काठमाडौं ९ पुस/मरिन ९, सिन्धुलीका १२ वर्षीय कान्छामान मोक्तान भक्तपुर जगातीस्थित एक इँटाभट्टामा काम गर्छन् । सिन्धुलीकै नवज्योति उमाविमा कक्षा ४ मा अध्ययनरत कान्छामान पढाइ छाडेर डेढ महिनायता इँटा बनाउनै व्यस्त हुन्छन् । बुबाले घर छोडेर हिँडेपछि दाइको साथ लागेर इँटाभट्टामा मजदुरी गर्न आएको उनी बताउँछन् । ‘बुबाले घर छाडेर हिँड्नुभयो, घरमा आम्दानीको स्रोत केही छैन,’ उनले भने, ‘इँटाभट्टा आउनुअघि नै २० हजार पेस्की लिइसकेको छु, यो तिर्न पनि इँटा बनाउनुपर्छ ।’ कान्छामानसँगै उनका २ दिदी र दाइ पनि इँटा बनाउने काम गर्छन् ।
बिहान २ बजे उठेर मध्याहन १२ बजेसम्म इँटा पार्ने र दिउँसो सुकाउने तथा चाङ लगाउने काममा व्यस्त हुने उनी बताउँछन् । कान्छामानकी १४ वर्षीया दिदी सुनीता कक्षा ७, १६ वर्षीया शनि कक्षा १० को पढाइ छाडेर इँटाभट्टामा मजदुरी गर्न आएका हुन् । उनका दाइ १८ वर्षीय सुमन भने गत वर्ष नै ९ कक्षाको पढाइ छाडेर काममा आएका हुन् । ‘इँटा बनाउने सिजन सकिएपछि गाउँ जाँदा परीक्षा सकिसकेकाले माथिल्लो कक्षा जान पाइएन,’ सुमनले भने, ‘परीक्षा दिन नपाएपछि पढाइ टुंगियो । यी भाइबहिनी पनि बीचैमा कक्षा छाडेर मजदुरी गर्न आएका छन्, इँटा पार्ने सिजन सकेर फर्किंदा समयमै पुगे परीक्षा दिन पाउँछन् ।’ आमा र सानी बहिनी भने ०७२ वैशाखको भूकम्पले भत्किएको घर बनाउन गाउँमै रहेको सुमनले बताए ।
पहरबास ३ सिम्ले, रामेछापकी १५ वर्षीया पूजा गिरी ताथलीस्थित इँटाभट्टामा काम गर्छिन् । पूजा रगगाउँ माविमा ७ कक्षा पढदै थिइन् । उनी परीक्षा मात्र दिने मनस्थितिमा आमाबाबुसँगै इँटाभट्टामा काम गर्न आएको बताउँछिन् । पूजाका बुबा बद्रीले भक्तपुर आउनुअघि नै डेढ लाख रुपैयाँ पेस्की लिएका छन् । पेस्की तिर्न र खर्च जुटाउन परिवारै इँटाभट्टामा काम गर्छन् । त्यस्तै, बांगेसल्ला पुरानागाउँ २, रामेछापकी मीना र अमृत गिरी दम्पतीले ५ वर्षीया छोरी अनीषालाई पनि साथै ल्याएका छन् । ‘छोरी विद्यालय पठाउने उमेरकी भइसकी, पायक पर्ने स्थानमा शिशुकक्षा छैनन्,’ मीनाले भनिन्, ‘अघिल्लो वर्ष देखि नै छोरीलाई पढाउने तयारी गरेको हो, तर पाइएन ।’ प्रत्येक वर्ष विभिन्न संघसंस्थाले इँटाभट्टाका बालबालिकाका लागि छात्रवृत्ति दिएको, पढाएको भन्दै करोडौं रुपैयाँको हिसाब देखाए पनि यहाँका बालबालिका भने पढ्नबाट वञ्चित छन् । अभिभावकसँगै विद्यालय जाने उमेरका बालबालिका पनि पढाइ छाडेरै आएका हुन्छन् ।
भक्तपुर इँटा व्यवसायी संघले भने भट्टका मजदुरका बालबालिकालक्षित गरी जिल्लामा ३० शिशु कक्षा सञ्चालन गरेको जनाएको छ । ‘२/३ इँटाभट्टाका बालबालिका लक्षित गरी पायक पर्ने स्थानमा संयुक्त कक्षा सञ्चालन गरेका छौं,’ संघका जिल्ला अध्यक्ष नातिभाइ हयाम्बाले भने, ‘उमेर पुगेका बालबालिकालाई नजिकको विद्यालयमा पढाइको व्यवस्था उद्योग सञ्चालकले गरिदिएको छ ।’
लीला श्रेष्ठले कान्तिपुरमा लेखेको खबर ।
प्रतिक्रिया