Edukhabar
सोमबार, ०३ मंसिर २०८१
गतिविधि

केसीको सत्याग्रहलाई 'हठ' को संज्ञा !

सोमबार, ०४ पुस २०७३

काठमाडौं - डिन नियुक्ति गैर कानुनी भएको भन्दै चिकित्सा शास्त्र अध्ययन संस्थान संघर्ष समितिले शिक्षा मन्त्री धनिराम पौडेललाई ज्ञापन पत्र बुझाएको छ । संघर्ष समितिका संयोजक डा. सुरेश उप्रेती सहितका चिकित्सकहरुको टोलीले आईतबार साँझ मन्त्री पौडेललाई मन्त्रालयमै भेटि नव नियुक्त डिन जगदिश अग्रवाललाई तुरुन्त पदबाट बर्खास्त नगरिए कडा संघर्षमा उत्रने चेतावनी दिएको छ ।

चिकित्सा शिक्षाको बेथिती विरुद्ध आन्दोलनरत डा. गोविन्द केसीको दशौं अनसन तोडिएको १४ औं दिनमा संघर्ष समितिको नामबाट मन्त्रीलाई ज्ञापन पत्र बुझाईएको हो । ज्ञापन पत्र बुझाउँदै समितिका संयोजक उप्रेतीले केसीको सत्याग्रहलाई एउटा व्यक्तिको हठको संज्ञा दिएका छन् ।

कानुन सम्मत रुपमा नियुक्त भएका डिन डाक्टर केशवप्रसाद सिंहलाई सरकारले जवर्जस्ती राजिनामा दिन बाध्य बनाएर गैर कानुनी ढंगले अग्रवालाई डिन नियुक्त गरेको भन्दै उनले आपती प्रकट गरे । अग्रवालाई तुरुन्त बर्खास्त गरेर विधि सम्मत रुपमा नयाँ डिन नियुक्त नगरिए २—४ दिनभित्रमै रिले अनसन शुरु गर्ने र परिक्षा समेत बन्द गरी आन्दोलनमा उत्रने उनको धम्कि थियो ।

अग्रवाल डिन नियुक्त भएको विरोधमा संघर्ष समितिले विगत १६ दिनदेखि डिन कार्यालयमा तालाबन्दी गर्दै आएको छ ।

गोविन्द केसीलाई बचाउने नाममा सरकारलले गलत प्रक्रियाबाट भैरहेका डिनलाई बर्खास्त गर्ने र नयाँ डिन नियुक्त गर्दै जाने परिपाटीले संस्थान धरासायी बन्न पुगेको उप्रतीको आरोप छ ।
ज्ञापन पत्र बुझेपछि शिक्षा मन्त्री पौडेलले संघर्षरत पक्षलाई वार्तामा बसेर समस्याको समाधान खोज्न आग्रह गरे । पुस १४ गते बस्ने त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकमा यस विषयमा छलफल गरेर निकासमा पुग्ने उनले बताए ।

बरिष्ठताका आधारमा डिन नियुक्त हुनु पर्ने लगायतका माग सहित केसीले अनसन शुरु गर्न पूर्व निर्धारित मितिमै त्रिभुवन विश्वविद्यालयले डा. केशवप्रसाद सिंहलाई डिन नियुक्त गरेको थियो । केसीको सत्याग्रह पछि त्रिभुवन विश्वविद्यालयले बरिष्ठताका आधारमा अग्रवाललाई डिन नियुक्त गरेको थियो । अनसनको २२ औं दिनमा गत मंसिर १९ गते केसीसँग भएको १२ बुँदे सहमती पश्चात उनको अनसन तोडिएको थियो ।

प्रतिक्रिया