काठमाडौं २८ मंसिर / १० वर्षीया स्मीता सुनारलाई बिहान उठ्नेबित्तिकै स्कुल जाने चिन्ताले सताउँछ । उनी समयमै उठी होमवर्क सकेर स्कुल जाने तयारी गर्छिन् । सयममा उठ्न सकिएन भने स्कुल छुट्ने चिन्ता उनलाई सधैं भइरहन्छ । उनी ओमकार आधारभूत निमाविमा कक्षा ५ मा पढ्छिन् । उनी मात्रै होइन कक्षा ४ मा पढ्ने आरती सुनारलाई पनि बिहानै उठ्यो कि स्कुल जाने चिन्ताले सताउँछ ।
बिहान ६ नबज्दै उठ्ने उनी स्कुलमा दिएको होमवर्क सकेर स्कुल जान तयार हुन्छिन् । स्मीता र आरती मात्र होइनन् कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका ७ कुतियाकवर गाउँका अधिकांश स्कुले बालबालिकाको पीडा हो यो । उनीहरूलाई वर्षभरि नै स्कुल जान डुंगा ( किस्ती ) चढेर जानुपर्ने बाध्यता छ । घरदेखि विद्यालयसम्मको दूरी चार किलोमिटर भए पनि उनीहरू ८ नबज्दै जोगबूढा नदी किनारमा पुगिसकेका हुन्छन् ।
‘समयमा नदी किनार पुगिएन भने स्कुल नै छुट्छ', अर्धवार्षिक परीक्षा दिएर घर फर्किंदै गर्दा नदी छेउमा भेटिएकी स्मीताले भनिन्,‘ खाना, नास्ताको बेवास्ता गरेर भए पनि उठ्नेबित्तिकै होमवर्क सकेर नदी किनारमा पुग्नुपर्ने हुन्छ' ।
तीनतिर महाकाली नदी र एकतिर जोगबूढा नदीले घेरिएको कञ्चनपुरको कुतियाकवर गाउँमा आवतजावत गर्न अहिलेसम्म पुल छैन । ‘पुल भइदिए हामीलाई निकै सहज हुने थियो', स्मीताले भनिन्,' हाम्रो गाउँमा आउने नेता, कर्मचारी, संघसंस्थाका मानिसहरूलाई समस्या बताउँदै आएको भए पनि कसैले सुनेका छैनन् ।'
‘हिउँदमा पनि नदी तरेर जान सक्ने अवस्था हुँदैन', ओमकार आधारभूत निमाविमा कक्षा ६ मा अध्ययनरत भरत खड्काले भने,‘ वर्षाको समयमा त झन् स्कुल नै छुट्छ' । वर्षामा नदीमा पानीको बहाव बढ्ने हुँदा उनीहरू स्कुल नै जान सक्दैनन् । वर्षभरि पूरै समय पढ्न नपाउने त्यहाँका बालबालिका कतिपय नदीकै समस्याका कारण बीचमै स्कुलसमेत छोड्दै आएका छन् ।
नदीमा वर्षौदेखि किस्ती कै सहारा लिएर आवतजावत गर्ने गरिएको छ । ‘एउटा मात्र डुंगा चल्ने र मानिस धेरै हुने भएकाले भीड धेरै हुन्छ', कक्षा ५ का विद्यार्थी मनोजले भने,' कहिले त किस्ती नै खराब हुन्छ, कहिले लाग्दै लाग्दैन ।' उनका अनुसार डुंगा चलाउने मानिस नभएका बेला आफैं पनि चलाएर स्कुल जाने र घर फर्किने गर्नुपर्छ । स्कुल पढ्ने बालबालिकालाई निःशुल्क नदी तार्ने गरिएको छ ।
‘अरूलाई भन्दा हामीलाई प्राथमिकता दिइन्छ', कक्षा ५ का विद्यार्थी धनराज सुनारले भने,' नदीमा पुल नहुँदा सबैलाई समस्या भएको छ । दोधारा-चाँदनी नगरपालिका ७ कुतियाकवर गाउँबाट नदी तरेर झन्डै ३०÷३५ जना विद्यार्थी ओमकार आधारभूत निमावि जान्छन् । गाउँमा प्राथमिक तहको पढाइ हुने विद्यालयसमेत छैन ।
स्थानीय मायादेवी सुनारले भनिन्, ‘केटाकेटी घर नफर्किएसम्म चिन्ता लागि रहन्छ ।' उनले केटाकेटीलाई पढ्न पठाउनसमेत निकै डर लाग्ने बताइन् । ३६ परिवारको बसोबास रहेको कुतियाकवर गाउँमा दुई परिवारबाहेक सबै दलित परिवारको बसोबास छ । त्यहाँका बालबालिका ६÷७ सम्म पढ्ने गरे पनि त्यसपछि आर्थिक अभाव र पढ्न जाने समस्याले बीचमै स्कुले छोड्ने गरेका छन् ।
कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका ७ कुतियाकवरका स्कुले बालबालिका जोगबूढा नदीमा डुंगा चढेर घर फर्कंदै ।अन्नपूर्ण
हाइलाइट
वर्षामा नदीमा पानीको बहाव बढ्ने हुँदा उनीहरू स्कुल नै जान सक्दैनन् । वर्षभरि पूरै समय पढ्न नपाउने त्यहाँका बालबालिका कतिपय नदीकै समस्याका कारण बीचमै स्कुलसमेत छोड्दै आएका छन् ।
अन्नपूर्णपोष्टमा बीपी अनमोलले लेखेका छन् ।
प्रतिक्रिया