काठमाडौं - कक्षा १० को अन्त्यमा लिइने एसइइ परीक्षा (सेकेण्डरी एजुकेशन एक्जामिनेशन) चैत ३ गतेदेखि हुने भएको छ । परीक्षा ११ गतेसम्म सञ्चालन हुने छ ।
शिक्षा ऐनमा विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ मा हुने उल्लेख भएपनि यो बर्ष कक्षा १० को परीक्षा साविकको परीक्षा नियन्त्रण कार्यालयले नै गर्ने गरी मन्त्रालयले यस अघिनै गरेको निर्णयका आधारमा रुटीन तय गरिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताए । शिक्षासचिव शान्तबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको परीक्षा सञ्चालक समितिको बैठकले रुटीन तय गरेको हो ।
परीक्षा तालिका
१. चैत ३ गते : अनिवार्य अंग्रेजी
२. चैत ४ गते : अनिवार्य नेपाली
३. चैत ५ गते : बिदा
४. चैत ६ गते : अनिवार्य गणित
५. चैत ७ गते : अनिवार्य विज्ञान
६. चैत ८ गते : सामाजिक शिक्षा
७. चैत ९ गते : स्वास्थ्य जनसंख्या तथा वातावरण
८. चैत १० गते : ऐच्छिक प्रथम
९. चैत ११ गते : ऐच्छिक द्धितिय
प्राविधिक तर्फको परीक्षा भने चैत १४ गतेसम्म सञ्चालन हुने छ । यो वर्षको उक्त परीक्षामा करिब साढे ६ लाख विद्यार्थीको सहभागिता हुने नियन्त्रक रेग्मीले बताए ।
गत बर्ष एसएलसीकै जस्तो गरी परीक्षा सञ्चालन हुने रेग्मीले बताए । विद्यालय तहको सबै परीक्षा राष्ट्रिय परीक्षा बोर्डले गर्ने ऐनमा ब्यवस्था छ । तर ऐन जारी लामो समय सम्म पनि मन्त्रालयले नियमावली निर्माण गर्न नसक्दा शिक्षामा धेरै थरीका अन्यौल जारी छ । यही अन्यौलका विचमा मन्त्रालयले कक्षा १० को परीक्षा नाम फेरेर पुरानै ढाँचामा सञ्चालन गर्ने तय गरेको थियो ।
'यस बर्ष गत बर्षहरुको एसएलसी परीक्षा जस्तै गरी साविककै आधारमा परीक्षा सञ्चालन हुने छ' रेग्मीले भने 'ऐन लागू हुने भनेको क्रमैसंग हो, विस्तारै मन्त्रालय र मातहतका निकायको कृयाकलाप सोही अनुसार अघि बढ्छन् ।'
तर नतिजा कसरी सार्वजनिक गर्ने भन्ने तय भईनसकेको उनले बताए । गत विगत बर्षहरुमा पनि प्रश्नपत्र त क्षेत्रीय रुपमा फरक फरक हुँदै आएको हुँदा परीक्षाफल पनि क्षेत्रीय तहमा सार्वजनिक गर्ने की भन्ने बारेमा मन्त्रालयमा छलफल जारी रहेको श्रोतले जनाएको छ । यसबारेमा कुनै निर्णय नभएको रेग्मीले बताए ।
एसइइ परीक्षाको तयारीमा रहेका विद्यार्थी लक्षित एप यो बर्ष पनि
यसैविच कक्षा १० मा अध्ययनरत अर्थात् एसइइ परीक्षाको तयारीमा रहेका विद्यार्थीले आवश्यक पाठ्यसामग्री गत बर्ष जस्तै यो बर्ष पनि एण्ड्रोईड एप edunepal बाट पढ्न पाउने भएका छन् । एडुखबरको सञ्चालक संस्था पी एण्ड पी मल्टिमिडियाले सञ्चालन गरेको उक्त एपमा गत बर्ष तीन विषयको सामग्री राखिएको थियो । अंग्रेजी, गणित र विज्ञानका पाठ्यसामग्रीलाई यो बर्ष पनि निरन्तरता दिने गरी शैक्षिक जनशक्ति विकास केन्द्रसँग नविकरणको सम्झौता भएको हो ।
गत बर्ष भूकम्प र नाकाबन्दीले पढाईमा असर गरेपछि वैकल्पिक विधि मार्फत पठन पाठन गर्ने अवधारणा अनुसार उक्त कार्य भएको थियो । यसबाट विद्यार्थी र शिक्षक लाभान्वित भएको ठहर गर्दै उक्त कृयाकलापलाई निरन्तरता दिईएको हो ।
'विद्यार्थीलाई अधिकतम लाभ होस् भन्ने ठानेर हामीले उक्त एपमा गत बर्ष देखि राखिएका शैक्षिक सामग्रीलाई निरन्तरता दिने निर्णय गरेका हौं' केन्द्रकी कार्यकारी निर्देशक देवकुमारी गुरागाईले भनिन् 'केन्द्रले निर्माण गरेका सामग्री विद्यार्थीकै लागि भएकोले जति धेरै माध्यामबाट विस्तार भयो उति विद्यार्थीको पहुँचमा सहज तरिकाले पुग्ने छ भन्ने हामीले ठानेका हौ ।'
केन्द्रसंग नविकरणको सम्झौता भएपछि कक्षा १० का विद्यार्थी लक्षित अडियो, भिडियो र टेक्स तिनै प्र्रकारका सामग्रीलाई उक्त एपमा यथास्थितीमै राखिएको एडुनेपालको सञ्चालक संस्था पी एण्ड पी मल्टिमिडियाले जनाएको छ ।
कसरी डाउनलोड गर्ने ?
edunepal एप सबै खाले एण्ड्रोइड मोबाइलमा डाउन लोड गर्न सकिनेछ । त्यसका लागि सबैभन्दा पहिले मोबाइलको प्ले स्टोरमा क्लिक गरेर एडुनेपाल टाइप गर्नु पर्ने छ । अरु एप सर्च गरेजस्तै यसलाई पनि सर्च गर्ने बित्तिकै देखिन्छ । त्यसका लागि इण्टरनेट कनेक्सन भने जरुरी छ ।
एप डाउनलोड भएपछि त्यसमा क्लिक गरेर त्यस भित्रका सामग्रीमा जान सकिने छ । एपमा क्लिक गरेपछि त्यस भित्र एडुखबर, रेडियो सो, एसइइ कण्टेण्ट, र रिजल्टको सेगमेण्ट देख्नु हुनेछ । चार सेगमेण्ट मध्ये आफूले हेर्न चाहेको सेगमेण्टमा क्लिक गर्न सक्नु हुन्छ ।
एडुखबर शिक्षाको अनलाईन पत्रिका हो । यसमा उक्त पत्रिकामा आएको खबर पढ्न सकिन्छ । यस्तै रेडियो सो एडुखबरले निर्माण गरेको रेडियो कार्यक्रमको अर्काईभ हो, जहाँ तपाईले संघीयतामा शिक्षा रेडियो कार्यक्रह सुन्न सक्नु हुन्छ । रिजल्ट सेगमेण्ट विभिन्न तहका नतिजा प्रकाशन हुँदा थाह पाउन उपयोगी हुन सक्छ ।
एसइइ कण्टेण्टमा भने कक्षा १० का विद्यार्थी लक्षित तीन विषयका सामग्री पाउनु हुने छ । क्लिग गरेर त्यस भित्र पुगेपछि एसइइ कण्टेण्ट र मल्टिमिडिया देख्नु हुने छ । त्यसभित्र अंग्रेजी, विज्ञान र गणितको शैक्षिक सामाग्री देखिने छ । अनिवार्य अंग्रेजीको सामाग्री अध्ययन गर्न डाउनलोड र स्टडी भन्ने बटम छ । स्टडीमा क्लिक गरेपछि भित्र पाँच वटा पाठ देख्न सकिन्छ । यसका लागि प्रत्येक पाठमा क्लिक गर्दै सामग्री अध्ययन गर्न सकिन्छ ।
त्यस्तै आफनो मोवाइलमा यो सामाग्री डाउनलोड गरेर राख्ने हो भने डाउनलोड भन्ने बटममा क्लिक गर्नु पर्छ । डाउनलोड गर्न इण्टरनेट आवश्यक हुन्छ । डाउनलोड भएको सामग्री इण्टरनेट विना पनि पढ्न सकिनेछ । मोवाइलमा उपलब्ध हुने थ्रिजी र वाइफाई छ भने यो फाइल सहजै डाउनलोड हुन्छ ।
त्यस्तै विज्ञान र गणितको सामाग्री अंग्रेजीको जस्तो सिधै अध्ययन गर्न सकिदैन । एक पटक डाउनलोड गरेपछि भ्यू भन्ने बटम देखिन्छ । त्यसमा क्लिक गरेपछि इण्टरनेट बिना अध्ययन गर्न सकिन्छ ।
मल्टिमिडिया भन्ने सेगमेण्टमा पनि एसएलसी तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरेर अडियो र भिडियोका सामग्री छन् । ल्ऋभ्म ले एसएलसी तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरेर बनाएको अडियो र भिडियो कक्षा सुन्न र हेर्न सकिन्छ । अडियो सुन्न इण्टरनेट छ भने डाउनलोड नगर्दा पनि हुन्छ । यसलाई एक पटक डाउनलोड गरेर जुन बेला पनि सुन्न सकिन्छ । डाउनलोड गर्न भने इण्टरनेट चाहिन्छ । भिडियो कक्षा अवलोकनका लागि चाहि इण्टरनेट आवश्यक पर्छ । अंग्रेजी, गणित र विज्ञान बिषयको अडियो एपमा समावेश छ ।
मल्टिमिडिया सेगमेण्टमा क्लिक गरेपछि बाँया तिर अडियो र दाँया तिर भिडियो लेखिएको छ । अडियो सुन्ने हो भने कुन बिषयको सुन्ने ? त्यसै अनुसार अघि बढ्नु पर्नेछ ।
त्यसका लागि मल्टिमिडिया लेखेको दाँया तिर सानो एरो देखाइएको छ । त्यसमा क्लिक गरेपछि अंग्रेजी, विज्ञान र गणित कुन बिषयको अडियो सुन्ने हो ? छान्नु पर्ने हुन्छ । भिडियो सुन्न पनि यही प्रक्रिया अपनाउनु पर्ने हुन्छ ।
प्रतिक्रिया