Edukhabar
आइतबार, ०७ पुस २०८१
खबर/फिचर

वार्ताको औचित्य सकिएको अस्थायी शिक्षकको घोषणा, अध्यक्ष कुँवर हटाइए

मंगलबार, २१ मंसिर २०७३

काठमाडौं - अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिमा आवद्ध केही शिक्षकहरुले निरेन्द्र कुँवरको नेतृत्व असफल भएको ठहर गर्दै उनलाई अध्यक्षबाट हटाई शिक्षा मन्त्रालयसँगको वार्ताको औचित्य समेत सकिएको घोषणा गरेका छन् । कुवँरले आफूहरुको समस्या समाधान गर्न नसक्ने निष्कर्ष निकालेर हटाइएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

२०५५ सालमा स्थापित समितिमा बरिष्ठ उपाध्यक्ष रहेका कुवँर २०६० साल देखि अध्यक्ष छन् । २०६३ सालमा स्थायी भएका कुवँर हाल भक्तपुरको ताथलीस्थित गणेश माविमा अध्यापनरत छन् ।  अस्थायीलाई स्वतः स्थायी र ६० बर्षे उमेर हदका विषयमा आफ्नै समिति भित्र कुरा नमिल्दा यस्तो निर्णय भएको हुन सक्ने उनले अड्कल काटे ।

'खै मलाई हटाएकोबारे त जानकारी भएन, तर अस्थायी शिक्षकको समस्या जटिल छ, साथीहरुले आफ्नो हक अधिकार स्थापित गर्न सकिन्छ भन्ने ठानेर नै निर्णय गरेका होलान्' उक्त निर्णय पछि एडुखबरसँग प्रतिकृया दिदैं उनले भने, 'उक्त निर्णयको बैधानिकता छ छैन भन्नु भन्दा पनि भलाईका लागि काम होस् भन्ने मेरो कामना हो ।' 

नेतृत्वमा रहेर लामो समयको आन्दोलनमा सहभागि हुँदा शिक्षकका संघ संगठनबाटै आवश्यकता अनुसारको सहयोग नहुँदा परिणाममुखि काम हुन नसकेको कुवँरले स्विकार गरे ।

'शिक्षककै पेशागत अधिकारका लागि कृयाशिल संगठनका नेतृत्वले सँधै दुई थरी कुरा गरे' उनले एडुखबरसँग भने, 'मन्त्री र मन्त्रालयका कर्मचारी अघिल्तिर हुँदा एउटा कुरा शिक्षकका अघिल्तिर अर्को कुरा गर्ने काम हुँदा नै अप्ठ्यारो भयो ।'

तर, नेतृत्वमा रहेर पनि अस्थायी शिक्षकहरुको हकहितको विषयमा शिक्षक कुँवरले धोका दिएको भन्दै सो समितिमा रहेका शिक्षकहरुले उनलाई हटाएको जनाएका छन् । ‘हामीले केन्द्रीय समितिको नेतृत्व परिवर्तन नगरेसम्म अस्थायी शिक्षक आन्दोलन अघि नबढ्ने देख्यौं ।’ अस्थायी शिक्षक अजयकुमार गोइतले भने ।

यो संगै समितिको अध्यक्षमा नारायण दाहाल चयन भएको पनि उक्त पत्रकार सम्मेलनमा जानकारी दिईयो । झापाको शिवसतासी नगरपालिका वडा नं. १ का शिक्षक दाहाल २०५७ साल बैशाष २२ गतेदेखि झापाकै शिवगञ्जस्थित गौरीशंकर प्राविका अस्थायी शिक्षक रहेको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

दाहालले आफूलाई अस्थायी शिक्षकहरुको आन्दोलनको नेतृत्व गर्न दिइएसँगै आन्दोलनलाई सशक्त बनाउने बताए । उनले मुलुकभरका अस्थायी शिक्षकहरुलाई प्रक्रिया पु¥याएर स्थायी गर्नुपर्ने, अस्थायी शिक्षकहरुको सम्पूर्ण सेवा अवधि गणना गर्नुपर्ने र अस्थायी नै भएर शिक्षक सेवाबाट अवकास पाएका शिक्षकहरुलाई स्थायी सरह नै सेवा सुविधा दिनुपर्ने मागलाई प्रमुख मुद्धा बनाएर आन्दोलन गर्ने जनाएका छन् ।
राजधानीमा सम्पन्न अस्थायी शिक्षकहरुको भेलाले मंसिर २० गतेको लागि दिएको समयसीमाभित्र कुनै निष्कर्ष ननिस्केका कारण शिक्षा मन्त्रालयसँगको वार्ताको औचित्य समेत सकिएको घोषणा गर्दै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

‘शिक्षा मन्त्रालयसँगको वार्ताको औचित्य सकिसकेको छ, वार्ताप्रति सरकारले गम्भीरता नदेखाइ आलटाल गरेको छ ।’  केन्द्रीय उपाध्यक्ष सुदिप जोशीले भने । सोही कारण वार्ताभन्दा आन्दोलनबाटै अस्थायी शिक्षकहरुको समस्या समाधान हुने उनले बताए ।

गत कात्तिक ११ गते जनकपुरमा राष्ट्रिय प्रतिनीधिमूलक भेलाले आन्दोलन गर्ने निष्कर्ष निकालेको तर वर्तमान अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समिति त्यस विषयमा गम्भीर नदेखिएको हुनाले मंगलबार देखि मंसिर २३ गतेसम्म केन्द्रीय आन्दोलन परिचालन समितिले आन्दोलनको कार्यक्रम प्रकाशित गरी आन्दोलन गर्ने समितिको बैठकले निर्णय गरेको जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो ।

त्यस्तै अस्थायी शिक्षकहरुको समस्या समाधान गर्नका लागि शिक्षा मन्त्रालयसंग भईरहेको वार्तामन औचित्य सकिएको भन्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको समितिले जनाएको छ । आन्दोलन अन्तर्गत २२, २३ र २४ गते बिहान ८ बजेदेखि ११ बजेसम्म बालुवाटारस्थित प्रधानमन्त्री निवासमा धर्ना दिने निर्णय भएको जनाईएका छ ।

प्रतिक्रिया