Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

यस्तो पनि विद्यालय !पाँच शिक्षक, तीन विद्यार्थी

विहीबार, ३० मंसिर २०७३

काठमाडौं ३० मंसिर / पाँच कक्षासम्म सञ्चालित विद्यालयमा शिक्षक पनि पाँचै जना । तर, तिनले पढाउनुपर्ने विद्यार्थी भने जम्मा तीन जना । धेरैलाई पत्यार नलाग्ला तर यहाँको एक विद्यालयको वास्तविकता यही हो । मुरु–३, सल्लेरीडाँडास्थित जनज्योति आधारभूत विद्यालयमा पाँच शिक्षक र एक बालविकास सहयोगी कार्यकर्ता गरी ६ जना छन् । तर, विद्यार्थी जम्मा तीन जना, ती पनि सबै पाँच कक्षाका । अन्य पूरै कक्षा खालि छन् ।

सुषमा पुन, चेतन डाँगी र खगेन्द्र पुन त्यहाँका विद्यार्थी हुन् । तीमध्ये खगेन्द्र बुधबार विद्यालय आएका थिएनन् । यथार्थ यस्तो रहे पनि विद्यालयले शिक्षा कार्यालयलाई बुझाउने तथ्यांक फारममा भने त्यहा ३४ जना विद्यार्थी रहेको उल्लेख गरिएको छ । कार्यालयले विद्यार्थी संख्याअनुसार सेवासुविधा उपलब्ध गराउने भएकाले फर्जी विवरण बुझाइएको हो ।
दरबन्दी र भौतिक संरचना अभावमा विद्यालयको यस्तो दुरवस्था निम्तिएको होइन । २ जना प्राथमिक तह प्रथम श्रेणी, २ जना दोस्रो श्रेणीका शिक्षक छन् । जिल्ला शिक्षा कार्यालयले १ बालविकास सहयोगी कार्यकर्ता पनि गराइदिएको छ । कच्ची र पक्की गरी चारवटा भवन छन् । तिनमा कार्यालयसहित १० वटा कोठा छन् । केही वर्षअघि मात्रै ४ कोठे शौचालय निर्माण भएको छ । तर तिनको संरक्षण छैन । विद्यालय मैदानमा घाँस उम्रिएको छ, कक्षाकोठा बन्द छन् । वर्षौंदेखि नखोलिएका तालामा खिया लागिसकेको छ ।
सम्बन्धित निकायको अनुगमन अभाव तथा शिक्षकको लापरबाहीका कारण विद्यालय धराशयी भएको स्थानीयले बताए । नजिकैको विद्यालय गुणस्तरीय नभएकैले विद्यार्थी गाउँभन्दा टाढा जान बाध्य भएको उनीहरूको भनाइ छ । एक अभिभावकका अनुसार शिक्षकहरू घरका सबै काम भ्याएर मात्र विद्यालय आउँछन् । आएपछि पनि कार्यालय अवधिभर बस्दैनन्, न त कक्षा लिन्छन् । उनीहरू हाजिर गरेर हिँडिहाल्छन् । विद्यार्थीलाई पनि हाजिर गराएर घर पठाइदिन्छन् । ‘यहाँको विद्यालय त शिक्षकहरूले नै खत्तम पारे,’ उनले भनिन्, ‘अरु विद्यार्थी अन्यत्रै गए पनि ३ जनालाई चाहिँ कतै नजाऊ भन्दै अल्झाइराखेका छन् ।’ उनका अनुसार शिक्षकहरू ३ विद्यार्थीका अभिभावकलाई अन्यत्र नपठाइदिन बारम्बार अनुरोध गरिरहन्छन् ।
चालू शैक्षिक सत्रको सुरुमा केही विद्यार्थी भर्ना भए पनि पछि धेरैले छाडेर गएको विद्यालयले जनाएको छ । प्रधानाध्यापक भीमबहादुर पुनले सुरुमा भर्ना भएका विद्यार्थी पछि अन्य विद्यालय गएको स्वीकारे । कति जना विद्यार्थी भर्ना भएका थिए भन्नेचाहि उनले खुलाउन चाहेनन् । ‘शैक्षिक सत्रको सुरुमा त राम्रै विद्यार्थी भर्ना भएका थिए,’ पुनले भने, ‘अहिले घटेर ३ जनामा सीमित भए ।’ नजिकै निजी तथा अन्य सामुदायिक विद्यालय खुलेका कारण पनि विद्यार्थी त्यता गएको उनले बताए । पुनका अनुसार २०६७ यता विद्यालय व्यवस्थापन समिति समेत गठन हुन सकेको छैन । ‘सबैले विद्यालयलाई माया मारिसके,’ उनले भने ।
मुरुको ३ नम्बर पूरै वडा, २ र ७ वडाको केही भाग विद्यालयको सेवा क्षेत्रमा पर्दछ । स्रोतव्यक्ति पूर्णबहादुर खडा पनि नजिकै धेरै विद्यालय सञ्चालनमा आएकाले जनज्योति समस्यामा परेको बताउँछन् । ‘सेवाक्षेत्रभित्रैका अभिभावकले छोराछोरी अन्यत्र पठाएकाले समस्या परेको हो,’ उनले भने । जिल्ला शिक्षा कार्यालयले भने उक्त विद्यालयको अवस्थाबारे अनभिज्ञता दसाएको छ । जिशिअ पूर्णबहादुर अछामीले जनज्योतिमा ३ जना मात्रै विद्यार्थी रहेको जानकारी नआएको बताए । ‘विद्यार्थी संख्या कम भएका विद्यालयलाई विद्यालय व्यवस्थापन समिति र अभिभावकको निर्णयको आधारमा अर्को विद्यालयमा गाभ्न सकिन्छ,’ उनले भने ।

हरि गौतमले कान्तिपुरमा लेखेको खबर ।

प्रतिक्रिया