Edukhabar
आइतबार, ०७ पुस २०८१
खबर/फिचर

विश्वविद्यालय विधेयक संसदमा, स्थानीय निकायले सञ्चालन गर्ने

आइतबार, १० पुस २०७३

काठमाडौं– ‘विद्यमान हाम्रा विश्वविद्यालयहरुको अवस्था कस्तो छ ?’ भनिराख्नै पर्दैन, घामझैं छर्लङ्ग छ : विश्वविद्यालहरु शैक्षिक क्यालेण्डर अनुसार चल्न सकेका छैनन्, विश्वविद्यालयका पदाधिकारी विभिन्न राजनीतिक दलहरुको भागबण्डामा परेका छन्, विभिन्न कारणले पटकपटक पढाइ बन्द हुन्छ ।’

शायद् यहीकारण हाम्रा विद्यमान विश्वविद्यालयहरुको पठनपाठनप्र्रति अभिभावकहरु विश्वस्त छैनन् । विद्यार्थीमा पनि एक प्रकारको दोमन छ । यतिमात्र होइन, हाम्रा विश्वविद्यालयहरुमा अझै पनि निम्न आय भएका विद्यार्थीको पहुँच वृद्धि हुन सकेको छैन ।

विश्वविद्यालयहरुको शैक्षिक गुणस्तरमा हरेक वर्ष गिरावट आएको छ । यसैको दुष्प्रभावमा परी वर्षेनी विदेश अध्ययन गर्न जाने विद्यार्थीको ताँती लम्बिँदो छ ।

तर अब यस्तो समस्या लामो समय नरहने दाबी छ, ख्वप विश्वविद्यालयको अवधारणामा कृयाशिल ब्यक्तिहरुको । संसदमा विधेयक दर्ता भएसँगै भक्तपुर नगरपालिकाले अघि सारेको विश्वविद्यालय अवधारणाको प्रकृयाले स्थापनाको औपचारिकता प्राप्त गरेको छ ।

गत मंसिर २६ गते शिक्षामन्त्री धनिराम पौडेलले ख्वप विश्वविद्यालय विधेयक व्यवस्थापिका संसदमा दर्ता गरेका छन् । संसदमा पुगेको सो विधेयक पारित भएपछि विश्वविद्यालय स्थापनाको बाटो खुल्ने छ ।
विधेयक संसदमा खर्ता भएसँगै यस संग सम्बन्धित ब्यक्तिहरु खुसी भएका छन् ।

‘विश्वविद्यालयमा भइरहेको विभिन्न भाँडभैलो र लथालिंग अवस्थालाई ध्यानमा राखी भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालयको अवधारणा अघि बढाएको हो ।’  पूर्वमेयर एवं सासंद प्रेम सुवालले भने ।
विश्वविद्यालयका विविद्य समस्या समाधान गर्ने र शिक्षालाई जनस्तरमा पर्याउनु नै ख्वप विश्वविद्यालयको मुख्य उद्धेश्य रहेको उनको भनाई छ ।

२०५४ सालमा भएको स्थानीय निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका नेताहरुले घोषणापत्र मार्फत् विश्वविद्यालयको प्रतिवद्धता ब्यक्त गरेका थिए । निर्वाचनको बेला जनतासँग गरेको प्रतिवद्धता अनुसार भक्तपुर नगरपालिकाले २०५६ सालमा ख्वप उच्च मावि, २०५८ सालमा ख्वप कलेज र ख्वप इञ्जिनियरिङ कलेज, २०६० सालमा ख्वप बहु प्राविधिक अध्ययन संस्थान र २०६५ सालमा ख्वप कलेज अफ इञ्जिनियरिङ सञ्चालन गरिएको थियो । उक्त अवधारणाको जगमा टेकेर भक्तपुर नपाले नै विश्वविद्यालय चलाउने गरी विधेयक बनाएको थियो ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छेंले देशमा विद्यमान विश्वविद्यालयहरुको शैक्षिक र प्रशासनिक जिम्मेवारीहिनताको कारणमात्र नभएर शिक्षालाई उत्पादन र श्रमसँग जोड्न ख्वप विश्वविद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

‘देशको प्राचीन कला संस्कृति, ज्ञानविज्ञान र प्रविधिलाई समेत नयाँ परिवेशमा अध्ययन र अनुसन्धानमूलक शिक्षाको रुपमा अगाडि बढाउन र शिक्षालाई उत्पादन र श्रमसँग मिलाई रोजगारमूलक, प्राविधिक र व्यावसायिक शिक्षालाई देशको आवश्यकता अनुसार अगाडि बढाउन ख्वप विब्वविद्यालयको आवश्यकता भएको हो ।’ उनले भने ।

‘उच्च शिक्षाको क्षेत्रमा स्थानीय निकायहरुको संलग्नता र सहकार्यमा स्थानीय स्रोत र साधनको परिचालन गरी उच्च शिक्षाको अवसर सबै क्षेत्रका जनतालाई सर्वसुलभ गराई बहुविश्वविद्यालयको अवधारणा अनुरुप उच्च शिक्षालाई स्थानीय आवश्यकता अनुरूप विकास गरी त्यस्ता शिक्षण संस्थाको स्थापना र सञ्चालन सम्बन्धी कार्यलाई व्यवस्थित गर्न तथा उच्च शिक्षामा गुणस्तर, व्यावसायिकता, संस्थागत जवाफदेहीता, भौगोलिक सन्तुलन र सामाजिक न्याय कायम गर्नका लागि ख्वप विश्वविद्यालयको स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न वाञ्छनीय भएको’ निश्कर्ष सहित शिक्षामन्त्री धनीराम पौडेलले विधेयक दर्ता गरेका छन् ।

२०५४ सालको स्थानीय निकायको निर्वाचनबाट भक्तपुर नगरपालिकाको मेयरमा निर्वाचित भइसकेपछि नपाले आफ्नै लगानीमा विभिन्न उमावि तथा कलेजहरु सञ्चालनमा ल्याएको बताउँदै सांसद सुवालले सोही आधारमा विधेयक बनाइएको जानकारी दिए ।

सांसद सुवालले २०६४ साल जेठ १० गते सल्लाघारीस्थित १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालय स्थापना गरी मेडिकल कलेजसमेत सञ्चालनको लागि भक्तपुर नपालाई उपलब्ध गराउन तत्कालिन प्रम गिरिजाप्रसाद कोइराला र सात दलका शीर्ष नेताहरुसँग आग्रह गरी ख्वप विवि स्थापनाको औपचारिक विजारोपण गरेको स्मरण समेत गरे । सोही सालको मंसिर १३ गते ख्वप विश्वविद्यालयको विधेयकको मस्यौदा सहित शिक्षा मन्त्रालयमा निवेदन दर्ता गरेको समेत उनले स्मरण गरे ।

सांसद सुवालले ख्वप विवि सञ्चालनका लागि आवश्यक जग्गा जमिनका लागि भक्तपुरमा समस्या नभएको बताए । उनले हाल लिवालिमा सञ्चालनमा रहेको ख्वप इञ्जिनियरिङ कलेज, ख्वप कलेज अफ इञ्जिनियरिङ रहेको भवन र परिसरमा २५ रोपनी, देकोचाको ख्वप उमावि, ख्वप कलेज रहेको भवन र परिसर गरी ५५ रोपनी, च्याम्हासिँह र कमलविनायकमा रहेको ख्वप बहुप्राविधिक अध्ययन संस्थान रहेको भवन र परिसरको १६ रोपनी तथा नेपाल ट्रस्टको सल्लाघारीस्थित १०८ रोपनी क्षेत्रफलको जग्गा गरी कूल २०४ रोपनीको क्षेत्रफलको जमिनमा विश्वविद्यालय सञ्चालन गर्न सकिने बताए ।

भक्तपुर नगरपालिकाको  प्रमुख आर्थिक लगानी, नेपाल सरकारको अनुदान र सहयोग, देश र विदेशका संघ–संस्थाको सहयोग, विद्यार्थी शुल्क र ऋणलगायतको स्रोतको व्यवस्थापन गर्ने गरी ख्वप विश्वविद्यालयको स्थापना गरिने उनको भनाइ छ ।

स्थानीय स्रोत र साधन परिचालन गरी स्थानीय स्तरमा उच्च शिक्षाको अवसर प्रदान गर्ने भन्ने प्रावधान सहित शिक्षा मन्त्रालयले विधेयक दर्ता गरेपछि  विश्वविद्यालय सञ्चालनको लािग सैद्धान्तिक छलफल हुने बताए ।

‘सैद्धान्तिक छलफलपछि विधेयक महिला, बालबालिका, ज्येष्ठ नागरिक कल्याण समितिमा जान्छ, त्यहाँबाट पास भएपछि पुनः संसदमा पुगेपछि संसदले पास गर्नेछ,’ उनले स्वीकृतिको प्रक्रियाबारे भने, ‘संसदबाट पारित भएर गएको विधेयक राष्ट्रपतिबाट स्वीकृत भएपछि ऐन बन्छ ।’

उनले सो प्रक्रिया अघि बढ्नका लागि करिब डेढ महिना लाग्न सक्ने बताउँदै ऐन बनेपछि जनताका सन्तानले न्यून शुल्कमा उच्च शिक्षा पाउने दाबी गरे ।

‘कला, संस्कृति, विज्ञान, कानून, कृषि, अर्थशास्त्र, प्रविधि तथा व्यावसायिक विषयमा अध्ययन, अध्यापन तथा अनुसन्धान गर्ने काम समेतको लागि ख्वप विश्वविद्यालयको स्थापना गरिएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय भक्तपुर नगरपालिकामा रहनेछ ।’ विधेयकमा उल्लेख गरिएको छ ।

विश्वविद्यालयको संगठनमा सभा, प्राज्ञिक परिषद्, कार्यकारी परिषद्, स्कुल, अनुसन्धान केन्द्र, विद्या परिषद्, तोकिएबमोजिम अन्य निकाय रहनेछन् । विश्वविद्यालय पदाधिकारीमा कूलपति, सहकुलपति, उपकुलपति, रजिस्टार, डिन, निर्देशक र तोकिएका पदाधिकारी रहनेछन् । ‘स्थानीय निकायले सञ्चालन गर्न लागेको यो मुलुककै पहिलो विश्वविद्यालय हुनेछ’, सांसद सुवालले भने, ‘यसले सर्वसाधारण जनताका छोराछोरीहरुले तुलनात्मक रुपमा कम शुल्कमा गुणस्तरीय उच्च शिक्षा पाउने बाटो खुल्नेछ ।’ मुस्कुराउँदै उनले थपे ।

ख्वप विविको विधेयक पास भएसँगै देशमा ११ वटा विश्वविद्यालय हुनेछन् । तर ख्वप विश्वविद्यालयले भने अरू विश्वविद्यालयले जसरी यसले अन्य कलेजलाई सम्बन्धन दिन भने पाउने छैन ।

विधेयक दर्ता भएसँगै लामो समयदेखि ख्वप विश्वविद्यालयको माग गरिरहेका भक्तपुरवासीमा खुसी छाएको छ । ‘लामो समयदेखि ख्वप विश्वविद्यालयको माग गरिरहेका भक्तपुरवासीको अवाजलाई सरकारले मनन् गरेको छ ।’ ख्वप इञ्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले भने ।

प्रतिक्रिया