काठमाडौं १ पुस / विद्यालय नेपाली, तर त्यहाँ अध्ययन गर्ने प्रायः सबै विद्यार्थी भारतीय नागरिकका छोराछोरी । यो दृश्य नेपाल–भारत सीमा क्षेत्रमा रहेका विद्यालयको होइन, राजधानी काठमाडौंको केन्द्र मानिने टेकुस्थित सबल धोला प्राविको हो । टेकुको सबलबहालमा रहेको यो सार्वजनिक विद्यालयमा प्रावि तहमा एकजना नेपाली नागरिकका छोराछोरी मात्र अध्ययन गर्छन् । अधिकांश भारतीय नागरिकका छोराछोरीले यो विद्यालय चलेको छ ।
त्यहाँ पुग्दा त्यो विद्यालय हो–होइन भन्ने छुट्याउन न मुस्किल पर्छ, न त विद्यालयको बोर्ड नै छ, न कुनै सरसफाइ । नेपाली अभिभावकका छोराछोरी नहुँदा विद्यालय व्यवस्थापन समितिसमेत गठन हुन सकेको छैन । पछिल्लो समय सार्वजनिक विद्यालयमा विद्यार्थी घट्दै गइरहेका बेला सबलधोला प्राविमा भने स्थानीय बासिन्दाले आफ्ना छोराछोरी पढाउनसमेत छाडेका छन् ।
विश्वास छैन स्थानीयको
सोमबार दिउँसो पुग्दा विद्यालय बन्द थियो । विद्यार्थी र शिक्षक कोही पनि थिएनन् विद्यालयमा । विद्यालय भवन गुठीको जग्गामा बनेको छ । विद्यार्थीको संख्या कम हँुदै गएपछि विद्यालय भवन पनि गुठीले नै प्रयोग गर्न थालेको छ ।
विद्यालय परिसरनजिक भेटिएका स्थानीय विकास देउलाले भने, ‘मैले यही स्कुल पढेको हो, पहिलो राम्रो थियो, अहिले राम्रो पढाइ नभएपछि स्थानीय कसैले पनि आफ्ना छोराछोरी पढाउँदैनन् ।’ भएका थोरै विद्यार्थी पनि भारतीय नागरिकका सन्तान छन् । नेपालमा काम गरेर बस्ने भारतीय कामदारका छोराछोरी पढ्ने स्कुल बनेको छ यो ।
नेपाली बोर्डिङमा, भारतीय हाम्रोमा आएः प्रधानाध्यापक
सबलधोला विद्यालयकी प्रधानाध्यापिका पुनम रानाले स्थानीय अभिभावक बोर्डिङ स्कुलतिर आकर्षित भएकाले समस्या भएको बताइन् । ‘अघिल्लो वर्ष केही नेपाली विद्यार्थी पनि थिए, यो वर्ष त एकजना मात्र भर्ना भए,’ रानाले भनिन्, ‘विद्यालय व्यवस्थापन समिति पनि गठन भएको छैन ।’ भारतीय नागरिकका छोराछोरी भर्ना भए पनि उनीहरूलाई टिकाउन समस्या भएको उनको भनाइ छ ।
व्यवस्थापन समिति छैन
शान्ति निकुञ्ज मावि भागवतीबारीका स्रोतव्यक्ति कृष्ण विष्टले सबलधोला विद्यालयमा नेपाली नागरिक अभिभावक नभएका कारण विद्यालय व्यवस्थापन समिति गठन गर्नसमेत कठिन भएको बताए । विद्यालयको रजिस्टरमा प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म २६ जना भर्ना भएको देखिन्छ । तर, नियमित रूपमा १० जनाको हाराहारीमा विद्यार्थी आउने गरेको पाइयो । भर्ना भएका पनि चाडपर्वमा घर जाँदा विद्यालयमा विद्यार्थीको खडेरी हुने गरेको स्रोतव्यक्ति विष्ट बताउँछन् । सो विद्यालयमा चारजना शिक्षक कार्यरत छन् । तीनजना स्थायी र एक कर्मचारी छन् ।
नेपाली आकर्षण गर्न पहलः जिशिअ
काठमाडौंका जिल्ला शिक्षा अधिकारी जयाप्रसाद आचार्यले आगामी शैक्षिक सत्रदेखि नेपालीका छोराछोरी आकर्षण गर्ने गरी सुधार गर्न स्रोतव्यक्तिमार्फत आग्रह गरेको जानकारी दिए ।
अन्य केही विद्यालयमा पनि भारतीय धेरै
काठमाडौंका केन्द्रमा रहेका अरू केही विद्यालयमा पनि यस्तै समस्या देखिएको छ । स्रोतव्यक्ति कृष्ण विष्टका अनुसार सोही स्रोत केन्द्रअन्तर्गतको कक्षा ७ सम्म पढाइ हुने टेकुकै आजाद विद्यालयमा विदेशी विद्यार्थीको संख्या धेरै छ । त्यसैगरी, कालिमाटी ब्रह्मटोलको राष्ट्रिय आधारभूत विद्यालयमा पनि नेपाली र भारतीय विद्यार्थीको संख्या उस्तै छ । यहाँ जिल्ला शिक्षा कार्यालय काठमाडौंका अनुसार नेपाली र भारतीय विद्यार्थीको संख्या ५०–५० प्रतिशत रहेको छ ।
भवानीश्वर गौतमले नयाँ पत्रिकामा लेखेको खबर ।
प्रतिक्रिया