Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

आलोपालो स्कुल !

मंगलबार, २८ मंसिर २०७३
  • एउटै स्कुलमा १९ जोडी त्यस्ता विद्यार्थी छन्, जो पति पढ्न आए पत्नी घर सम्हाल्न बस्नुपर्छ, पत्नी स्कुल आए पतिले घर स्याहार्नुपर्छ 
  • देउलेक गाविसमा यो वर्ष मात्रै ५६ जनाले उमेर नपुगी बिहे गरे 
  • बच्चालाई दूध चुसाउनुपर्ने भएकाले दोस्रो घण्टीमै घरतिर लाग्छन् किशोरीहरू 

  •  

काठमाडौं २८ मंसिर - मनीषा बोहरा बझाङ्को देउलेकस्थित देवेश्वरी उमाविमा कक्षा ८ मा पढ्छिन् । असारयता उनी मुस्किलले ५९ दिन मात्र विद्यालय गइन् । उनका पति राजेश पनि त्यही विद्यालयमा १० कक्षामा पढ्छन् । उनी ६ महिनामा ६३ दिन मात्र हाजिर भए । असारयता विभिन्न बिदा कटाएर स्कुल झन्डै १ सय २५ दिन खुलेको थियो । तर पति–पत्नी आलोपालो विद्यालय जानुपर्ने बाध्यताले यो जोडीको आधाआधा पढाइ छुटेको हो । ‘दुवै जना सँगै स्कुल आउने संयोग विरलै पाइन्छ,’ एक वर्षअघि प्रेम विवाह गरेका १५ वर्षीय राजेशले भने, ‘एक जनाले दिनहुँ बाआमालाई सघाउनुपर्छ । घरधन्दा पनि चलाउनै पर्‍यो ।’

आलोपालो पढ्न आउनुपर्ने बाध्यतामा रहेको यो जोडी एक्लो होइन, यही विद्यालयमा अन्य यस्ता १९ जोडी छन् । यही विद्यालयकी कक्षा ७ की सुनीता बोहराले ६ महिनाअघि ११ कक्षा पढ्ने सुरेश महरसँग विवाह गरिन् । कात्तिक अन्तिमसम्म पति–पत्नी आलोपालो विद्यालय आउजाउ गर्थे । मंसिरयता भने सुनीता एक्लै छिन् । सुरेश मंसिर पहिलो साता मजदुरीका लागि भारतको बागेश्वरी पुगेका छन् । अहिले सुनीतालाई घर–विद्यालय दुवैतिर भ्याउन मुस्किल परिरहेको छ ।

१३ वर्षको कलिलो उमेरमै दोहोरो जिम्मेवारी सम्हालिरहेकी उनले पढाइ प्रभावित भएको बताइन् । ‘६ कक्षामा प्रथम भएकी थिएँ । यसपालि त नियमित विद्यालय जान पाइएकै छैन । पास हुन पनि गाह्रो छ,’ उनले भनिन् । कक्षा १० पढ्ने १५ वर्षीया ममता विक जेठयता मंसिर २१ गते मात्र विद्यालय आइन् । २ ‘पिरियड’ पढाइ भएपछि घर हिँडिन् ।

उनकी साथी निर्मला ढाँटले भनिन्, ‘असारमा छोरी पाई । जेठदेखि नै लाजले स्कुल आउन छाडेकी थिई, आजै मात्र आएकी हो । बच्चालाई दूध खुवाउनुपर्छ भनेर दुई घण्टी पढेर गई ।’ कलिलै उमेरमा बिहे गरिदिने चलनले किशोरकिशोरीको पढाइमा अवरोध आउने गरेको प्रधानाध्यापक कवि महरले बताए । ‘विवाह भयो कि आलोपालो स्कुल आउन थाल्छन् । तीक्ष्ण दिमागका विद्यार्थीको पनि पढाइ विवाहपछि बिग्रने गरेको छ,’ उनले भने ।

महरका अनुसार अभिभावकले नै बालविवाहका लागि सहमति दिने गरेका छन् । ‘अधिकांश छात्रा गर्भवती भएपछि विद्यालय नै छाड्छन्,’ उनले भने, ‘अहिले पनि कक्षा ८ देखि १० सम्मका ८–९ जना छात्रा गर्भवती छन् । उनीहरूमध्ये धेरैजसो जेहेन्दार थिए । अब उनीहरू नआउलान् ।’

प्रअ महरका अनुसार ५०/६० जना विद्यार्थीले विवाह गरेका छन् । उनीहरू ७ देखि १० कक्षाका विद्यार्थी हुन् । देउलेक जिल्लामा धेरै बालविवाह हुने गाविसमध्ये पर्छ । २०७२ मा उक्त गाविसमा १ सय ९२ जनाले बालविवाह गरेको तथ्यांक छ । यस वर्ष पनि मंसिरसम्म ५६ जनाले उमेर नपुगी विवाह गरिसकेको गाविस सचिव भुरीप्रकाश जोशीले बताए ।

कान्तिपुरमा वसन्तप्रताप सिंहले लेखेका छन् ।

प्रतिक्रिया