काठमाडौं ३० मंसिर /काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिका तीन जनाबीच एकमत हुन नसक्दा स्थापनाको २५ वर्षयता पहिलो पटक विश्वविद्यालय नेतृत्वविहीन भएको छ ।
डा. रामकण्ठ माकाजुको पदावधि आइतबार सकिएपछि सरकारले उपकुलपति नियुक्ति गर्नुपथ्र्यो । माकाजुको समय छँदै अर्को व्यक्ति सिफारिस गर्नुपर्नेमा विश्वविद्यालय सभाले गठन गरेको सर्च कमिटीमा रहेका शिक्षामन्त्री धनीराम पौडेल, पूर्वउपकुलपति सुरेशराज शर्मा र दमननाथ ढुंगानाबीच कसलाई उपकुलपति बनाउने भन्ने विषयमा सहमति हुन नसक्दा ढिलाइ भएको हो । पूर्वउपकुलपति सुरेशराज शर्माले विश्वविद्यालय उपकुलपतिविहीन हुनु दु:खद भएको बताए । माकाजुको पदावधि सकिएपछि निमित्तको जिम्मेवारी पनि दिइएको छैन । ‘सर्च कमिटी बनाइसकेकाले निमित्तको जिम्मेवारी नदिइएको हो,’ मन्त्री पौडेलले भने ।
पौडेलले काठमाडौं विश्वविद्यालयकै माओवादी समर्थक प्राध्यापक जनार्दन लामिछानेको नाम अघि सारेका छन् । ढुंगाना माकाजुलाई नै निरन्तरता दिनुपर्ने अडानमा छन् । शर्माले लामिछानेबाहेक माकाजु, विश्वविद्यालयकै प्राध्यापकद्वय भद्रमान तुलाधर र मनप्रसाद वाग्लेमध्येबाट एक जनालाई बनाउनुपर्ने अडान राखेका छन् ।
‘हामीबीच नै मेरो गोरुको बाह्रै टक्का भएपछि सहमति हुन नसकेको हो,’ मन्त्री पौडेलले भने, ‘मैले पुरानोलाई निरन्तरता दिनु हुँदैन भनेको छु । उहाँहरूले पुरानैलाई गरौं भनिरहनुभएको छ । सहमति नहुँदा टुंगिन ढिलाइ भएको हो ।’ ढिलाइ भए पनि योग्य व्यक्तिलाई उपकुलपति बनाइने दाबी पौडेलले गरे । मन्त्रीले प्रस्ताव गरेका लामिछाने माओवादी समर्थित र अनुभव नभएको भन्दै ढुंगाना र शर्माले स्वीकार नगरेको स्रोतले जनायो । पौडेलले विकल्पसहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने प्रस्ताव राखे पनि ढुंगाना र शर्माले एक जनालाई टुंगो लगाएर पठाउनुपर्ने अडान लिएपछि सहमति नभएको स्रोतले जनाएको छ । ‘सर्च कमिटीका तीन जनाबीच उपकुलपति कसलाई बनाउने भन्ने सहमति हुन नसक्दा ढिलाइ भएको हो । जसलाई बनाए पनि तीन जनालाई मन परेर सहमति हुनुपर्छ,’ शर्माले भने ।
अब प्रधानमन्त्री पुष्पकमल दाहालसहित बैठक बसेर टुंगो लगाउने तयारी भएको छ । तर, प्रधानमन्त्रीले समय दिन नभ्याएकाले बैठक हुन सकेको छैन । राजनीतिक रंग बोकेका व्यक्तिलाई उपकुलपति नबनाउन आफू लागिपरेको पूर्वउपकुलपति शर्माले बताए । संस्थाभित्रकै योग्य र अनुभवी, स्रोत जुटाउन सक्ने, परिचालन गर्न सक्ने, नेतृत्व लिन सक्ने, सबैले स्वीकार गर्ने व्यक्तिलाई उपकुलपति बनाउनु पर्ने प्राध्यापकहरू बताउँछन् । ‘स्रोत जुटाउन सक्ने क्षमता भएको व्यक्तिको खाँचो छ । त्यहाँ भएका मान्छेलाई, डिनहरूलाई काम लगाउन सक्ने पनि हुनुपर्छ । जुनियर व्यक्तिलाई टपक्कै टिपेर लैजाने हो भने हामी त उसले भनेको काम गर्दैनौं,’ एक प्राध्यापकले भने, ‘विश्वविद्यालयको प्रगति हेर्न चाहने हो भने राजनीतिक भागबन्डामा मेरो र उसको मान्छे नभनी योग्य, डिनको जिम्मेवारी लिइसकेको व्यक्तिलाई जिम्मेवारी दिनुपर्छ ।’
माकाजुले मेडिकल शिक्षामा चलखेल गरेकै कारण विश्वविद्यालयको साख गिरेको आरोप प्राध्यापकहरूको छ । उनीहरूका अनुसार माकाजुले धुलिखेल अस्पताल सुधार गरे पनि विश्वविद्यालयमा खासै सुधार गर्न सकेनन् । माओवादी केन्द्रका नेताको लगानी रहेको झापाको प्रस्तावित बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन पुन: माकाजु या माओवादी समर्थकलाई उपकुलपति बनाउन सरकार लागिपरेको आरोप पनि छ ।
प्रधानमन्त्रीले आफूअनुकूलका व्यक्तिलाई उपकुलपति नियुक्ति गर्न खोजे सर्च कमिटीबाट राजीनामा दिने एक सदस्यले बताए ।
मकर श्रेष्ठले कान्तिपुरमा लेखेको खबर ।
प्रतिक्रिया