काठमाडौं– आन्तरिक अन्तरद्वन्द्वका कारण गठन भएको ६ दिन वितिसक्दा पनि अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले पूर्णता पाउन सकेका छैन । अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समिति २०५५ को अध्यक्षबाट निरेन्द्र कुँवरलाई हटाएर गत मंगलबार नारायण दाहालको नेतृत्वमा नयाँ समिति घोषणा गरिएको थियो । तत्काल उक्त समितिलाई पूर्णता दिने भनिए पनि आन्तरिक कुरो नमिल्दा समितिले भने पूर्णता पाउन नसकेको श्रोतले जनाएको छ ।
तर अस्थायी शिक्षक केन्द्रीय आन्दोलन परिचालन समितिका महासचिव कृष्णकुमार चौधरी आन्तरिक छलफल जारी रहेकोले समितिले पूर्णता नपाएको दावी गर्छन् । समिति बन्ने नाममा आन्दोलन रोक्नु हुन्न भनेर दुवै काम संग सँगै अघि बढाएको उनको भनाई छ ।
‘हामी उक्त समितिलाई पूर्णता दिने क्रममा छौं, यसका लागि जिल्लाजिल्लाबाट अस्थायी शिक्षक आउने क्रम जारी छ ।’ उनले भने ।
समिति गठन नभएपनि अस्थायी शिक्षकहरुले थप आन्दोलनका कार्यक्रम भने घोषणा गरेका छन् । शिक्षा मन्त्रालयसँगको वार्ताको औचित्य सकिसकेको भन्दै आन्दोलनबाटै समस्या समाधान हुने निक्र्यौलमा पुगेका उनीहरुले थप संघर्षका कार्यक्रम तय गरेको जनाएका छन् ।
घोषित कार्यक्रम अनुसार पुस ५ गते काठमाडौंमा अस्थायी शिक्षकहरुको वृहत जुलुस गर्ने, ६ गते सिंहदरबार, ७ गते प्रम निवास र ८ गते राष्ट्रपति कार्यालयमा धर्ना दिने रहेका छन् ।
प्रतिक्रिया