Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

सांसददेखि मजदुरसम्मका छोराछोरी एउटै स्कुलमा

मंगलबार, २१ मंसिर २०७३

काठमाडौं २१ मंसिर/ विद्यार्थी संख्या दुई सय ४५ । त्यसमध्ये आठ जना मात्रै काठमाडौंका । दुई सय ३७ जना ५५ जिल्लाका छन् । अर्काको घरमा काम गर्ने ३५ जना छन् । दुई सय ४५ मध्ये सरकारी कर्मचारीका छोराछोरी २० जना छन् । गैरसरकारी संस्थामा कार्यरत अभिभावक तीन जना । कृषि पेसा गर्ने अभिभावक ४७ र ज्यालामजदुरी गर्ने एक सय २९ जना छन् । फुटपाथ, नाङले व्यापार गर्ने र सामान्य अन्य व्यापार गर्ने अभिभावक ५६ जना छन् ।

संसद् भवन नजिकैको मध्य बानेश्वरस्थित रत्नराज्य माविको कक्षा ९ मा अध्ययनरत विद्यार्थीको विवरण हो यो । यो विद्यालयको परिचय यतिमै सीमित छैन । मनाङ, मुस्ताङ, सुर्खेत र रोल्पाबाहेक ७१ जिल्लाका विद्यार्थी अध्ययनरत छन् । नेपालबाहेक भारतका विद्यार्थी पनि अध्ययनरत छन् । कक्षा १० मा एक सय ८९ विद्यार्थी ५० जिल्लाका छन् ।
आदिवासी जनजाति, मधेसी, दलित, क्षत्री बाहुन, लोपोन्मुख जाति समेत रत्नराज्यको कक्षा ९ मा भेटाउन सकिन्छ । कक्षा ९ मा ७२ जनाले मातृभाषा बोल्छन् । विद्यालयका प्रधानाध्यापक खरेलका अनुसार नेवारी ७, मैथली १८, थारू १७, मगर ८, भोजपुरी ५, हायु १, तामाङ १४, गुरुङ भाषा २ जनाले बोल्छन् । कक्षा ९ मा क्षत्री ५१, ब्राह्मण ६१, जनजाति ९० (तराई र पहाडका), अल्पसंख्यक आठ, मधेसी २७, दलित चार (तराई र पहाड), मुसलमान २ र संंन्यासी दुई जना विद्यार्थी छन् । कक्षामा सांसददेखि कामदारका छोराछोरी पनि छन् । अर्काको घरमा काम गरेर मेहनत गर्ने विद्यार्थी पनि उत्तिकै छन् ।
 कञ्चनपुरकी रिया पन्तले रत्नराज्यमा पढ्न थालेपछि समाज बुझ्ने मौका पाएको बताइन् । उनी ८ कक्षासम्म बोर्डिङमा पढेर एक वर्षअघि रत्नराज्यमा भर्ना भएकी हुन् । ‘कक्षामा फरक–फरक जिल्लाका साथी छन् । विभिन्न भाषा बोल्छन्,’ उनले भनिन्, ‘बोर्डिङमा यस्तो अवसर थिएन । समाज बुझ्ने मौका पाइनँ । जति बेला पनि पढ्ने मात्रै हुन्थ्यो ।’
 विद्यालयमा किताबी ज्ञानसँगै साथीहरूको संस्कृति पनि नजिकबाट जान्ने मौका पाएको उनले बताइन् । ‘एउटै चाड मनाउने तरिका ठाउँअनुसार फरक हुन्छ । कसले कसरी मनाउँछन् ? थाहा पाइन्छ,’ उनले भनिन्, ‘साथीहरूले आफ्नो संस्कार र संस्कृति सुनाउँछन् ।’ इपीएस स्कुलबाट रत्नराज्यमै आएका अर्का विद्यार्थी ऋषिकेश लामिछानेले कक्षामा विभिन्न स्थानबाट आएका साथीहरूबाट नैतिक र सामाजिक कुरा सिक्ने मौका पाएको बताए ।
विभिन्न जिल्लाका विद्यार्थी एउटै कक्षामा हुँदा शिक्षकले पनि सिक्ने मौका पाएका छन् । कुनै समुदायबारे पढाउनुपर्दा शिक्षकले विद्यार्थीलाई भन्न लगाउँछन् । ‘त्यही क्षेत्र वा जातका विद्यार्थीले किताबमा लेखिएभन्दा प्रस्टसँग भन्छन्,’ रत्नराज्यका शिक्षक कृपाश्वर खडकाले भने, ‘कक्षा बहुसांस्कृतिक र बहुजातीय छ ।’ देउडाबारे पढाउँदा विद्यार्थीले कक्षामै गाएर सुनाउँछन् । बुझाउन शिक्षकले आफैं उदाहरण दिनु पर्दैन । कर्णालीका विषयमा पढाउँदा त्यही क्षेत्रका विद्यार्थीलाई चित्रण गर्न लगाउँछन् । खडका कक्षालाई सिंगै देशको संज्ञा दिन्छन् । विविधताभित्र रोचकता रहेको प्रधानाध्यापक गीता खरेलले बताइन् ।
कक्षामा सिंगो नेपालमात्रै नभई विदेश पनि रहेको उनले बताइन् । विद्यालयमा भारतका विभिन्न राज्यका विद्यार्थीसमेत अध्ययन गर्छन् । ‘कक्षामा सिंगो नेपाल हेरेजस्तो लाग्छ । सामुदायिक विद्यालयमा सिंगो नेपालका छोराछोरी छन्,’ उनले भनिन्, ‘सिंगो नेपाल बुझ्न रत्नराज्य आए हुन्छ ।’ उपत्यकाभन्दा बाहिरका विद्यार्थी विद्यालयमा पढ्ने भएकोले दसैं तिहारमा पढाउन समस्या भएको उनले बताइन् । नतिजा वितरणमा अभिभावक बोलाउँदा पनि न्यून आउँछन् ।
विद्यालयमा तीन सांसदका छोराछोरी पढ्छन् । कास्कीका सांसद जीवन परियारका छोरा विधानरत्न कक्षा आठदेखि यही विद्यालयमा अध्ययनरत छन् । उनी अहिले नौ कक्षामा पढ्छन् । दार्चुलाका सांसद गणेश ठगुन्नाको छोरा सागर पनि नौ कक्षामा पढ्छन् । बझाङका सांसद अफिलाल उखेडाकी छोरी आकृति शर्मा कक्षा १० मा पढ्छन् । यो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका अभिभावक सरकारी कर्मचारी, शिक्षक, व्यापारी, पुरोहित, कृषक, इन्जिनियर, राजनीतिज्ञ, निजी संस्थामा काम गर्ने कर्मचारी, चालक, ठेकेदार, कार्पेन्टर, सुरक्षा गार्ड, सुरक्षाकर्मी, डकर्मी, सिकर्मी, कुक, पेन्टर, वकिल, पत्रकार, टेलरिङ, ब्युटिसियन, गृहिणी, ट्रेकिङ गाइड, वैदेशिक रोजगारीमा छन् । विद्यार्थीले विभिन्न धर्मावलम्बीले मनाउने पर्वबारे अर्को साथीबाट सहजै थाहा पाउँछन् । ‘इदमा हिन्दुलाई बोलाउँछन् । हिन्दुले अरू धर्म मान्नेलाई बोलाएर पर्वको मजा लिन्छन्,’ विज्ञान शिक्षक मनोज आचार्यले भने, ‘विद्यार्थीलाई मात्रै होइन, शिक्षकलाई पनि ज्ञान हुन्छ ।’
शिक्षक आचार्यले फरक–फरक संस्कारमा हुर्किएका कारण विद्यालय भर्ना भएपछि घुलमिल हुन चाहिँ अलि समय लाग्ने बताए । हेटौंडामा एउटै समुदायका बच्चा पढाएकी शिक्षक संगीता घलेले सरुवा भएर यहाँ आएपछि कक्षामा विविधता देखेको बताइन् । ‘यसअघि पढाएको विद्यालयका विद्यार्थी अधिकांश स्थानीय हुन्थे,’ उनले भनिन्, ‘तर, बानेश्वरमा त विभिन्न जिल्लाबाट आएका विद्यार्थी रहेछन् । फरक संस्कृति र भूगोलबाट आएका विद्यार्थीबाट धेरै सिक्ने मौका पाएकी छु ।’
उपत्यकाका अन्य विद्यालयको कक्षा कोठामा पनि विविधता देखिन्छ । नमुना मच्छिन्द्र माध्यमिक विद्यालय ललितपुरमा कक्षा आठका विद्यार्थी ३३ जिल्लाका छन् । काठमाडौंको पद्मोदय माविमा ६२ जिल्लाका विद्यार्थी पढ्छन् । भारतका १६ जना पनि यहीँ छन् । त्यस्तै भक्तपुर सानोठिमीको आदर्श माविमा ६१ जिल्लाका विद्यार्थी छन् । सिन्धुपाल्चोकका मात्रै एक सय ३३ जना छन् । सानोठिमीकै महेन्द्र आधारभूत विद्यालयमा ३९ जिल्लाका विद्यार्थी छन् । वागेश्वरी माविमा ४६ जिल्लाका विद्यार्थी छन् । ललितपुरको आदर्श शौल माविमा ६४ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ । त्रिपद्ममा ५५ जिल्लाका विद्यार्थी अध्ययनरत छन् ।  तिलिङगेटार माविमा कक्षा आठमा ४५ जिल्लाका छन् । यसमा खोटाङका सबैभन्दा बढी १२ र नुवाकोटका १२ जना छन् । काठमाडौं जिल्लाका आठ जना मात्रै छन् । कक्षा १० मा ४७ जिल्लाका छन् । यही विद्यालयमा प्रारम्भिक बाल शिक्षादेखि कक्षा पाँचसम्म चार सय ७९ छन् । उनीहरू ५८ जिल्लाका हुन् । यसमा काठमाडौंका १७ जना मात्रै छन् । तरुण माविमा १ हजार ७ सय ८५ विद्यार्थी छन् । यी विद्यार्थी ४२ जिल्लाका हुन् ।
 नुवाकोटका मात्रै नौ सय ७३ जना छन् । तीनकुनेको सिद्धेश्वरमा ५० जिल्लाका विद्यार्थी अध्ययनरत छन् । डिल्लीबजारको पद्मकन्यामा ५९ जिल्लाका छन् । विद्यालयकी प्रधानाध्यापक रिता तिवारीका अनुसार सबैभन्दा बढी दोलखाका ४७ जना छन् । युवा सहभागिता माविमा ४६ जिल्लाका छन् । यो विद्यालयमा धादिङका ४३ र नुवाकोटका ४२ जना छन् । धादिङ सत्यवती माविका पूर्वप्रधानाध्यापक लक्ष्मण शर्माले कक्षामा विविधता शिक्षकका लागि सिकाइको शक्ति हुने बताए । ‘विविधता भएको कक्षामा आफ्नो क्षेत्र, पर्व, जुनसुकै विषयमा भन्न लगाएर सहभागितामूलक बनाउन सकिन्छ । विद्यार्थीमा बोल्ने सीप विकास हुन्छ,’ उनले भने, ‘व्याख्या गर्न र आफ्नोपनको अपनत्व गराउन सकिन्छ ।’ शिक्षकसँग भएको ज्ञानमात्रै दिँदा भने विविधता भएको कक्षामा समस्या हुन सक्ने उनले बताए ।


- एउटा कक्षामा ७२ जना मातृभाषा बोल्छन्
- कक्षामा सांसददेखि कामदारका छोराछोरी पढ्छन्
- कक्षा ९ मा २४५ विद्यार्थीमध्ये
क्षत्री    ५१
ब्राह्मण    ६१
जनजाति    ९०
(तराई र पहाडका)
अल्पसंख्यक    ८
मधेसी    २७
दलित (तराई र पहाड)    ४
मुसलमान    २
संन्यासी    २

कान्तिपुरमा मकर श्रेष्ठले लेखेको खबर ।

प्रतिक्रिया