछि दाहालले चासो देखाउँदै शनिबार समितिका सदस्य शिक्षामन्त्री धनीराम पौडेल र सुुरेशराज शर्मासँग छलफल गरेका थिए । शिक्षामन्त्री पौडेलले उपकुलपतिमा रजिस्टार भोला थापा र प्रा. जनार्दन लामिछानेलाई पनि सिफारिस गर्नुपर्ने अडान लिएका छन् । शर्मा र अर्का सदस्य दमननाथ ढुंगाना माकाजुको मात्रै नाम सिफारिस गर्नुपर्ने अडानमा छन् । तीनैजनाले अघि सारेको भन्दा अन्य विकल्प रोज्नुपर्ने विश्वविद्यालयका प्राध्यापकहरूको भनाइ छ । ‘एक कार्यकाल काम गरिसकेपछि अरूलाई अवसर दिनु उपयुक्त हुन्छ,’ विश्वविद्यालयका एक डिनले भने, ‘आफ्नो कार्यकालमा केही गर्न नसक्ने फेरि आएर गर्छु भन्दा ठीक हुँदैन । सिफारिस गर्न लागिएका व्यक्तिहरूमा विवाद हुन्छ भने अर्को विकल्प रोज्नुपर्छ ।’
समितिका सदस्य शर्माले विवादमा नपर्ने व्यक्ति सिफारिस गर्ने बताए । ‘हामीलाई विवादमा नपारिदिनुस् भनेर प्रधानमन्त्रीलाई पनि भनेका छौं,’ उनले भने, ‘हामीले विश्वविद्यालयमा राजनीति पस्न दिँदैनांै भन्यौं, प्रधानमन्त्रीले मन्त्रीको कुरा पनि सुनिदिनुस् भन्नुभएको छ ।’

मकर श्रेष्ठले कान्तिपुरमा लेखेको खबर ।

प्रतिक्रिया