रामेछाप - शिक्षा मन्त्री धनिराम पौडेलले १७ प्रकारका शिक्षकको कारण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किएको बताएका छन् । सोमबार रामेछापको दिमीपोखरीमा रहेको मावि मन्दर मेलचौरको ४३ औं बार्षिकोत्सब समारोहमा मन्त्री पौडेलले उक्त कुरा बताएका हुन् । सामुदायिक विद्यालयमा एकै खालका शिक्षकको व्यवस्थापन गर्ने योजनामा सरकार रहेको उनले जानकारी दिए ।
सार्वजनिक विद्यालयको पठनपाठन गुणस्तरिय र विश्वसनिय बनाउनु यतिबेलाको आफ्नो प्रमुख कर्तव्य भएको भन्दै मन्त्री पौडेलले त्यसको लागि मन्त्रालयले योजनाबद्ध रुपमा काम गरिरहेको बताए । नागरिकलाई निःशुल्क रुपमा गुणस्तरिय शिक्षा प्रदान गर्न र सबै नागरिकको समान ढंगले शिक्षामा पहुँच स्थापित गर्न सरकारले शिक्षा ऐनमा संशोधन गरेको उनले बताए ।
ऐन आएको ५ महिनासम्म पनि नियमावली ल्याृउन नसकेको भन्दे आलोचना भईरहेका बेला मन्त्री पौडेलले शिक्षा नियमावली निर्माण भएपछि शिक्षा क्षेत्रमा देखिएका विकृति विसंगतिको अन्त्य हुने विश्वास भने ब्यक्त गरे ।
‘सार्वजनिक विद्यालयमा विद्यार्थी जाउँ जाउँ लाग्ने खालको वाताबरण नबनाई हामीले शिक्षामा लिएको लक्ष्य पूरा हुँदैन’ उनले भने ‘विद्यालयलाई भौतिक सुविधा सम्पन्न, बालमैत्री बनाईने छ । शिक्षालाई विज्ञान र श्रमसँग जोड्दै यसलाई गुणस्तरिय, व्यवहारिक र रोजगारमूलक बनाइने छ ।’
कार्यक्रममा रामेछाप २ बाट निर्वाचित सांसद श्यामकुमार श्रेष्ठले दुर्गम जिल्ला भएर पनि रामेछापले शिक्षा क्षेत्रमा गरेको प्रगति प्रशंसा योग्य भएको बताए । शैक्षिक सुचकांकमा मध्यमाञ्चल क्षेत्रका १९ जिल्लामा रामेछाप दोश्रो हुनु र केही महिना अघि मात्र रामेछाप पूर्ण साक्षर घोषित हुनुले त्यसको पुष्टी गरेको उनको भनाई थियो ।
कार्यक्रममा रामेछापका जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतमले बजेट अभावको कारण भूकम्पले क्षतिग्रस्त रामेछापका शैक्षिक संरचनाको पुनः निर्माण हुन नसकेको बताए । विद्यालय संरचना निर्माणको लागि राष्ट्रिय पुनः निर्माण प्राधिकरणबाट आउने बजेट जिल्ला शिक्षा कार्यालय मार्फत् खर्च गर्ने व्यवस्था मिलाउन उनले शिक्षा मन्त्रीलाई आग्रह गरे । कार्यक्रममा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्यहरु धावा लामा र युवराज चौलागाईं, प्रधानाध्यापक ललित थापा मगर लगायतले बोलेका थिए ।
कार्यक्रममा मन्त्री पौडेलले विद्यालयमा ३० बर्षसम्म प्रधानाध्यापक भएका विष्णुप्रसाद योञ्जनलाई दोसल्ला ओडाएर सम्मान गरे । कार्यक्रममा मन्त्रीले विद्यालयले आयोजना गरेका विभिन्न प्रतियोगितामा बिजयी खेलाडीलाई पुरस्कार र प्रममाण पत्र प्रदान गरे भने विद्यार्थीले देशभक्तिपूर्ण गित तथा नृत्य प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया