काठमाडौं - चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को डिन कार्यालयमा जारी तालाबन्दी खोल्ने वातावरण निर्माण गर्न शिक्षा मन्त्री धनिराम पौडेलले नव नियुक्त डिन डा. जगदिश अग्रवाललाई निर्देशन दिएका छन् । अग्रवाललाई बुधबार राती निवासमा बोलाएर असन्तुष्ट पक्षको चित्त बुझाएर तालावन्दी खोल्ने वातावराण सिर्जना गर्न पौडेलले निर्देशन दिएको उनको नीजि सचिवालयले जनाएको छ ।
मन्त्री पौडेल र डिन अग्रवालबीच गए राती झण्डै दुई घण्टासम्म उक्त विषयमा छलफल भएको थियो । छलफलमा डा. अग्रवालले विहिबारदेखि नै असन्तुष्ट पक्षसँग संवाद शुरु गरी समस्या समाधानको लागि पहल गर्ने प्रतिवद्धता जनाएका सचिवालयले जनाएको छ । असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन डा. गोविन्द केसीको समेत सहयोग खोजिने उनले बताएका छन् ।
चिकित्सा शिक्षाको बेथिती विरुद्ध आन्दोलनरत डा. केसीले अनसन शुरु गर्ने पूर्व निर्धारित दिनमै त्रिभुवन विश्वविद्यालयले डा. केशवप्रसाद सिंहलाई हतार हतार डिन नियुक्त गरेको थियो । उक्त नियुक्ति विधि सम्मत नभएको भन्दै केसीले अनसन जारी राखेपछि सिंहलाई राजिनामा दिन लगाएर अग्रवाललाई नयाँ डिन बनाईएको थियो ।
तर उक्त नियुक्ति प्रति असन्तुष्ट पक्ष संघर्ष समिति नै गठन गरेर आन्दोलनमा उत्रिएको छ । डिन नियुक्तिको विरोधमा समितिले विगत २० दिन देखि तालाबन्दी गर्दै आएको छ ।
तालाबन्दीका कारण डिन अग्रवाल अझै आफ्नो कार्यकक्षमा प्रवेश गर्न पाएका छैनन् । उनको नियुक्ति विरुद्ध डा. सुरेश उप्रेतीको संयोजकत्वमा बनेको संघर्ष समितिसंग मन्त्री पौडेलले यस अघिनै छलफल गरिसकेका छन् ।
केसीको दशौं अनसन तोडिएको १४ औं दिनमा संघर्ष समितिको नामबाट मन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै समितिका संयोजक उप्रेतीले केसीको सत्याग्रहलाई एउटा व्यक्तिको हठको संज्ञा दिएका थिए ।
पढ्नुहोस् : केसीको सत्याग्रहलाई 'हठ' को संज्ञा !
अनसनको २२ औं दिनमा गत मंसिर १९ गते केसीसँग भएको १२ बुँदे सहमती पश्चात केसीको अनसन तोडिएको थियो ।
प्रतिक्रिया