Edukhabar
सोमबार, ०३ मंसिर २०८१
खबर/फिचर

पुस्तकालयलाई प्रविधी मैत्री बनाउन तीन नीति

बुधबार, ०६ पुस २०७३

काठमाडौैं - पुस्तक र पुस्तकालयलाई आधुनिक र प्रविधी मैत्री बनाउन छुटछुट्टै तीन वटा नीति जारी गर्ने अन्तिम तयारीमा रहेको शिक्षा मन्त्री धनिराम पौडेलले बताएका छन् ।  मन्त्रालयको तर्फबाट राष्ट्रिय पुस्तक नीति, पुस्तकालय गुरु योजना र पुस्तकालय अभिलेखिकरण नीति तयार भैसकेको र अब चाँडै जारी गरिने उनले बताए ।

काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजले बुधबार भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले  परम्परागत ढंगले अब पुस्तकालय सञ्चालन हुन नसक्ने बताउँदै पुस्तक पढ्ने बानीको विकास गर्न पनि अब पुस्तकालयलाई विज्ञान र प्रविधी मैत्री बनाउनु पर्नेमा जोड दिए ।  

‘पुस्तकलाई इन्टरनेटको माध्यमबाट संसारभरी बसेर मोवाइल र कम्प्युटरमा समेत पढ्न सक्नेगरी विज्ञान र प्रविधि मैत्री बनाउन आवश्यक छ’ मन्त्री पौडेलले भने । समाजले आयोजना गरेको पुस्तकालय तथा सूचना विज्ञान सम्बन्धी तीन महिने तालिमको उद्घाटन गर्दै मन्त्री पौडेलले पुस्तकलाई अब ठोस रुपमा मात्र बुझ्न नहुने बताए ।

कार्यक्रममा पुस्तकालय समाज काठमाडौंका अध्यक्ष एवं नेपाली कांग्रेसका नेता डा.नारायण खड्काले पुस्तकालयको विकास विना देशको सम्बृद्धि हुन नसक्ने बताए । जिर्ण अबस्थामा रहेका विभिन्न पुस्तकालय भवनको पुनः निर्माण र नव निर्माणमा ध्यान दिन सरकारलाई उनको आग्रह थियो ।

कार्यक्रममा गोरखापत्र संस्थानका महाप्रवन्धक सुशिल कोइरालाले कार्यालय भवन जिर्ण हुँदा गोरखापत्रको एक सय १७ बर्ष पुरानो इतिहास संरक्षण गर्न चुनौती थपिएको गुनासो गरे । ‘भूकम्पको कारण गोरखापत्रको कार्यालय भवन भत्किने अबस्थामा पुगेको छ । गोरखापत्रमा छापिएका महत्वपूर्ण दस्ताबेज र हजारौ बर्ष पुरानो इतिहास बोल्ने पुस्तकहरु हामीले पुरातत्व विभागमा लगेर राखेका छौं’ कोइरालाले भने । चन्द्रशमशेरको पालामा दास र सति प्रथाको उन्मुलन हुँदा त्यस सम्बन्धि समाचार गोरखापत्रले मात्र छापेको स्मरण गराउँदै गोरखापत्रको इतिहासको संरक्षणमा ध्यान दिन सरकारलाई उनको आग्रह थियो ।

प्रतिक्रिया