Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

थप दुई विश्वविद्यालय स्थापना गर्ने विधेयक संसदमा पेश

बुधबार, १३ साउन २०७२

काठमाडौं १३ साउन / सरकारले थप दुई विश्वविद्यालय स्थापना गर्ने भएको छ । शिक्षा मन्त्रालयले व्यवस्थापिका संसद सचिवालयमा दर्ता गराएको नेपालगञ्ज विश्वविद्यालय र राजर्षिजनक विश्वविद्यालयको विधेयक संसदमा पेश भएको छ । त्यस्तै मन्त्रालयले नेपाल खुल्ला विश्वविद्यालय विधेयक २०७२ पनि सचिवालयमा दर्ता गरेको छ । यो विधेयक भने संसदमा पेश हुन बाँकी छ ।

राजर्षिजनक विश्वविद्यालय खोल्नु पर्नाको औचित्य पुष्टि गर्न शिक्षा मन्त्री चित्रलेखा यादवले विधेयकमा शिक्षा मैथली कला र संस्कृतिको संरक्षण, सम्बद्र्धन गर्दै स्थानीय आवश्यकता अनुरुप शिक्षा दिन स्थापन गर्न लागिएको उल्लेख गरेकी छन् ।

दक्ष जनशक्तिको आपूर्ति गर्न र बहु विश्वविद्यालयको अवधारणा अनुरुप प्रतिष्पर्धाको आधारमा उच्च शिक्षाको गुणस्तरमा अभिबृद्धि गर्न सरकारको लगानीमा विश्वविद्यालय खोल्नु परेको उनले आर्थिक टिप्पणी पेश गरेकी छिन् ।

राजर्षिजनक विश्वविद्यालयले कला, विज्ञान, चिकित्सा शास्त्र, कृषि, वन, पर्यटन, आयुर्वेद, कानुन, व्यवस्थापन, शिक्षा, दर्शन, प्राविधिक, व्यवसायिक बिषय अध्ययन गराउने उल्लेख छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय धनुषाको जनकपुर नगरपालकिा क्षेत्रमा रहने व्यवस्था गरेको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत जनकपुर नगरपालिकामा सञ्चालित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसलाई विश्वविद्यालयको आधार क्याम्पसको रुपमा सञ्चालन गरिने विधेयकमा उल्लेख छ ।

त्यस्तै त्रिविको आगिंक सूर्यनारायण, सत्यनारायण यादव बहुमुखी क्याम्पस सिराहा, महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजलाई उक्त विश्वविद्यालयको आगिंक क्याम्पसको रुपमा कायम गर्ने उल्लेख छ ।

प्रधानमन्त्री सुशिल कोइरालाको गृह जिल्ला बाँकेमा खोल्ने तयारी गरेको नेपालगञ्ज विश्वविद्यालयमा कला, विज्ञान, चिकित्साशास्त्र, कानुन, व्यवस्थापन, शिक्षा, प्राविधिक तथा अन्य बिषय अध्यापन गराउन स्थापना गर्न लागेको शिक्षा मन्त्रालयले जनाएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय बाँकेमा राखिने विधेयकमा उल्लेख छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपालगञ्ज नगरपालिकामा सञ्चालित महेन्द्र बहुमुखी क्याम्पस र नर्सिङ क्याम्पसलाई विश्वविद्यालयको आधार क्याम्पसको रुपमा सञ्चालन गरिने विधेयकमा उल्लेख छ । त्यस्तै त्रिभुवन विश्वविद्यालयको आगिंक महेन्द्र मोरङ र जुम्ला क्याम्पसलाई उक्त विश्वविद्यालयले आगिंक क्याम्पसको रुपमा कायम गर्ने विधेयकमा उल्लेख छ ।

संसदमा पेश भएको विधेयकमाथि छलफल भएपछि बल्ल पारित हुन्छ ।

मुलुकमा अहिले सम्म नौ वटा विश्वविद्यालय सञ्चालनमा रहेको छ । मध्यपश्चिममा यस अघि नै मध्यपश्चिम विश्वविद्यालय सञ्चालनमा । तर, पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन ।

प्रतिक्रिया