- चन्द्र घिमिरे / नेपाली कवितामा एक पृथक शैलीका कवि हुन् । बिम्बमा लेख्न रुचाउने यिनी सामाजिक कविता लेख्न रुचाउँछन् । । वि.सं.२०२१ मंसिर १५ गते धरानमा जन्मिएका घिमिरे कवि, निबन्धकार तथा बौद्धिक व्यक्तित्वका रुपमा परिचित छन् । साहित्य बाहेक सुशासन र विकासका विषयमा पनि उनको कलम चल्दै आएको छ । नेपाल सरकारका प्रशासक समेत रहेका घिमिरे हाल भारतको कोलकातास्थित महावाणिज्यदूतका रुपमा कार्यरत छन् । पछिल्लो समय लेखनबाट टाढा बसेका घिमिरे करीब अढाई दशकपछि फेरि कविता लेखनमा देखा परे । चार बर्ष अघि प्रकाशित घिमिरेको पहिलो कृति ‘डण्ट टच मी ओ कविताहरु’ हो । यो साताको शिक्षा साहित्यमा डेढ बर्ष अघि प्रकाशित उनको दोश्रो कविता संग्रह ‘काठको बाकस’ बाट 'गुरु' :
वर्षौं निदाएकालाई ब्युँताउन
हाम्रा बाहरुलाई धुँवा चाहिएथ्यो
आगोझैं खोजेर ल्याए गाउँमा एउटा मान्छे
मैले पाठशाला टेकेको पहिलो दिन
नानीहरुको जरा गोडिरहेका
र बोर्डमा सुत्र फुकाइरहेका
तिनै बीएस्सी सर थिए ।
चस्मामा पावर बढाएर
जीवनको नमिल्ने बिजगणित हाम्लाई सिकाए
करेलाभन्दा तितो भौतिकशास्त्रको जुस पिलाए
गुरु विडम्बना थिए
पढाउन सफल
जीवनको रिलेदौडमा असफल
छोरीको बिहे गराउन पछिपरे
रुँदै भागिछिन् गुरुपुत्री एक लोफर साँझसित ।
फुर्सदमा गुरुबाट बोनस मिल्थ्यो
रमाइला कथा–
लिंकनका
गान्धीका
माक्र्सका
कलेजमा गुरुमासँग गरेको गोप्य प्रेमका ।
गुरु नआएको एक दिन
कालो अनुहार लाउँदै हल्ला पस्यो कक्षाकोठामा
‘बीएस्सी सर’ गिरफ्तार भएको
प्रतिबन्धित उज्यालो बाँडेको आरोपमा
केही हप्तापछि आए
नभएकालाई बाँड्न
झोलामा आवाज र उज्यालो ।
बीएस्सी सर !
थिए, भरिएका अम्खरा
हाम्ले बाँडिरह्यौं उनको जोक
ढाँट्यौं गुरु दक्षिणासमेत
लाखौंले पाउँदा
पाएन गुरुको कुप्रो ढाडले टेक्न नागरिकताको लाठी
त्यसले जिन्दगीको बत्ती उनको मधुरो हुन छाडेन ।
तिनै अनागरिकबाट दीक्षित म दरिएँ
यो देशको भद्र नागरिक
जसलाई गए सोमबार उठबस गरायो
रिटायर्ड तिनै गुरु बितेको अपुष्ट खबरले
हो, गुरु मरेछन्
जसरी गुरुहरु मर्छन् ।
आफूलाई निख्य्राउने गरी
जिउने गरी सिकाएका गुरुहरु
नबिथोली सुटुक्क बिदा लिन्छन्
नभनी कुनै अन्तिम इच्छा ।
मार्च २०, २०१३, कोलकाता
प्रतिक्रिया