भक्तपुर - उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत, २५ वर्षसम्म सेवारत शिक्षकलाई सम्मान लगायतका विभिन्न कार्यक्रम साथ बासु माध्यमिक विद्यालयको ५४ औँ र बासु कलेजको ८ औँ वार्षिकोत्सव मनाईएको छ । कार्यक्रममा शैक्षिक सत्र २०७१/७२ मा बासु कलेजमा अध्ययनरत विद्यार्थीहरूमध्येबाट प्रथम, द्धितीय र तृतीय तहको लागि जम्मा रु. १,४४,५५०/- (एक लाख ४४ हजार ५ सय ५०) र शैक्षिक सत्र २०७२/७३ मा तीनवटै तहमा गरी ८७,८५०/- (सत्तासी हजार आठ सय पचास) छात्रवृत्ति प्रदान गरिएको थियो । विद्यालयमा २५ वर्षसम्म निरन्तर सेवारत शिक्षकहरू लक्ष्मीहरि ताम्राकार र हरिमाया कायष्थलाई सम्मान गरिएको हो ।
विद्यार्थी र शिक्षकलाई सम्मान गर्दै प्रमुख अतिथी नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छेंले कामचोर प्रवृत्तिका, अध्ययन नगर्ने स्वभाव र जागिरे मनोवृत्तिका शिक्षकहरु नै सामुदायिक विद्यालय बिग्रनुका कारक रहेको बताए । सो अवसरमा अध्यक्ष बिजुक्छेंले कामचोर र आफ्नो पदीय जिम्मेवारी पूरा नगर्ने स्वभावका शिक्षकहरुको कारण विद्यालयमात्र नभएर विद्यार्थीहरुप्रति नै अन्याय हुने भएकोले निम्न, गरिब किसान, मजदुरका छोराछोरीहरू पढ्ने विद्यालयलाई बलियो बनाउनु आवश्यकता औंल्याए ।
गैर जिम्मेवार शिक्षकहरुलाई नहटाएसम्म सामुदायिक विद्यालयको प्रगति नहुने दाबी गदै उनले हुनुपर्ने अनुगमन र निरीक्षणलाई प्रभावकारी बनाउन नसक्दा ठग्ने शिक्षकहरुको मनोबल बढिरहेकोले बताए । ‘शिक्षकहरु राजनीतिलाई आवरण बनाएर सामुदायिक विद्यालय बिगार्ने काममा पनि संलग्न रहेको मैले सुनेको छु, यसैले सो विषयमा शिक्षा कार्यालयले यथास्रिघ अनुगमन गर्नुपर्छ ।’ उनले भने ।
जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझी, विनि सविता दंगाल, ख्वप उमाविका प्राचार्य प्रकाश श्रेष्ठ, स्रोतव्यक्ति सरोजकुमार दत्त, अभिभावक शिक्षक संघका अध्यक्ष जीतेन्द्र श्रेष्ठल, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सरोजराज गोसाईं लगायतले सार्वजनिक शिक्षाको अवस्था र सुधारका उपाय बारेमा बोलेका थिए ।
विद्यालयमा इसीडीदेखि कक्षा १० सम्म छात्रा २ सय ६८ र छात्र २ सय ५९ गरी जम्मा ५ सय २७ जना विद्यार्थी अध्ययनरत छन् । यस्तै कक्षा ११ अन्तर्गत विज्ञानमा २४, मानविकीमा ४३ र व्यवस्थापनमा ५० जना गरी १ सय १७ जना, विद्यार्थी छन् । कक्षा १२ अन्तर्गत विज्ञानमा २५ जना, मानविकी ११ जना र व्यवस्थापन संकायमा ५७ जना गरी जम्मा ९३ जना विद्यार्थीहरू रहेको विद्यालयका प्रधानाध्यापक अम्बिका न्याइच्याइले जानकारी दिइन् ।
प्रतिक्रिया