काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले देशभरका १७ वटा क्याम्पसलाई गुणस्तर सुनिश्चितता एवं प्रत्यायन (क्युएए) को प्रमाणपत्र दिएको छ । उच्च शिक्षामा २६ प्रतिशतभन्दा कम उत्तीर्ण प्रतिशत रहेको तथ्य बाहिर आएको बेला केही क्याम्पसहरुलाई उक्त प्रमाणपत्र दिएर आयोग पानीमाथिको ओभानो बनेको शिक्षाविद्हरुले आरोप लगाएका छन् ।
‘समग्र उच्च शिक्षाको गुणस्तर बढाउने विषयमा ध्यान नदिएर आफ्नै बलबुताले राम्रो गरेका क्याम्पसहरुलाई क्युएएको प्रमाणपत्र दिएर अनुदान आयोग सबै बिग्रेका छैनन् भन्न खोजिरहेको छ ।’ एक शिक्षाविद्ले भने ।
आयोगका अनुसार हाल देशभर १ हजार ३ सय ६९ वटा क्याम्पसहरु रहेका छन् । जसमध्ये निजी ८ सय ३८, सामुदायिक ४ सय ३३ र ६० वटा सम्बन्धन प्राप्त क्याम्पसहरु छन् । ती क्याम्पसहरुमध्ये अहिलेसम्ममा १७ वटाले मात्र क्युएए प्रमाणपत्र पाउनुले पनि उच्च शिक्षा गुणस्तरीय हुन नसकेको प्रष्ट भएको छ ।
आयोगले आर्थिक वर्ष २०६६/०६७ बाट क्युएए प्रमाणपत्र दिन थालेको थियो । उच्च शिक्षाको खस्कदोंँ गुणस्तरका कारण बदनाम भएको विश्वविद्यालय शिक्षालाई टेको दिन प्रमाणपत्र दिन थालेको आयोगको तर्क छ ।
आयोगकै तथ्यांकलाई हेर्ने हो भने १ हजार ३ सय ६९मा १७ वटाले मात्र क्युएए प्रमाणपत्र पाउनु भनेको जम्मा १ दशमलब २ प्रतिशत क्याम्पस मात्र गुणस्तरीय रहेको सिधा अर्थ लाग्छ ।
आयोगका सदस्य सचिव प्राडा. देवराज अधिकारीले पनि उच्च शिक्षामा गरिएको लगानी अनुसारको प्रतिफल आउन नसकेको स्वीकार गर्दै क्याम्पसहरुको शैक्षिक गुणस्तरलाई अध्ययन गरी दिइने क्युएए प्रमाणपत्र पाउन सजिलो नभएको बताए ।
‘क्युएए प्रमाणपत्र पाउन सजिलो छैन, यो क्याम्पसले चाहेर मात्र आयोगले दिने प्रमाणपत्र होइन’, उनले भने, ‘यसका लािग आयोगले कम्तीमा ५ देखि ६ वर्षसम्म उक्त क्याम्पसबारे सघन अध्ययन र अनुसन्धान गर्छ ।’
कुनै क्याम्पसले क्युएए प्रमाणपत्र प्राप्त गर्न चाहेमा सो क्याम्पसको संस्थागत स्थिति, आन्तरिक नीतिगत व्यवस्था, पाठ्यक्रम, अध्यापन तथा अनुसन्धानको अवस्था, भौतिक पूर्वाधार आदिबारे प्रष्ट उल्लेख गरिएको स्वपरीक्षण प्रतिवेदन (सेल्फ स्टडी रिपोर्ट) सहित आयोगमा निवेदन दिनुपर्ने प्रावधान बनाएको उनको भनाइ छ ।
यतिमात्र नभएर उक्त प्रमाणपत्र पाउनका लागि तोकिएका अन्य न्यूनतम आधारमा संस्थामा कम्तीमा ५० प्रतिशत पूर्णकालीन शिक्षक हुनुपर्ने, दुईसत्र स्नातक विद्यार्थी उत्तीर्ण गरिसकेको हुनुपर्ने पनि प्रावधान रहेको छ ।
आयोगका क्युएए शाखाका नारायण भण्डारीका अनुसार अहिलेसम्म चितवनको बालकुमारी कलेज, झापाको दमक बहुमुखी क्याम्पस, कञ्चनपुरको सिद्धार्थ बहुमुखी क्याम्पस, रुपन्देहीको लुम्बिनी बाणिज्य क्याम्पसले उक्त प्रमाणपत्र पाएका छन् ।
यस्तै कैलालीको कैलाली बहुमुखी क्याम्पस, मकवानपुरको मकवानपुर बहुमुखी क्याम्पस, कास्कीको जनप्रिय बहुमुखी क्याम्पस, काठमाडौं विविको स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङ, चितवनको शहीदस्मृति बहुमुखी क्याम्पस, तनहुँको आदिकवि भानुभक्त क्याम्पस, कैलालीको टीकापुर बहुमुखी क्याम्पसले पनि उक्त प्रमाणपत्र पाएका छन् ।
यसैगरी इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पस, मोरङको सुकुना बहुमुखी क्याम्पस, सिन्धुलीको सिन्धुली बहुमुखी क्याम्पस, नवलपरासीको मध्यबिन्दु बहुमुखी क्याम्पस र कलेज अफ बायोमेडिकल इञ्जिनियरिङ एण्ड एप्लाइड साइन्सले क्युएए प्रमाणपत्र पाएका छन् ।
प्रतिक्रिया