काठमाडौं ३ पुस/ काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा सहमति जुट्न नसकेपछि प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालले विश्वविद्यालयका रजिस्ट्रार भोला थापालाई कार्यवाहक उपकुलपति नियुक्त गरेका छन् । उनी साढे तीन वर्षदेखि विश्वविद्यालयका रजिस्ट्रार थिए । ०६२ मा इन्जिनियरिङ विभागको डिन भएका थिए ।
थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठककी छोरी प्रिया पाठक सहभागी परीक्षामा आयोगले हस्तक्षेप गरेको जानकारी सुशासन समितिको बैठकमा गराएका थिए । उपकुलपति डा. रामकण्ठ माकाजुको मंसिर २६ मा पदावधि सकिएपछि विश्वविद्यालयको मंसिर १३ को सिनेट बैठकले शिक्षामन्त्री धनीराम पौडेलको संयोजकत्वमा सुरेशराज शर्मा र दमननाथ ढुंगाना सदस्य रहेको उपकुलपति सर्च कमिटी गठन गरेको थियो । माकाजुको पदावधि नसकिँदै नयाँ उपकुलपति छनोट गर्नुपर्नेमा माओवादी केन्द्रले आफ्नो स्वार्थ पूरा गर्ने र विश्वविद्यालयमा आफ्नो पार्टीको प्रभाव जमाउने व्यक्तिको खोजी गरेपछि सहमति हुन नसकेको समितिका एक सदस्यले आरोप लगाए ।
सर्च कमिटीको अन्तिम बैठकमा शर्मा र ढुंगानाले माकाजु, भद्रमान तुलाधर र मनप्रसाद वाग्लेको नाम अघि सारेका थिए । मन्त्री पौडेलले जनार्दन लामिछानेसहित अर्का एक जनाको पनि राखेर ढुंगाना र शर्माले अघि सारेका नाम हटाउन प्रस्ताव राखेपछि सहमति हुन नसकेको स्रोतको दाबी छ ।
आफ्नो पार्टीनिकट प्राध्यापकलाई उपकुलपति बनाएर आाफूले चाहेको मेडिकल कलेजलाई सम्बन्धन दिलाउने शिक्षामन्त्री र प्रधानमन्त्रीको मनसाय थाहा पाएपछि सहमति नदिएको ती सदस्यले बताए । मन्त्री र प्रधानमन्त्रीले चाहेको व्यक्तिलाई उपकुलपति बनाउन नसक्ने भएपछि रजिस्ट्रारलाई कार्यवाहक दिने वैकल्पिक बाटो रोजिएको अर्का सदस्यले बताए ।
प्रवेश परीक्षाको छानबिन हुने
यसैबीच केयुले बिहीबार विराटनगरमा लिएको एमबीबीएस र बीडीएसको प्रवेश परीक्षाको छानबिन गर्ने भएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेज परीक्षा केन्द्रमा सहभागी परीक्षार्थीलाई मोबाइल एप्लिकेसन्समार्फत वस्तुगत प्रश्नका उत्तर उपलब्ध गराएको समाचार बाहिर आएपछि छानबिन गर्न लागिएको हो । ‘मिडियामा जे कुरा बाहिर आएको छ, यो विषयमा के भएको हो छानबिन गर्छौं,’ विश्वविद्यालयका कार्यवाहक उपकुलपति भोला थापाले भने ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया