काठमाडौं - २०७२ साल बैशाष १२ गतेको भूकम्पले पद्मोदय माविको मुख्य भवन पूर्ण क्षति भयो । भवन भत्केपछि विकल्पमा तत्कालका लागि केही गैरसरकारी संस्थाहरुको सहयोगमा स्कुलको प्राङ्गणमा ५ वटा अस्थायी सिकाइ केन्द्र (टीएलसी) बन्यो ।
२० महिना देखि विद्यार्थीले त्यहि छाप्रामा पढ्दै आएका छन् । जहाँ उनीहरुले दुई वटा बर्खाको भेल र एउटा हिउँदको कठ्याङ्ग्रिदो चिसो खेपिसके, यो हिँउद पनि उसैगरी वित्ने पक्का भईसकेको छ । यहि गति हो भने कतिञ्जेल यही सास्तिमा विताउनु पर्ने हो अड्कल काट्न समेत छाडिसके विद्यार्थी र शिक्षकले ।
‘६ महिनाको लागि भनेर बनेको टीएलसीकै भरमा हामी कक्षा सञ्चालन गरिरहेका छौं ।’ विद्यालयकी प्रधानाध्यापक मीनाकुमारी कोइराला पोखरेल दिक्क मान्दै भन्छिन् । एउटा टीएलसीमा दुईवटा कक्षा सञ्चालन गरेर जसोतसो पढाइरहेको जानकारी दिँदै टीएलसीमा पढिरहेका विद्यार्थीको ध्यान तान्न नसकेको उनले बताईन् । ‘टीएलसी मात्र होइन, कक्षाकोठा पनि जोडिएका छन्, यता पढाएको उता सुनिन्छ, उता पढाएको यता ।’ उनले भनिन् ।
मान्द्रोले बनेको टीएलसी नाम दिईएको छाप्रो र मान्द्रोको पनि आयु सकियो । कक्षाकोठामा बिहान शित चुहिन्छ । कक्षाकोठा नहुँदा कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई बिहान पढाउन बाध्य भएको उनले बताईन् । ‘बिहान आएका विद्यार्थी टीएलसीमा पढ्न मानिरहेका छैनन् । दिउँसोको पनि अवस्था लगभग त्यस्तै नै छ’ उनले भनिन् ‘विद्यार्थीले हल्ला भो भनेर पटकपटक गुनासो गरिरहेका छन्, तर के गर्नु हामीले केही गर्न सकेका छैनौं ।’
विद्यालयमा साढे नौसय विद्यार्थी अध्ययन गरिरहेका छन् । त्यसमध्ये आधा विद्यार्थी टीएलसीमा पढ्छन् भने आधा विद्यार्थी शिक्षा कार्यालयले पँहेलो स्टिकर टाँसिदिएको भवनमा ।
‘हामीसँग भवन बनाउनका लागि पर्याप्त मात्रामा पैसा पनि छैन, सरकारले अहिलेसम्म कुनै पहल गरेको छैन, त्यही भएर पँहेलो स्टिकर भएकोमा पनि पढाइरहेका छौं ।’ उनले अर्को बाध्यता सुनाइन् ।
यस्तो प्रतिकूल वातावरणका बीच पनि पठनपाठन भइरहेको उक्त विद्यालय एक प्रतिनिधि विद्यालय हो । भूकम्पल क्षती पुर्याएका सबै जिल्लाका सबै विद्यालयको हालत लगभग उस्ते छ । काठमाडौंकै मात्र कुरा गर्ने हो भने अन्य ७४ वटा विद्यालयको अवस्था पनि उस्तै छ ।
काठमाडौकै त्रिपुरेश्वरस्थित विश्व निकेतन, बानेश्वरको रत्नराज्य, बाफलको ज्ञानोदय, जितपुरफेदीको नार्गाजुन ठूलागाउँ, डल्लुको गीतामाता र साङ्लाको कुन्ची प्वाकल माविको अवस्था पनि उस्तै रहेको जिल्ला शिक्षा कार्यालय काठमाडौंले जनाएको छ ।
विद्यार्थी अस्थायी टहरामा बसेर पढ्न बाध्य भए पनि विद्यालय पुनः निर्माणको कामले गति लिन सकेको छैन । भूकम्पले क्षती पुर्याएका विद्यालय पुर्ननिर्माणका लागि भन्दै सरकारले केन्द्रीय आयोजना कार्यान्वयन एकाई (सिएलपीआइयु) त बनायो तर उसले के काम गर्यो भनेर खोज्नु पर्ने अवस्था छ । विद्यालयको पुनः निर्माणको कामलाई अघि बढाउनुपर्ने बेला सिएलपिआइयुका प्रमुख इमनारायण श्रेष्ठ लगायतको टोली विदेशका विभिन्न गोष्ठीहरुमा व्यस्त छ । विद्यालय निर्माणमा सघाउने प्रतिवद्धता जनाएको जाईकाले उनीहरुलाई अध्ययन भ्रमणमा घुमाएको मन्त्रालय श्रोतले जनाएको छ ।
'यो समय भनेको फिल्डमा बसेर काम गर्न ढिलो भईसकेको समय हो तर जिम्मेवार निकायका ब्यक्तिलाई विद्यार्थीको पिडा महशुस नै भएको छैन' उक्त श्रोतले भन्यो, 'विद्यार्थीको पिडाले नघोचेरै त होला उहाँहरुलाई विदेश शयरमा आनन्द आईरहेको छ ।'
तीन वर्षभित्र सबै विद्यालयको पूनर्निर्माणको काम सक्ने योजना बनाएको सरकारको लक्ष्य समयमै पूरा नहुने निश्चित भएको छ । आयोजनाका जिम्मेवार अधिकारीको बनिबनाउ उत्तर छ – विद्यालय बनाउन बजेटै छैन ।
काठमाडौमा मात्र ११ वटा संस्थाले एक सय ६२ वटा कक्षा कोठा निर्माण गरिदिने प्रपतवद्धता जनाएका छन् । भक्तपुरमा २ वटा संस्थाहरुले १३ वटा विद्यालयका ९० कक्षाकोठा निर्माण गर्ने भएको छ । ललितपुरमा १० वटा संस्थाहरुले ८१ वटा विद्यालय भवन निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् । संघसंस्थाहरुले विद्यालय बनाउने प्रतिवद्धता जनाए पनि अहिलेसम्म काम हुन सकेको छैन ।
यसको मुख्य कारण पनि केन्द्रीय आयोजना कार्यान्वयन एकाई (सिएलपीआइयु) को कार्यसम्पादन प्रभावकारी नभएरै भएको बताउँछन् सम्बन्धित जिल्ला शिक्षा कार्यालयका अधिकारीहरु । जिल्ला शिक्षा कार्यालयहरुमा भर्खर–भर्खर मात्र जिल्ला स्तरीय आयोजना कार्यान्वयन एकाई डिएलपिआइयुको बोर्ड झुण्डिन थालेको छ । अझ पनि सो एकाइ अन्तर्गत काम हुन नसकेको जिल्ला शिक्षा अधिकारीहरु नै स्विकार्छन् ।
उनीहरुले विद्यालय बनाउनका लागि मुख्य समस्याको रुपमा रहेको बजेटको समस्या समाधान गर्नका लागि आफूहरु सिएलपिआइयुको ग्रिन सिंग्नल कुरिरहेको बताउँछन् । उनीहरुले अहिलेसम्म सिएलपीआइयु अन्तर्गत कसरी काम हुन्छ भन्ने सम्मको जानकारी नहुँदा विद्यालय बनाउन थप समस्या भएको बताएका छन् ।
फाईल फोटो
प्रतिक्रिया