Edukhabar
सोमबार, ०३ मंसिर २०८१
खबर/फिचर

परीक्षा बोर्ड अध्यक्ष छनौट : ५ हजार शब्दको अवधारणा माग

मंगलबार, ०५ पुस २०७३

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष छनौट गर्न गठित सर्च कमिटिले छनौटको प्रकृया शरु गरेको छ ।

गठन भएको २० दिन पछि सोमबार समितिले सार्वजनिक सूचना जारी गर्दै अध्यक्ष हुन चाहने ब्यक्तिले ५ हजार शब्द सम्मको आफ्नो अवधारणा र ब्यवसायिक कार्ययोजना बुझाउन भनेको छ । २५ सय शब्द सम्मको अवधारणा र २५ सय शब्द सम्मको ब्यवसायिक कार्ययोजना संलग्न गरी १५ दिन भित्र शिक्षा मन्त्रालय स्थित सचिवालयमा सिलबन्दी दरखास्त बुझाउन समितिले भनेको छ ।

मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातकोत्तर र शिक्षा वा परीक्षा सम्बन्धि क्षेत्रमा कम्तिमा १२ बर्षको अनुभव भएको ब्यक्ति बोर्डको अध्यक्ष हुने गरी योग्यता ऐनमै उल्लेख गरिएको छ ।

१२ बर्षको अनुभवलाई शिक्षा वा प्राध्यापन क्षेत्रमा १२ बर्षका अनुभव हासिल गरी सोही समयमा परीक्षा ब्यवस्थापन र सञ्चालन कार्यमा कम्तीमा तीन बर्ष सहितको अनुभवलाई जनाउने भन्दै सर्च कमिटिले स्पष्ट पारेर सूचना सार्वजनिक गरेको छ ।

बोर्डको अध्यक्ष सिफारिस गर्न लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा ख्यातिप्राप्त शिक्षाविद्हरु मध्येबाट कम्तिमा एक जना महिला सहित शिक्षा मन्त्रालयले मनोनित गरेका २ सदस्य रहेको समिति बनाउने पनि ऐनमै उल्लेख छ । सोह अनुसार शिक्षा मन्त्री धनिराम पौडेलले त्रिभुवन विश्वविद्यालयका पूर्व रजिष्टार महेन्द्र सिंह र त्रिविकै प्राध्यापक डा. चन्द्रकला घिमिरेलाई नियुक्त गरेका छन् ।

उक्त समितिले ऐनको दफा ४ क को २ क मा गरिएको ब्यवस्था अनुसार नेपाल सरकारको राजपत्राँकित विशिष्ट श्रेणी, प्राध्यापक वा सो सरहको पदमा काम गरिरहेको वा गरिसकेको, दरखास्त दिएको मितिमा ४० बर्ष पुरा र्भ ६१ बर्ष ननाघेको, नैतिक पतनदेखिने फौजदारी कसुरमा अदालतबाट दोषि प्रमाणित नभएको कुनै दलको सदस्य नभएको र बोर्डसँग कुनै स्वार्थको टकराव नभएको ब्यक्तिले खरखास्त दिन सक्ने उल्लेख गरेको छ ।

ऐन जारी भएको ५ महिना वितिसक्दा पनि बोर्डको अध्यक्ष नियुक्त गर्न नसकेको भन्दै मन्त्री पौडेलको आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया