Edukhabar
आइतबार, ०७ पुस २०८१
खबर/फिचर

त्यसपछि शिक्षकले भन्न सक्छ हाम्रा कारणले मात्रै विद्यालय बिग्रेको हैन

आइतबार, १९ मंसिर २०७३

काठमाडौं - आफैंले पढाउने विद्यालयमा आफ्ना सन्तान पढाउन नसक्ने नचाहने सामुदायिक विद्यालयका शिक्षकले अरुका सन्तानलाई राम्रो पढाउला त ? चावहिलको पशुपति मित्र माध्यमिक विद्यालयका एकजना विद्यालय कर्मचारीले शायद यही प्रश्नको उत्तर फेला पारेनन् र आफैंले काम गर्ने विद्यालयमा पढाउँदै आएका आफ्ना सन्तानलाई निजी विद्यालयमा भर्ना गरे ।

नजिकबाट यो घटना नियाली रहेका उक्त विद्यालयका शिक्षक चन्द्रकान्त पण्डित  (४७) लाई भने यो घटनाले चिमोटिरहेको छ ।  ‘गत वर्ष एकजना विद्यालय कर्मचारीले आफ्नो बच्चा यहीँ पढाएका थिए तर अहिले त्यो पनि छैन ।’ उनी २०७२ साललाई सम्झन्छन् ।

शिक्षक पण्डितले भने आफ्ना सबै सन्तानलाई आफैंले पढाउने यही विद्यालयमा भर्ना गरेका छन् ।

‘यो स्कुलमा करिब ७ सय विद्यार्थी पढिरहेका छन्, ती मध्ये तीन जना मेरा सन्तान हुन्’ उनले गर्वका साथ छाती फुलाएर भने, ‘यहाँका ४० शिक्षक र १० स्वीपर मध्येमा मेरै सन्तानमात्र यही स्कुलमा पढ्छन् ।’
सरकारी विद्यालयमा पढाउने, त्यही कामबाट आफ्नो दैनिकी सँगै घर व्यवहार चलाउने तर आफ्ना सन्तानलाई भने निजी विद्यालयमा पठाएर आफैप्रतिको विश्वास घटाइरहेका देशका सामुदायिक विद्यालयका अधिकाँश शिक्षकका अघिल्तिर पण्डित विल्कुल फरक छन् । समाजमा कसैकसैले सन्तानको भविष्यको चिन्ता नभएको बाबु भन्न समेत भ्याएका छन् । कसैकसैले उनलाई आँटिला शिक्षक पनि भन्छन् ।

सामुदायिक विद्यालय खत्तमै भयो, बर्बादै भयो भन्ने आम गुनासो व्यापक बनिरहेको बखत उनले किन त्यही ‘खत्तम र बर्बादै भएको’ विद्यालयमा आफ्ना सन्तानलाई भर्ना गरिदिए त ? के भविष्य देखे त उनले ? उनकै भनाइमा उनले सन्तानको भविष्यभन्दा बढी आफूप्रतिको आत्मविश्वासलाई बढ्ता विश्वास गरे ।

‘मलाई आफैमाथि विश्वास थियो, मैले अरुलाई विश्वास गर्ने भन्दा आफूलाई नै गरेको हुँ ।’

हुन त उनी बसिरहेको ठाउँ, ज्ञानेश्वरदेखि चावहिलसम्म उनको विद्यालय भन्दा  अब्बल कहलिएका निजी विद्यालयहरु नभएका होइनन्, यतिमात्र होइन, उनी बसिरहेकै फ्ल्याट र नामचलेको एक निजी स्कुल एकआपसमा जोडिएका छन् । तर पनि शिक्षक पण्डितले भने आफ्ना सन्तानलाई भने त्यहाँदेखि चावहिलसम्म हात समाएर डो¥याएका छन् ।

‘छोरीहरु यहीँ पढ्न पाउँदा निक्कै खुुसी छन्, रमाएका छन् ।’ छोरीहरुभन्दा बढी खुसी आफूलाई लागिरहेको बताउँदै उनले भने ।

कक्षा ८ सम्म जेठी छोरीलाई काठमाडौंका विभिन्न निजी विद्यालयमा पढाएर पछुतो मानिरहेका उनलाई थुप्रै प्राइभेट स्कूलहरुको वास्तविकता थाहा छ । यही वास्तविकताबाट दिक्क भएर पनि उनले सरकारी विद्यालय रोजेका हुन् ।

‘सरकारी स्कुलमा पढेका खण्डमा कम्तीमा कोही पनि विद्यार्थी मान्छे बन्न सक्छ, तर प्राइभेटमा पढेको खण्डमा यन्त्र मात्र बन्छ ।’

उनको अनुभवसँगै आफूले सो कुराको बोध गरेपछि सन्तानलाई ‘सामुदायिक विद्यालयमा पढ्यौ भने यो माटो/देशको लागि काम गर्न सक्छौं । तिम्रो परिचय जो धुलो माटोमा खेलेर हुर्केका बालबालिकाहरु हुन्छन्' उनले आफूले अपनाएको नैतिक पाठ सन्तानलाई पनि सिकाउने कोशिस गर्छन्, 'सामुदायिक विद्यालयमा सडकमा हुर्किएका बाबालिकाहरु हुन्छन्, धेरै कुराहरु सिक्न पाउँछौ, किन खाली त्यही यन्त्रसँग खेल्ने परिवारका बच्चाहरु पढ्ने प्राइभेट स्कुलमा मात्र जान्छौ त ? तिमी साँच्चैको मान्छे बन्नुपर्छ ।’

आफ्ना बच्चाहरुलाई प्राइभेट विद्यालयहरुमा लिएर गएँ भने के म मान्छे बन्न सक्छु ? के  म शिक्षक रहन सक्छु ? भन्ने प्रश्नले आफ्नो अन्तर्यलाई पटकपटक चिमटिरहेको अनुभव सुनाउँछन् पण्डित सर ।

‘तैंले आफ्ना बच्चाहरुलाई आफूले पढाएको विद्यालयमा किन पढाउने हिम्मत गर्दैनस् ? के तैले बाँडेको ज्ञान कमजोर छ ? तेरो ज्ञानले तेरा सन्तानलाई संञ्चित गर्न सक्दैन भने अर्काका सन्तानलाई चाँही कसरी सक्छ ? मलाई मेरै मनले धेरै प्रश्न सोध्यो’ उनले भने, ‘जव मैले मेरै मनलाई उत्तर दिने निश्चय गरेँ मैले मेरा सन्तान आफैंले पढाएको विद्यालयमा पढाउने निर्णय गरेँ ।’

छोरीहरुलाई आफैंले पढाउने विद्यालयमा भर्ना गरेपछि आफूभित्रको शिक्षकत्व अझ बढेकोे, आत्मविश्वास र जिम्मेवारी बढेको भित्रैबाट अनुभूति भएको उनको अनुभव छ ।

छोरीहरु भर्ना गर्न ल्याउँदा खिसि ट्यूरी  गर्नेहरु मात्रै थिएनन् । तपाइँले ठीक गर्नुभयो, हामी पनि तपाइँलाई सहयोग गर्छौं भन्ने शिक्षक सहपाठीहरु पनि थिए । उनले गरेको प्रयासलाई प्रधानाध्यापक लगायत प्रशासनले सहयोग त गरे त्यो भन्दा बढी अप्रत्यक्ष रुपमा ती शिक्षकहरुलाई पनि आफ्ना सन्तान पढाउन दबाब परेको छ । ‘मैले आफ्ना सन्तान ल्याएपछि प्रअदेखि लिएर अरु शिक्षकहरुलाई पनि एक किसिमको दबाब सिर्जना भएको छ । उहाँहरु द्विविधामा हुनुहुन्छ ।’ शिक्षकले सुरु गर्दा हुँदो रहेछ भन्ने कुराको साविती दिन पाउँदा आफूलाई अझ गौरव महसुस भएको उनको भनाइ छ ।

२०५१ सालबाट सामुदायिक विद्यालयमा शिक्षकका रुपमा प्रवेश गरेपछि उनले धेरै विद्यालयमा पढाए । पढ्दै, पढाउँदै अंग्रेजी विषयमा एमफिल, एमए र बीएडसम्मको औपचािरक अध्ययन समेत सके ।
यी सबै औपचारिक र अनौपचारिक ज्ञानबाट उनले आर्जन गरेको अर्को शिक्षा भनेको ‘मुखबाट मात्र सार्वजनिक शिक्षा सुधार हुन्छ भन्ने होइन, व्यवहारबाट परिवर्तन हुन्छ । यसको सुरुवात शिक्षकबाटै हुनु जरुरी छ ।’ भन्ने नै हो । जुन कुरा उनले व्यवहारमा उतारेका छन् ।

जुन दिन एक शिक्षकले आफूले आफ्ना बालबालिकाहरुलाई सामुदायिक विद्यालयहरुमै भर्ना गर्छ, त्यसै दिनबाट शिक्षकप्रति समाजले राख्ने सोचमा परिवर्तन आउने र शिक्षकको छाती चौडा हुने कुराप्रति उनी दृढ छन् । सो कुराप्रति दृढता व्यक्त गर्ने शिक्षकले छाती खोलेर ‘हाम्रो कारणले विद्यालय बिग्रिएको होइन ।’ भन्ने अभिव्यक्ति दिनसक्छ भन्ने उनको धारणा छ ।

शिक्षाविना समाज परिवर्तन हुँदैन । समाजमा शिक्षित भए पनि उसको चरित्र कस्तो छ ? त्यही चरित्रबाट समाजले शिक्षा लिने हो । शिक्षित व्यक्ति चरित्रवान् भएर समाजको लागि उत्प्रेरक बन्न सक्तैन भने त्यो व्यक्तिले आफूलाई म ठूलो हुँ, मेरो यस्ता सर्टिफिकेट छन् भनेर भन्नुको अर्थ छैन । समाजको लागि शिक्षकको भूमिका अहम् हुन्छ, तर जिम्मेवारी वहन गरेको खण्डमा मात्र ।

जागिरे मात्र हुने स्वभाव पालेर, आफ्नो मात्र दुनो सोझ्याउने तरिकाले शिक्षण पेशा गरेका शिक्षकहरुका कारण शिक्षण पेशाप्रतिको धारणा क्रमशः स्खलित छ । सरकारी निकायका मानिसहरु पनि शिक्षा बिग्रनुमा शिक्षकलाई मात्र दोषी देखाउँदा उनलाई चित्त दुख्छ । खाली गल्ती मात्र केलाउने, कुरा मात्र गर्ने, भाषण गर्ने तर त्यही आफूले बोलेको कुरालाई भने व्यवहारमा नउतार्ने स्वभावका शिक्षकदेखि देशको वागडोर सम्हालेका व्यक्तिहरुलाई उनी चुनौती हुन् ।

के उनले जस्तै गरी अरुले पनि त्यो साहस गर्न सक्छ ? यही सन्दर्भमा उनी भन्छन्, ‘मैले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा पढाएर प्रधानमन्त्री, शिक्षामन्त्री, शिक्षा सचिवलाई चुनौति दिन सक्छु : मैले त मेरा बच्चाहरु तपाइँहरुको निर्देशनअनुसार पालन गरेको छु है, तपाइँका छोराछोरी, नातिनातिना कहाँ लैजानुभएको छ ? छाती खोलेर सोध्न सक्छु ।’

त्यसको जवाफ तिनीहरुले देलान्÷नदेलान् आफ्नो ठाउँमा छ तर उनले भने परिवर्तनको लागि आफैले सुरु गरेका छन् ।

प्रतिक्रिया