काठमाडौं ३ पुस / पशु विज्ञान विषय अध्ययनमा छात्राहरूको पनि उच्च आकर्षण देखिएको छ । मोरङको केराबारीस्थित मच्छिन्द्र माविले सुरु गरेको पशु विज्ञान विषय पढ्ने विद्यार्थीमा छात्र र छात्राको संख्या बराबरीजस्तै देखिएको छ ।
मच्छिन्द्र माविले शिक्षा विभागअन्तर्गतको प्राविधिक शिक्षा परिषद्को सहयोगमा ०७० सालबाट पशु विज्ञान पढाउन थालेको हो । कक्षा ८ बाट पशु विज्ञान पढ्न थालेका विद्यार्थीहरू अहिले १२ कक्षासम्म पुगिसेकका छन् । सबै तहमा छात्र र छात्राको संख्या बराबरजस्तै रहेको प्रधानाध्यापक झलकप्रसाद पौडेलले बताए ।
विद्यालयका सहायक प्रधानाध्यापक एवं प्राविधिक शिक्षा केन्द्रीय सञ्चालन एक नम्बर प्रदेश संयोजक दुर्गाप्रसाद दाहालका अनुसार हाल विद्यालयमा कक्षा ९ र १० मा गरी छात्रा ३३ तथा छात्र ४७ जना छन् । त्यस्तै, कक्षा ११ र १२ मा ३३ छात्रा र ३४ छात्रले पशु विज्ञान अध्ययन गरिरहेका छन् ।
पशु विज्ञान पढ्न विद्यालयमा मोरङको उत्तरी क्षेत्रका साथै दक्षिणी क्षेत्र र सुनसरीबाट पनि विद्यार्थी भर्ना भएका छन् । बाहिरका विद्यार्थीलाई विद्यालयले निःशुल्क होस्टेलको व्यवस्था मिलाइदिएको छ ।
विषय टिकाइराख्न चुनौती
प्राविधिक शिक्षालाई सस्तो र भरपर्दो बनाउन सरकारले शिक्षा विभागअन्तर्गत रहनेगरी प्राविधिक शिक्षा परिषद् गठन गरेर ०७० देखि माध्यमिक तहमा देशभर सयवटा विद्यालयमा कम्प्युटर, पशु विज्ञान, सिभिल इन्जिनियरिङ, स्वास्थ्य सहायकलगायतका प्राविधिक विषयको पठनपाठन सञ्चालनमा ल्याएको हो । सोही निर्णयअनुसार अहिले देशभर गरी दुई सय ५० वटा विद्यालयमा विभिन्न प्राविधिक विषय पठनपाठन भइरहेको छ र मच्छिन्द्र माविले पशु विज्ञान विषय सञ्चालनमा ल्याएको हो ।
सरकारले प्राविधिक विषयमा प्रतिविद्यार्थी वार्षिक ११ हजार अनुदान दिने गरेको छ । तर, त्यो पर्याप्त नभएकाले विषय टिकाइराख्न ठूलो चुनौती भएको विद्यालयले जनाएकोे छ । विद्यालयमा पशु विज्ञान पढाउन तीनजना दक्ष पशु चिकित्सक र दुईजना सहायक पशु स्वास्थ्यकर्मी छन् । विज्ञान शिक्षकको अझै अभाव छ । ल्याबमा केमिकल र उपकरण खरिद गरिरहनुपर्ने भएकाले खर्च अपुग हुँदा विषय टिकाउन हम्मे परेकाले विद्यार्थीबाट तहअनुसार आठदेखि १६ हजारसम्म वार्षिक शुल्क लिन बाध्य भएको प्रअ पौडेलले बताए । विद्यार्थीमा अझै आर्थिक बोझ थपे गरिब र जेहेन्दार विद्यार्थी अवसरबाट वञ्चित हुने उनले बताए ।
माग धेरै उत्पादन थोरै
नेपाल भेटेरीनरी काउन्सिलका अनुसार अहिले देशमा ३० हजार पशु चिकित्सकको आवश्यकता छ । तर, हालसम्म नेपालभर नौ सय मात्रै दक्ष पशु चिकित्सक छन् । सम्भव भए हरेक वडामा एकजना नभए कम्तीमा पनि एक गाविसमा एक वा दुई पशु चिकित्सकको आवश्यकता रहने बताइएको छ । तर, नेपालमा हाल बर्सेनि एक सय २० जना मात्र पशु चिकित्सक उत्पादन हुने गरेका छन् ।
पढाइ सकेलगत्तै रोजगारी
पशु विज्ञानमा अहिले पढाइ सकेलगत्तै रोजगारी पाइने देखिएको प्रधानाध्यापक झलकप्रसाद पौडेलले बताए । ‘तत्काल रोजगारी नपाइए पनि खाली हात बस्नु पर्दैन,’ उनले भने, ‘आत्मनिर्भर हुन सकिने भएकाले पशु विज्ञानमा आकर्षण बढेको हो ।’ विद्यालयका पशु विज्ञान चिकित्सक डा. राकेशकुमार ठाकुरका अनुसार कक्षा ९ र १० मा विद्यार्थीले पशुरोग, उपचार, रोगका कारण, लक्षण, जीवाणु र औषधिकाबारे आधारभूत ज्ञान प्राप्त गर्छन् । कक्षा ११ र १२ मा पशुपालन, फार्म र खोर निर्माण, बजार विस्तारीकरणलगायत व्यावसायिक पशुपालनबारे जानकारी हुन्छ ।
विद्यालय तह सकेपछि नै विद्यार्थीले गाउँघरमा पशु जाँच गरेर आवश्यक सल्लाह दिने रोजगारी पाउन थालेका अर्का शिक्षक पशु चिकित्सक डा. दीप्तिमान चौधरीले बताए । कक्षा १२ मा अध्ययनरत सन्दीप लिम्बू, रोशन भण्डारी, निर्मला भण्डारीलगायतले अहिले नै गाउँमा पशु हेरचाह गरेर राम्रो कमाइ गरिरहेको विद्यालयले जनाएको छ । यस्तै, मच्छिन्द्रबाटै टिएसएलसी गरेका नवराज बराल र पुजन पौडेलले पनि बेलबारीमा भेटनरी पसल चलाउन थालेका छन् । विद्यालयले पशु विज्ञान सेवालाई गुणस्तरीय बनाउन चारवटा अलग–अलग र व्यवस्थित ल्याब सञ्चालन गरेको छ । जसमध्ये १० कठ्ठा जमिनमा एकीकृत पशु हेरचाह केन्द्र (कृषि फार्म) तथा विद्यालयमा व्यवस्थित उपचार क्लिनिक सञ्चालन गरेको छ ।
गणेश लम्सालले नयाँ पत्रिकामा लेखेको खबर
प्रतिक्रिया