काठमाडौं २ पुस / कथित बोक्सीको आरोपमा काभ्रे सानोवाङथलीकी लक्ष्मी परियारलाई गाउँकै शिक्षक हीरा लामा र उनकी आमा काइँलीमाया लामाले दिसा खुवाउँदै २२ मंसिरमा निर्घात कुटपिट गरे । यही कारण लक्ष्मीको २४ मंसिरमा मृत्यु भयो । त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम रिपोर्टअनुसार कुटाइकै कारण लक्ष्मीको मृत्यु भएको पुष्टि भएको छ । घटनामा संलग्नलाई काभ्रे प्रहरीले पक्राउ गरेर मुद्दा चलाउने तयारी गरेको छ, लक्ष्मीको शव शिक्षण अस्पतालमा छ ।
आठ वर्षअघि ललितपुरमा यही प्रकृतिको घटना भएको थियो । ७ चैत ०६५ मा प्युटार–७ की ४५ वर्षीया कल्लीकुमारी विकलाई भञ्ज्याङ प्राथमिक विद्यालयकी प्रधानाध्यापिका विमला थापाको टोलीले दिसा खुवाउँदै कुटपिट गरेको थियो । यद्यपि, उनी बाँच्न सफल भइन् । पीडक थापा पक्राउ परिन्, तर अदालतले सामान्य धरौटीमा रिहा गर्यो ।
राष्ट्रिय दलित आयोग र समता फाउन्डेसनले तयार गरेका अनुसन्धान विवरणहरूमा जातीय छुवाछुतका घटनामा अपेक्षित कानुनी कारबाही हुन नसकेको उल्लेख छ । शिक्षित भनिएकाहरू नै दुव्र्यवहारका घटनामा संलग्न रहेको र कतिपय घटनामा प्रहरीले उजुरी नै लिन मानेको देखिँदैन । देश छुवाछुमुक्त भइसक्दा पनि जातीय विभेद तथा बोक्सीको नाउँमा कुटपिट गर्ने, दिसा खुवाउने, गाउँबाट बहिष्कार गर्नेदेखि बर्बरतापूर्वक हत्या गर्नेसम्मका दर्जनौँ उदाहरण छन् ।
उजुरी नै लिन मान्दैन प्रहरी
उदाहरण : काभ्रे पाँचखालका अजित मिजार र पराजुली थरकी युवतीबीच २५ असार ०७३ मा प्रेमविवाह भयो । युवतीको परिवारले मिजारविरुद्ध प्रहरीमा बालविवाहको उजुरी दियो । २७ असारमा उनीहरूबीच सम्बन्धविच्छेद गराइयो । २८ असारमा मिजार बेपत्ता भए । केही दिनमै धादिङ गजुरीमा उनको शव फेला प-यो । प्रहरीले परिवारलाई जानकारी नदिई मिजारको शव गाड्यो । तर, दलित अधिकारकर्मी र आफन्तको दबाबमा शव उत्खनन गरी ३ साउनमा शिक्षण अस्पतालमा पोस्टमार्टम गरियो । मिजारको हत्या पुष्टि भए पनि प्रहरीले लामो समयसम्म मुद्दा दर्ता गर्न मानेन । अहिले प्रहरीले युवतीकी आमालाई मात्र थुनामा राखेको छ । मिजारको शव पाँच महिनादेखि शिक्षण अस्पतालमै छ ।
शिक्षित व्यक्तिमा ‘पावर’को दम्भ हुन्छ
मोहना अन्सारी
प्रवक्ता, राष्ट्रिय मानवअधिकार आयोग
शिक्षितबाटै किन हुन्छ जातीय विभेद ?
जो शिक्षित हुन्छ, उसलाई ‘मलाई कसैले छुन सक्दैन’ भन्ने दम्भ हुन्छ । राजनीतिदेखि सुरक्षा निकायसम्म पहुँच छ भन्ने घमण्ड हुन्छ । त्यसैले उनीहरू कानुनसँग नडराई खुलमखुल्ला विभेदमा उत्रने गर्छन् । अर्को कारण, जातीय विभेदको मुद्दाको राम्रो अन्त्य नभएर पनि हो । कानुनको सुनिश्चितता नै छैन । कानुन ठीकसँग कार्यान्वयन भएको छैन । त्यसैले पनि शिक्षितहरूबाट यस्ता घटना भइरहेका हुन् ।
यस्तो विषयमा अधिकारकर्मीलाई काम गर्न कत्तिको सहज हुन्छ ?
मानवअधिकारवादीले कुनै राजनीतिक दलको बिल्ला भिर्नु हुँदैन । यो मानवअधिकारको धर्म र मर्म हो । तर, मानवअधिकारवादी नै विभिन्न घटनामा राजनीतिक पूर्वाग्राही राखेर काम गरेकाले विवादमा आउने गरेका छन् । यसले काममा अप्ठ्यारो हुन्छ । यथार्थ कुरा यही हो ।
महिला हिंसा र विभेदका घटनामा आयोगले कसरी काम गरिरहेको छ ?
नेपालको संविधान र कानुनअनुसार नै हामीले काम गर्ने हो । हामीले गर्ने काममा राजनीतिक गन्ध आउनुहुँदैन । पछिल्लो समय जातीय विभेदमा उजुरी नलिने समस्या पनि छ । किन उजुरी नलिएको ? भन्दै हामीले पत्र पठाए पनि कुनै उत्तर आउँदैन । यस्ता विषयमा हामीले अन्तर्राष्ट्रिय मानवअधिकार सन्धि र नेपालको कानुनमै टेकेर काम गर्ने हो ।
दलितमाथि दुव्र्यवहारका फाइल
दुई वर्षअघि नवलपरासीस्थित सिद्धार्थ माविका प्रधानाध्यापक शशीभूषण पाण्डेसहितले दलित भएकै कारण बुद्धिलाल हरिजनलाई निर्घात कुटपिट गरे । राष्ट्रिय दलित आयोगका अनुसार शिक्षकको दुव्र्यवहारकै कारण दलित समुदायका विद्यार्थीहरू विद्यालय जानै छाडे । यही कुरा उठाउँदा हरिजनमाथि कुटपिट भयो । यो मुद्दा अदालतसम्म पुग्यो । पीडकलाई अदालतले १५ सय रुपैयाँ जरिवाना गरेर छाडिदियो ।
२६ कात्तिक ०६८ मा कास्की घान्द्रुकका कर्णबहादुर नेपालीलाई भोजमा खाना छोएको आरोपमा मोसो र जुत्ताको माला लगाई गाउँ घुमाइयो । खानेपानी योजना सफल भएको खुसियालीमा दिइएको भोजमा छोइछिटो गरेको भन्दै गाउँलेले उनलाई दुव्र्यवहार गरे जबकि नेपालीकै अगुवाइमा गाउँमा खानेपानी योजना आएको थियो । उक्त घटनामा संलग्न रामप्रसाद, रेनुका, श्याम, विष्णुबहादुर गुरुङलगायत आठजनाले प्रहरीसामु नेपालीलाई क्षतिपूर्तिस्वरूप ८० हजार रुपैयाँ तिरे । उनीहरूमाथि थप कानुनी कारबाही भएन ।
धनुषामा ०७० फागुनमा एउटा विद्यालयका विद्यार्थी फेरन महराले सरस्वतीपूजाको प्रसाद छुन पाएनन् । कक्षाका अब्बलमध्येका उनलाई प्रधानाध्यापक किशोरप्रसाद दाहालले प्रसाद छुन दिएनन् । महराका उजुरी प्रहरीले नै लिन मानेन ।
ड्ड ३१ असार ०७१ मा दाङ पुरन्धाराकी बिरमा विकलाई पानी छोएको भन्दै स्थानीय सुशील शाहले निर्घात कुटपिट गरे । उनको हातखुट्टा, टाउको र छातीमा गम्भीर चोट लाग्यो । यो घटना लामो समय गुपचुप रह्यो ।
२४ मंसिर ०६८ मा चुलो छोएको निहुँमा स्थानीय होटेल मालिकले कालिकोट जुविधाका मानबिरे सुनारको हत्या गरे । उक्त मुद्दामा दलित सांसदहरूले तत्कालीन संविधानसभा घेराउ गरेपछि पीडित परिवारले सरकारबाट १० लाख रुपैयाँ क्षतिपूर्ति पायो । पीडक अदालतको फैसलापछि अहिले आजीवन काराबासको सजाय भुक्तान गरिरहेका छन् ।
छोराले अन्तर्जातीय बिहे गरेको भन्दै ०६८ मा दैलेखका सेते दमाईंको हत्या भयो । छोराले ठकुरी थरकी युवती भगाएको आरोपमा घरै पुगेर युवतीका आफन्तले दमाईंलाई धारिलो हतियारले हानेर हत्या गरे । पीडक अहिले जेलमा छन् ।
नयाँ पत्रिकामा विश्वास खड्काले लेखेको खबर ।
प्रतिक्रिया