ओखलढुङ्गा - शिक्षा मन्त्री धनिराम पौडेलले आइतबार जिल्लालाई मुलुकको ३३ औं साक्षर जिल्ला घोषणा गरेका छन् । २०६८ सालको जनगणना अनुसार १५ देखि ६० बर्ष उमेर समूहका १ लाख ४७ हजार ९ सय ४८ जनसंख्या मध्ये ९९ दशमलब ५ प्रतिशतले लेखपढ गर्न जानेकाले जिल्लालाई साक्षर घोषणा गरिएको हो ।
कार्यक्रममा मन्त्री पौडेलले दुर्गम भएर पनि ओखलढुङ्गाले शैक्षिक क्षेत्रमा गरेको प्रगति प्रशंसनीय भएको बताउँदै सन् २०१७ सम्ममा नेपाललाई पूर्ण साक्षर घोषणा गर्न राज्यले अन्तर्राष्ट्रिय क्षेत्रमा गरेको प्रतिवद्धता पूरा गर्न देशका सबै नागरिक लाग्नु पर्नेमा जोड दिए ।
शिक्षा मन्त्री पौडेलले देशको आबश्यकता अनुसारको शिक्षा प्रणाली विकास गर्ने उद्देश्यले सरकारले शिक्षा ऐनको आठौं संशोधन गरेको बताउँदै पञ्चायती व्यवस्थाले स्थापित गरेको शिक्षा नीतिलाई बदलेर मुलुकको बदलिंदो राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने खालको शिक्षा प्रणालीको बिकास गर्नु अहिलेको प्रमुख कर्तव्य भएको उल्लेख गरे । ‘राजनीतिक सत्ताले आफू अनुकूलको शैक्षिक प्रणालीको विकास गर्छ । हामीले ठूलो त्याग र बलिदानपछि संघीय गणतान्त्रिक नेपालको निर्माण गरेका छौं । हामी पञ्चायती व्यवस्थाले स्थापित गरेको पुरानो शिक्षा नीतिलाई बदलेर संविधानले परिकल्पना गरे अनुसारको शैक्षिक प्रणाली निर्माण गर्न चाहन्छौं ।’ उनले भने ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईंले साक्षर घोषणा गर्नु अघिको प्रकृया तथा जिल्लाको शैक्षिक अवस्थाका बारेमा जानकारी दिए ।
कार्यक्रममा अनौपचारिक शिक्षा केन्द्रका प्रमुख दिवाकर ढुंगेल, सांसदहरु यज्ञराज सुनार, रामहरी खतिवडा र सकुन्तला राजभण्डारी, माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य मोहन खड्का, नेपाली कांग्रेसका प्रदिप बानियाँ, नेकपा एमालेका नेत्रप्रसाद भट्टराई, , पूर्वाञ्चल विकास क्षेत्रका क्षेत्रीय शिक्षा निर्देशक केशवप्रसाद दहाल, स्थानीय विकास अधिकारी यज्ञबहादुर खत्री, सहायक प्रमुख जिल्ला अधिकारी, त्रिलोचन रिमाल, नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष गोकर्ण बानियाँ, क्रान्तिकारी माओवादी केन्द्रका नेता रुद्र फूँयाल, संघीय समाजवादी पार्टीका नेता धिरेन्द्र रुम्जाली, राप्रपाका धनराम श्रेष्ठ, बरुणेश्वर माविका प्रधानाध्यापक कुलप्रसाद खतिवडा, जिल्ला शिक्षा समितिका सदस्य बाबुराम गौतम, सहित विभिन्न संघसंस्थाका प्रतिनिधी लगायतले बोलेका थिए ।
उनीहरुले भूकम्पले क्षतिग्रस्त विद्यालय संरचनाको निर्माणमा सरकारले ध्यान दिनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीले देशभक्तिपूर्ण गित तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा साक्षरता अभियानमा विभिन्न ढंगले सहयोग पु¥याउने श्रोत केन्द्रका प्रमुख तथा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
प्रतिक्रिया