काठमाडौं २ पुस / राजधानीको नक्सालस्थित नन्दी माविमा अध्ययनरत कुसुम तामाङ यसवर्ष चैतमा कक्षा १० को परीक्षा दिने तयारी गर्दैछिन् । तर, उनलाई आफ्नो स्कुल वरिपरिको वातावरणले सताइरहेको छ । स्कुल वरिपरि पाइलैपिच्छे भट्टी पसल र चुरोट पसल छन् ।
स्कुलभित्र सर मिसले अनुशासन, नैतिक शिक्षा सिकाउनुहन्छ, कसुमले चिन्ता व्यक्ति गरिन्, तर हाम्रो स्कुलसँगैको तरकारी बजारभित्र र आसपासमा पाइलैपिच्छे मदिरा र चुरोट पसल छन् । त्यहाँ हाम्रो स्कुलका विद्यार्थी पनि जाने गर्छन् ।
उनलाई आफू १० कक्षा पास गरेर स्कुलबाट निस्केपछि कतै बहिनीले नराम्रा कुरा सिक्ने त होइन भन्ने चिन्ता छ । कुसुमकी कान्छी बहिनी सपना त्यही स्कुलमा कक्षा ६ मा पढ्दैछिन् ।
त्यतिमात्र होइन, स्कुलसँगै रहेको नन्दीकेश्वर महादेव मन्दिर परिसरमा मान्छे बसेर तास र जुवा खेल्छन, चुरोट, गाँजा तान्छन् स्कुले नानीहरु हेरी बस्छन्, कुुसुमले भनिन्, प्रहरी अंकलहरुले हाम्रो स्कुलको वातावरण सुरक्षित बनाइदिनुपर्यो ।
सरकारले सुर्तीजन्य पदाथए नियमन तथा नियन्त्रण ऐन २०६८ कार्यान्वयनमा ल्याएर स्कुल वरिपरि ५ सय मिटरको दूरीसम्म सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न नपाइने व्यवस्था गरेको छ । सार्वजनिक स्थानमा धूमपान गर्नेलाई सय रुपैंया जरिवानासमेत तोकिएको छ । कानुनी व्यवस्था कार्यान्वयन हुन नसक्दा उपत्यकाकै सहरी क्षेत्रमा रहेका सरकारी स्कुल वरिपरिको वातावरण खराब छ ।
उपत्यकाका विभिन्न सरकारी विद्यालयमा पुगेर सोधपुछ गर्दा वरिपरिको वातावरण पठनमैत्री नभएको विद्यार्थीले गुनासो गरे । विद्यालयभित्र शिक्षकले अनुशासन, नैतिक शिक्षा, राम्रो आचरणबारे ज्ञान बाँडे पनि वरिपरिको वातावरण भने नकारात्मक भेटियो ।
नागरिकमा रुबी रौनियारले लेखेको खबर ।
प्रतिक्रिया