काठमाडौं - इस्लिङ्टन कलेजले मोबाइल एप्लिकेशन डेभलप्मेण्ट तहको कक्षा सञ्चालन गर्ने भएको छ । सूचना प्रविधिको बढ्दो प्रयोगसँगै मोबाइल एप्लिकेशनको बजारलाई मध्यनजर गरी सो कलेजले बेलायतको लण्डन मेट्रोपोलिटियन विश्वविद्यालयसँगको सहकार्यमा उक्त विषय अध्यापन गराउन लागेको हो । सूचना प्रविधिमा आधारित स्नातक तहको विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको उक्त कलेजले आगामी शैक्षिक सत्रदेखि नयाँ कार्यक्रम सुरु गर्ने गरी बिहीबार सम्झौता गरेको हो ।
उक्त विषयका साथै अन्य तीन वटा कार्यक्रम पनि आगामी शैक्षिक सत्रबाट सुरु गर्ने गरी कलेजले सो विश्वविद्यालयसँग सम्झौता गरेको छ ।
कलेज र विश्वविद्यालयबीच भएको उक्त सम्झौतामा बिहीबार कलेजका तर्फबाट कलेज प्रमुख सुलभ बुढाथोकी र मेट्रोपोलिटियन कलेजका उपकूलपति प्रोफेसर जोन ¥याफ्रीले सम्झौतापत्रमा हस्ताक्षर गरे । दुई पक्षबीचको हस्ताक्षरसँगै इस्लिङ्टन कलेजबाट स्नातक तह सम्पन्न गरी न्यूनतम योग्यता पूरा गरेका विद्यार्थीलाई सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातकोत्तर तह अध्ययन गर्न ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था भएको कलेज प्रमुख बुढाथोकीले जानकारी दिए ।
‘हस्ताक्षरसँगै सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातकोत्तर तह अध्ययनका लागि विश्वविद्यालयले ५० प्रतिशत, कलेजे २५ प्रतिशत छात्रवृत्ति दिने भएको छ,’ प्रमुख बढाथोकीले भने ‘ विद्यार्थीले २५ प्रतिशत शुल्कमै अध्ययन गर्न सक्ने भएका छन् ।’
सम्झौतापछि बेलायतको सो विश्वविद्यालय र कलेजको सहकार्यमा नेपाल र बेलायत दुबै देशमा एमबीए तहको कक्षा सञ्चालन गर्ने बाटो पनि खुला भएको छ । त्यसका लागि विश्वविद्यालय कलेजले एकीकृत पाठ्यक्रम तयार गर्ने, विश्वविद्यालयले लण्डन र कलेजले नेपालमै भर्ना लिएर अध्यापन गराउने भएको छ ।
त्यस्तै सो सम्झौतापछि नेपाली र लण्डनका प्राध्यापकको संयुक्त सुपरभिजनमा नेपाली विद्यार्थीले नेपालमै बसेर विभिन्न क्षेत्रमा विद्यावारिधी (पिएचडी) तहको अध्ययन गर्न पनि पाउने भएका छन् । त्यसरी अध्ययन गरेका विद्यार्थीलाई सोधकार्य गरी अन्तिम वर्षको अध्ययन र मूल्यांकनका लागि मात्र लण्डनमा गए पुग्ने सुविधा दिएको छ ।
सम्झौता हस्ताक्षर कार्यक्रममा विश्वविद्यालका उपकूलपति ¥याफ्रीले बढ्दो मोबाइल एप्लिकेशनको बजारलाई मध्यनजर गरी कलेजले सुरु गर्न लागेको कार्यक्रमलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कलेजका प्रमुख बुढाथोकीले नेपालमै बसेर बेलायतको शिक्षा अध्ययन गर्न पाउनुलाई अवसर भएको बताए ।
प्रतिक्रिया