काठमाडौं १ पुस / शिक्षा नीतिले आधा घण्टा दूरीमा विद्यालय पहुँच हुनुपर्ने भने पनि बाजुराका कतिपय गाउँमा माध्यमिक तहको शिक्षाका लागि दैनिक ५ घण्टा पैदल हिँड्नुपर्ने बाध्यता हटेको छैन ।
गुदुखाती गाविस १ धनाल्तका विष्णु रावत गाविसभित्रैको खापरदेवस्थली माविमा १० कक्षामा पढ्छन् । घरदेखि विद्यालय पुग्न उनलाई कम्तीमा अढाई घण्टा लाग्छ, फर्किन त्यत्ति नै ।
आठदेखि १० कक्षाको पढाइका लागि ५५ परिवारको बसोबास रहेको धनाल्तका १६ बालबालिका दैनिक ५ घण्टाको कठिन बाटो छिचोल्छन् । बाटोसमेत सहज छैन । उकालो ओरालोमात्र नभई डरलाग्दो भीर र पहिरो पार गर्दै विद्यालय जान–आउन पर्छ । ‘कि त स्कुल छोड्नुपर्यो, कि अप्ठेरो सहनुपर्यो,’ विष्णुले आफ्नो बाध्यता सुनाए ।
गुदुखाती गाविसमा दुई मावि छन् । पुडाबाउलामा भवानी छ भने अर्को विद्यालय खाती गाउँमा रहेको खापरदेवस्थली मावि हो । धनाल्तमा ५ कक्षासम्म पढाइ हुने विद्यालय छ । निमावि तहको अध्ययनका लागि उनीहरूले गुदुस्थित ब्रम्हेश्वरीमा पुग्नुपर्छ । धनाल्तबाट ब्रम्हेश्वरी आउजाउ गर्नै दैनिक ३ घण्टा हिँड्नुपर्ने विद्यार्थीले बताए । गाउँबाट पुडाबाउला पुग्न खापरदेवस्थलीभन्दा आधा घण्टा कम समय लाग्ने भए पनि जंगलको बाटो भएर जानुपर्ने भएकाले टाढाकै विद्यालय उनीहरूले जाने गरेका छन् ।
दैनिक ५ घण्टा हिँड्नै लागेपछि बालबालिकाको शैक्षिक गुणस्तर कमजोर रहेको खापरदेवस्थलीका शिक्षक रामबहादुर कटुवालले बताए । ‘पहिलो त विद्यालयमा हाजिर लगाउने कुरा नै प्रमुख भयो,’ कटुवालले भने, ‘घरमा समेत कामकाज सम्हाल्नुपर्ने भएकाले उनीहरू गृहकार्य गर्नसमेत भ्याउँदैनन् ।’
कलिलो उमेरका बालबालिका र उनीहरूका अभिभावकसमेतलाई आफूहरूले शिक्षामा सहज पहुँच पाउनुपर्नेमा ज्ञान छैन । जानकारी भए पनि विकल्प छैन । ‘स्कुल आउजाउ गर्दागर्दै थकाइले खुत्रुक्क हुन्छौं, घर गएर कामकाज पनि गर्नै पर्छ,’ विष्णुले भने, कतिबेला पढाइ गर्नु ? धेरै दिन त स्कुल जानै भ्याउँदैनौं ।’
नजिक विद्यालय नभएर पढाइमा बाधा भएको धनाल्तका बालबालिकालाई मात्रै होइन । सदरमुकाम मार्तडीदेखि एक दिन पैदलको गुदुखातीको अवस्था यस्तो छ भने ४ दिन पैदलमा पर्ने बिच्छयालगायत गाविसका बालबालिकालाई कति सास्ती होला ? स्थानीय भन्छन्, ‘उनीहरूलाई पढ्न होइन, स्कुल जानै सास्ती छ ।’
जिल्लाकै सर्वाधिक विकटमा पर्ने र क्षेत्रफलका हिसाबले समेत आधा भूभाग ओगटेको बिच्छयाभरि एउटामात्रै मावि छ । ४ र ६ वडाको बीचमा पर्ने देउसैनमा बिच्छया मावि छ । युना, बौडी, गम्बा, कोटीगाउँका बालबालिकाले माध्यमिक तहको शिक्षा आर्जन गर्नुपरे देउसैनमा डेरा गर्नुपर्छ । यी गाउँबाट पैदल स्कुल आउन सम्भव छैन । देउसैन नजिक पर्ने गाउँका बालबालिकाले पनि कम्तीमा ४ घण्टा पैदल नहिँडी विद्यालय आउजाउ गर्न सम्भव छैन ।स्थानीय समुदायले निमावि तहको विद्यालयलाई माध्यमिक बनाउन चाहेमा जिल्ला शिक्षाले अनुमति दिन सक्छ । तर निमावि तहमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक दरबन्दी हुनैपर्छ । ‘समुदायले पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता गरे पनि शिक्षक दरबन्दी नभएकाले मावि बनाउन सकेका छैनन्,’ निमित्त जिल्ला शिक्षा अधिकारी धर्मराज जोशीले भने ।
अर्जुन शाहले बाजुराबाट कान्तिपुरमा लेखेको खबर ।
प्रतिक्रिया