Edukhabar
सोमबार, ०३ मंसिर २०८१
गतिविधि

विद्यालयमा भित्तेचित्र

शुक्रबार, २४ मंसिर २०७३

काठमाडौं - विद्यार्थीको सिर्जनात्मक गतिविधिलाई विस्तार एवं परिस्कृत गर्ने उद्धेश्यले कोटेश्वरस्थित काञ्जीरोवा नेसनल स्कुलले भित्तेचित्र निर्माण कार्यक्रम आयोजना गरेको छ । अमेरिकी शैक्षिक प्रतिष्ठान यूएसईएफसँगको सहकार्यमा भएको उक्त कार्यक्रमको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले शुक्रबार उद्घाटन गरे ।

उक्त अवसरमा मन्त्री शाहीले पठनपाठनका नियमित गतिविधिसँगै विभिन्न परियोजनामूलक शिक्षण सिकाइ मार्फत् विद्यार्थीको सिर्जनात्मक क्षमता उजागर गर्न विद्यालयले गरेको कार्य प्रति प्रसन्नता व्यक्त गरे ।
अमेरिकास्थित एन्जेलो विश्वविद्यालयका चित्रकला विशेषज्ञ एवम् फुल ब्राइट स्कलर एड्विन क्युनकोको निर्देशनमा विद्यालयमा अध्ययनरत विद्यार्थीले भित्तेचित्र सहित अन्य चित्रकला तयार गरेका छन् । अमेरिका र नेपालबीचको पारस्परिक हित र सांस्कृतिक साझेदारीलाई प्रवद्र्धन गर्ने उद्देश्यले भित्तेचित्र निर्माण कार्यक्रम आयोजना गरिएको विद्यालयका निर्देशक कपिलदेव रेग्मीले बताए ।

चित्रकलाका निर्देशक एड्विन क्युनकोले भित्तेचित्र निर्माणयात्राबारे आफ्नो अनुभवमा आधारित धारणा व्यक्त गर्दै विद्यालयसँग सहकार्य गर्न पाएकामा खुसी व्यक्त गरे । उच्च माध्यमिक विद्यालय संघ हिसानका अध्यक्ष रमेश सिलवालले विद्यालयीय शिक्षामा सहक्रियाकलापको भूमिकामाथि प्रकाश पार्दै काञ्जीरोवा त्यस्ता गतिविधि सञ्चालन गर्ने विद्यालयमध्ये अग्रपङ्क्तिमा रहेको बताए । अमेरिकी राजदूतावासका सांस्कृतिक संयोजक विलियम हल्टनले विद्यार्थीको व्यक्तित्व विकाससँग सम्बन्धित यस्ता क्रियाकलाप सञ्चालनका लागि विद्यालयसँग सहकार्य गर्न अमेरिकी दूतावास हरदम तयार रहेको बताए । अमेरिकी शैक्षिक प्रतिष्ठानका निर्देशक फिलिप पी हफमेनले प्रतिष्ठानका क्रियाकलाप र भित्तेचित्रबारे आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक महेन्द्र खनाल, काठमाडौँ डोन बस्को कलेजका अध्यक्ष प्रा.डा. श्रीरामभगत माथे लगायतले विद्यार्थीको प्रत्यक्ष सहभागितामा नवीनतम परियोजनामूलक शिक्षण सिकाइ विधिमा जोड दिँदै विद्याल यस तर्फ सजग रहेको बताए ।

विगत एक महिना विद्यालयमा रहेका एड्विन क्युनकोले राजधानीका सामुदायिक तथा संस्थागत गरी विभिन्न २४ विद्यालयका शिक्षकहरुलाई भित्तेचित्रसम्बन्धी प्रशिक्षण समेत दिएका थिए । कार्यक्रममा चित्रकला निर्माण र प्रशिक्षण कार्यक्रममा सहभागी शिक्षकहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । चित्रकला समुद्घाटन समारोहमा अमेरिकी शैक्षिक प्रतिष्ठान, फुलब्राइटका प्रशासक यमल राजभण्डारी लगायत विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वहरूको समेत उपस्थिति थियो । कार्यक्रममा विद्यार्थीले लोक सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया