Edukhabar
आइतबार, ०७ पुस २०८१
खबर/फिचर

५० हजार विद्यार्थी हराए

सोमबार, ०४ पुस २०७३

काठमाडौं– माध्यमिक शिक्षा उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्ने विद्यार्थीको संख्या घटेको छ । गत वर्षको तुलनामा यो वर्षको भर्नादरमा ५० हजारले घटेको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ ।
आयोगका अनुसार गत वर्ष २०७१/७२ मा कूल ४ लाख ५८ हजार ६ सय २१ विद्यार्थी उच्च शिक्षाका लागि भर्ना भएकामा यो वर्ष अर्थात् २०७२/७३ मा भने मात्र ४ लाख ७ हजार ९ सय ४ जना विद्यार्थी मात्र भर्ना भएका छन् ।

हाल देशमा त्रिभुवन, काठमाडौं, पूर्वाञ्चल, नेपाल संस्कृत, लुम्बिनी बौद्ध, कृषि तथा वन विज्ञान, सुदूर पश्चिमाञ्चल, मध्य पश्चिमाञ्चल र पोखरा गरी ९ वटा विश्वविद्यालय छन् । यस्तै विपी स्वास्थ्य विज्ञान, राष्ट्रिय चिकित्सा विज्ञान, पाटन स्वास्थ्य विज्ञान र कर्णाली स्वास्थ्य विज्ञान गरी थप चार वटा मानित विश्वविद्यालय सरहका प्रतिष्ठानहरु पनि छन् । यीनै संस्थाहरुमा भर्ना भएका कूल विद्यार्थीको संख्यामा गिरावट आएको हो ।

एकै वर्ष ५० हजार ७ सय १७ जना विद्यार्थी अर्थात् २ प्रतिशतका दरले भर्ना हुने विद्यार्थी संख्यामा आएको गिरावटका कारणहरु मध्ये विश्वविद्यालयहरुको गुणस्तरले प्रभाव पारेको सदस्य सचिव प्रा.डा. देवराज अधिकारीको निश्कर्ष छ । ‘उच्च शिक्षामा समग्र उत्तीर्ण प्रतिशत २६ प्रतिशभन्दा कम रहेको अवस्था छ, यस्तो नतिजामा सुधार नहुँदा विद्यार्थीको विश्वास विश्वविद्यालयहरुले जित्न सकेका छैनन् ।’ उनले भने ।

यसै गरी सरकारले लागू गरेको सेमेष्टर प्रणाली पनि अर्को मुख्य कारण हुन सक्ने आयोगको अनुमान छ । ‘सेमेष्टर प्रणाली लागू गर्ने भएपछि आर्थिक रुपले कमजोर विद्यार्थी भर्ना भएनन्, जसले गर्दा एकातिर उनीहरु उच्च शिक्षाबाट बञ्चित भए, उनीहरु पढ्नुको सट्टा कामको खोजीमा खाडी मुलुकतिर पसे,  त्यसैको प्रभाव स्वरुप विद्यार्थी संख्या घटेको हो ।’ अधिकारीले भने ।

आयोग कार्यक्रम शाखाका प्रमुख विनोद भट्टराईले गत वर्षको भर्नादर १७ दशमलब १ प्रतिशत रहेकोमा यो वर्ष १५ दशमलब १ प्रतिशतमै सीमित हुनुमा विश्वविद्यालयहरुको शैक्षिक क्यालेण्डरमा हुने गडबडीलाई मान्न सकिने बताए ।

‘शैक्षिक कार्यतालिका अनुसार विद्यार्थी भर्ना, शैक्षिक सत्रको थालनी, परीक्षा सञ्चालन, नतिजा प्रकाशनजस्ता महत्वूर्ण कार्यहरु समयमै सम्पन्न हुन नसकेको कारणले पनि भर्नामा कमी आएको हो ।’ उनले भने ।

देशका विश्वविद्यालयहरुमा विद्यार्थी संख्या घटिरहेको तथ्यांक बाहिर आएको बेला गत वर्ष नै नो अब्जेक्सन लेटर लिएर विदेशीने विद्यार्थीको संख्या पनि ३२ हजार ४ सय ८९ पुगेको तथ्यांकले अझ स्थिति भयावह भएको देखिएको आयोगको भनाइ छ । ‘उक्त तथ्यांकले पनि विद्यार्थी स्वदेशमा भन्दा विदेशमा पढ्न चाहन्छन् भन्ने देखिएको छ, यसले सन् २०२२ मा नेपाललाई विकासशील राष्ट्रमा पु¥याउने लक्ष्यमा पनि बाधा पु¥याउँछ ।’ आयोगका सदस्यसचिव अधिकारीले थपे ।

आयोगका अनुसार अहिले त्रिभुवन विश्वविद्यालयमा ३ लाख ३३ हजार ९ सय ४, काठमाडौं विश्वविद्यालयमा १५ हजार ६ सय ५३, पूर्वाञ्चल विश्वविद्यालयमा २३ हजार ५ सय ३९, नेपाल संस्कृत विश्वविद्यालयमा १ हजार ४ सय ७१ विद्यार्थी अध्ययनरत छन् । यस्तै लुम्बिनी बौद्ध विश्वविद्यालयमा २ सय ४१, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा १ जार १ सय २६, सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा १ हजार ८ सय २९, मध्य पश्चिमाञ्चल विश्वविद्यालयमा  २ हजार ५ सय २२ र पोखरा विश्वविद्यालयमा २५ हजार ५ सय ३२ विद्यार्थी अध्ययनरत छन् ।

विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ हजार ४ सय १९, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानमा ३ सय ७३, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ सय ९५ विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया