काठमाडौं ५ पुस / काठमाडौं विश्वविद्यालय (केयू) ले आफ्नै मातहतमा रहेको नोबल मेडिकल कलेजमा वड सपको प्रयोग गरी चिट चोराएको भन्दै कारबाही गर्न प्रहरी गुहारेको छ । काठमाडौं विद्यालयका कायमुकायम उपकुलपति भोला थापाले नै हस्ताक्षर गरी आइतबार जिल्ला प्रहरी कार्यालय काभ्रेमा जाहेरी दिएका हुन् ।
सोमबार थापाले नोबल मेडिकल कलेज विराटनगरको मेडिकल परीक्षामा मोबाइलको प्रयोग गर्दै चिट चोराएकाले आवश्यक कारबाहीको माग गरिएको छ । परीक्षा केन्द्रमै नेपाली सिमकार्ड, भारतीय सिमकार्ड र मोबाइलसमेत बरामद भएको भन्दै निवेदन आएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक (एसपी) सहकुल थापाले जानकारी दिए । उनले काठमाडौं विश्वविद्यालयले दिएको सो निवेदनको विषयमा माथिल्लो निकायमा जानकारी गराउने बताए । काठमाडौं विश्वविद्यालयका कायममुकायम उपकुलपति थापाले चिट चोराएको विषयमा जानकारी आएपछि छानबिन गर्न प्रहरीमा निवेदन दिएको बताए । उनले वड सपको प्रयोगबाट चिट चोराएको सूचना आएपछि निष्पक्ष छानबिन होस् भनेर मेडिकल साइसेन्सले निवेदन दिएको बताए । एमबीबीएस र बीडीएसको प्रवेश परीक्षामा भाग लिने विद्यार्थीलाई चिट चोराएको सार्वजनिक भएपछि दोषी पत्ता लगाई कारबाही गर्न प्रहरीमा उजुरी दिएको उनको भनाइ छ ।
केयूले विराटनगरको नोबेल मेडिकल कलेजमा केन्द्र राखेर लिएको सो प्रवेश परीक्षामा मोबाइलबाट ‘ह्वाट्स एप’ मार्फत चिट चोराइएको समाचार शनिबार सार्वजनिक भएको थियो । ‘एमबीबीएस र बीडीएसका लागि लिएको दोस्रो प्रवेश परिक्षामा ह्वाट्स एपमार्फत चिट चोराइएको भनेर मिडियामा आएको छ, डिनले तिनै समाचारसहित दोषिलाई कारबाही गर्न निवेदन दिनुभएको हो,’ थापाले भने । काठमाडौं विश्वविद्यालयले पहिलोपटक २२ कात्तिकमा लिएको एमबीबीएस र बीडीएसको प्रवेश परीक्षामा विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट एकजना मात्र विद्यार्थी भर्नाका लागि योग्य छानिएपछि दोस्रो प्रवेश परीक्षा लिएको थियो । सो परीक्षामा पनि विद्यार्थी पास नहुने समस्या झेल्नुपरेपछि नोबेलले चिट चोरीको नयाँ शैली अपनाएको आरोप लागेको छ ।
नोबेल कलेजमै तोकिएको परीक्षा केन्द्रमा परीक्षा सुरु भएको आधा घन्टाभित्रै प्रश्नपत्र आउट भएको थियो । परीक्षा सुरु भएको ३७ मिनेटमा ९३ वटा प्रश्नको उत्तर ‘ह्वाट्स एप’मार्फत विद्यार्थीको मोबाइलमा पु¥याइएको तथ्य बाहिर आएको हो । विद्यार्थी लिएर आएका एक कन्सलटेन्टले भर्नाको लेनदेनमा कुरा नमिलेपछि चिट चोरी सार्वजनिक गरेका थिए । ती कन्सल्टेन्टले उपलब्ध गराएको ह्वाट्स एप च्याटमा परीक्षा सुरु भएको ३७ मिनेटमा ९३ वटा प्रश्नको उत्तर परीक्षा हलभित्र पुगेको थियो । नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मा हुन् ।
केशवराज पौडेलले राजधानीमा लेखेको खबर ।
प्रतिक्रिया