Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

विद्यालयलाई मेगा विद्यालयका रूपमा विकास गर्ने

आइतबार, २६ मंसिर २०७३

काठमाडौं २६ मंसिर / जिल्ला शिक्षा कार्यालय ललितपुरले जिल्लामा पाँचवटा विद्यालयलाई मेगा विद्यालयका रूपमा विकास गर्ने तयारी अघि बढाएको छ ।  सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढाउनुका साथै विद्यार्थीको सिकाइ उपलब्धि उच्च बनाउने सरकारी अवधारणा अनुसार उक्त काम प्रारम्भ गरिएको हो ।
ललितपुरका जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीका अनुसार जिल्लाको पथप्रदर्शक माध्यमिक विद्यालय बडीखेल, ज्वालादेवी प्राथमिक विद्यालय ठूलोदुर्लङ, विद्याधेश्वरी मावि आसराङ, कालीदेवी उच्च माध्यमिक विद्यालय प्युटार, महाकालीदेवी उच्च मावि भट्टेडाँडालाई मेगा विद्यालयका रूपमा विकास गरिने भएको हो ।  जिल्लाको विभिन्न क्षेत्रलाई मिलाउने हिसाबले ती विद्यालयको चयन गरिएको हो ।
हाल ती विद्यालयको निर्माण कार्य तीव्र रूपमा अगाडि बढाइएको छ ।  मेगा विद्यालय अन्तर्गत ती विद्यालयको परिसरमा छ करोड रुपियाँको लगानीमा विभिन्न छवटा भवनको निर्माण गरिनेछ, जसमा पठनपाठनका लागि शैक्षिक भवन, शौचालय, कम्प्युटर, पुस्तकालय भवन र समुदायलाई सहभागी गराउने र आयआर्जन समेत हुने गरी अर्को एक सामुदायिक भवन निर्माण गरिनेछ ।  
हालसम्म यस खालको अवधारणा अनुसार सामुदायिक विद्यालयको सञ्चालन हुने गरेको छैन ।  सिङ्गो एक या दुई भवनमा मात्र सिङ्गो विद्यालय सञ्चालन हुँदै आएको छ ।  
विद्यार्थीको दैनिक पठनपाठनलाई व्यवस्थित बनाउनुका साथै सिकाइ उपलब्धिलाई उच्च बनाउन यस खालको मेगा भवनको अवधारणा अघि सारिएको हो ।  उक्त विद्यालयलाई सम्बद्ध क्षेत्रकै मोडल स्कुल बनाउने योजना रहेको जानकारी जिशिअ पुरीले दिनुभयो ।
यस मोडल अन्तर्गत निर्माण गर्न लागिएको विद्यालयमा हरेक विद्यालयमा छ करोड रुपियाँ खर्च गरिनेछ ।  आगामी डेढ वर्षभित्र यी विद्यालयको निर्माण कार्य पूरा गर्ने योजना राखिएको छ ।  जिल्ला शिक्षा अधिकारी पुरीले यी भवन भूकम्प प्रतिरोधात्मक हुने गरी निर्माण गरिएको जानकारी दिनुभयो ।  सामुदायिक विद्यालयको मर्ज भएपछि शिक्षक तथा विद्यार्थीको क्षेत्रमा देखिएको समस्याको समेत समाधान हुने जनाइएको छ ।
जिल्ला शिक्षा कार्यालयले गतवर्ष पनि विद्यार्थीको अभाव रहेका झण्डै दुई दर्जन सामुदायिक विद्यालय बन्द गराएको थियो ।  यस वर्षसमेत विद्यार्थीको अभाव भएका विद्यालयलाई बन्द गर्ने योजना अन्तर्गत आफूहरूले सम्बद्ध विद्यालयमा पुगेर स्थलगत अध्ययन गर्ने काम गर्ने भइरहेको उहाँले जानकारी दिनुभयो ।
नेपाल सरकार र जाइकाको संयुक्त लगानीमा यी विद्यालयको निर्माण कार्य अघि बढाइएको हो ।  यस खाले मेगा विद्यालय निर्माणले सामुदायिक विद्यालयको क्षमतामा अभिवृद्धि हुनुका साथै विद्यार्थीको सिकाइमा सुधार हुने अपेक्षा गरिएको जनाइएको छ ।
यी विद्यालयको निर्माणसँगै विभिन्न २३ वटा विद्यालयको पुनर्निर्माण गरिने योजना रहेको जिल्ला शिक्षा कार्यालयले बताएको छ ।
शेषकान्त पण्डितले गोरखापत्रमा लेखेको खबर ।

प्रतिक्रिया