काठमाडौं २८ मंसिर / सरकारले अब राजदूत बन्नका लागि कम्तीमा एउटा विषयमा स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने योग्यता तोक्ने तयारी थालेको छ ।
परराष्ट्र ऐनमै राजदूतको न्यूनतम शैक्षिक योग्यता, उमेर र कूटनीतिक अनुभवबारे पनि किटान गरिने गरी मस्यौदा बनाइएको छ । त्यसअनुसार ४० वर्ष उमेर पूरा गरेको र कूटनीतिको ज्ञान भएको, परराष्ट्र मामिला अध्ययन गरेको वा कुनै दलको विदेश विभागमा लामो समय काम गरेकोलगायत मापदण्ड बनाइँदै छ । प्रस्तावित मस्यौदामा राजनीतिक नियुक्ति पाउने राजदूतबारे मात्रै नभई करिअर डिप्लोम्याटको पनि योग्यताबारे पनि किटान गरिँदै छ । परराष्ट्र सेवाबाट राजदूत बन्नका लागि कम्तीमा चार वर्ष महाशाखा प्रमुख वा नियोग उपप्रमुख भएको हुनुपर्ने व्यवस्था गरिँदै छ ।
यसअघि राजदूत हुनका लागि कुनै योग्यता र उमेरको हद तोकिएको थिएन । अंग्रेजी वा अन्य भाषाको मात्र होइन नेपालीमा राम्रोसँग लेख्न नसक्ने र कूटनीतिको शिष्टतासमेत नबुझेकाहरू पनि राजदूत भएपछि सरकारले योग्यता तोक्न लागेको हो । सरकारले यतिबेला १२ मुलुकमा राजनीतिक दलको कोटाबाट राजदूत नियुक्तिको प्रक्रिया अघि बढाउँदै छ । राजदूत नियुक्तिसम्बन्धी छुट्टै कानुन वा मापदण्ड नभएकाले परराष्ट्र मन्त्रालयले ल्याउन लागेको ऐनमा त्यो व्यवस्था गर्ने तयारी भएको एक अधिकारीले बताए । हरेक मन्त्री आउँदैपिच्छे आफूअनुकूलको मापदण्ड बनाउने, प्रधानमन्त्री कार्यालयले छुट्टै मापदण्ड बनाउने गरिएकोमा अहिले मन्त्रालयले स्थायी समाधान भन्दै ऐन ल्याएर सबैलाई बाँध्ने योजना बनाएको हो । ‘ऐनले मन्त्रालयको पुन:संरचना, राजदूतको मापदण्डसहित सबै विषय समेटिने छ । मन्त्रालयभित्रको पोस्टिङदेखि संस्थागत वृत्ति विकासमा समेत यसले काम गर्नेछ,’ परराष्ट्र सचिव शंकरदास बैरागीले भने ।
कतिपय देशबाट राजदूत बनेर नेपाल आउनेमा प्राय: कूटनीतिक क्षेत्रमा ज्ञान भएका, परराष्ट्र मामिला अध्ययन गरेका र दलको विदेश विभागमा लामो समय काम गरेकाहरू हुने गर्छन् । नेपालले पनि अब त्यसैअनुरूप मापदण्ड बनाउन लागेको हो । परराष्ट्र, कानुन र सामान्य प्रशासन मन्त्रालयबीच छलफल भएर ऐनको मस्यौदा परराष्ट्रले यसअघि नै तयार गरेको भए पनि पुन: यसमा छलफल गरेर प्रस्ताव गर्ने तयारी भइरहेको छ ।
मस्यौदामा सेवा निवृत्त हुने उमेर र भाषाबारे भने अझै टुंगो लगाइएको छैन । त्यस्तै परराष्ट्र मन्त्रालयभित्रका सहसचिव महाशाखामा बस्नुपर्ने योग्यताको विषयमा पनि छलफल भइरहेको छ ।
कान्तिपुरमा चन्द्रशेखर अधिकारीले लेखेका छन् ।
प्रतिक्रिया