Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

समुदायकै हेला

आइतबार, १९ मंसिर २०७३

काठमाडौं १९ मंसिर / सानोठिमीस्थित महेन्द्र आधारभूत विद्यालयमा ३ सय २ विद्यार्थी छन् । यी विद्यार्थी ३९ जिल्लाबाट राजधानी उपत्यका आएका हुन् । स्थानीय विद्यार्थी भने कोही छैनन् । नजिकैको अर्को विद्यालय जनप्रेमीमा पनि स्थानीय विद्यार्थीको संख्या शून्य छ ।
    राजधानीको गौशालास्थित मंगलादेवी माविमा २ सय ३८ छन् । यीमध्ये जम्मा दुईजना मात्र स्थानीय हुन् ।
    मुलुककै पुरानो भानु मावि (दरबार हाईस्कुल) मा १ सय ६३ विद्यार्थी छन् । यहाँ पढ्नेमा स्थानीय (काठमाडौंका) विद्यार्थी तीन जना मात्र छन् ।
    ललितपुरको नमुना मच्छिन्द्र माविमा ५ सय ४२ विद्यार्थीमध्ये स्थानीय २४ जना मात्रै छन् । यिनमा पनि धेरैजसो विद्यार्थी अशक्त वा अपांगता भएका छन् ।

राजधानी उपत्यकाका यी दृष्टान्तले सामुदायिक विद्यालयलाई सामुदायले विश्वास नगरेको पुष्टि हुन्छ । नि:शुल्क अध्ययन गर्न पाइने सामुदायिक विद्यालयलाई बेवास्ता गरेर स्थानीयले महँगो शुल्क तिरेर टाढाको निजी विद्यालयमा पढाउँछन् । कान्तिपुरले उपत्यकाको ५१ विद्यालयमा अध्ययनरत ३२ हजार ६ सय २९ विद्यार्थीको अवस्था अध्ययन गर्दा ३ हजार २ सय २६ अर्थात् ९.८८ प्रतिशत मात्रै स्थानीय विद्यार्थी भेटिए । ९०.१२ प्रतिशत विद्यार्थी बाहिरी जिल्लाका छन् । पशुपति मित्र माविका प्रधानाध्यापक विष्णुप्रसाद अधिकारी स्थानीयले सामुदायिक विद्यालय भनेको शिक्षकलाई जागिर दिने सेन्टरका रूपमा मात्रै हेर्ने गरेको बताउँछन् ।
‘स्थानीयलाई विद्यालयको मतलब नै छैन,’ उनी भन्छन्, ‘बाहिरका बच्चा पढ्छन् । व्यवस्थापन समितिमा पनि उनीहरू नै हुन्छन् ।’ तर, जुन विद्यालयमा स्थानीय विद्यार्थीको संख्या बढी छ, त्यस्ता विद्यालयको सिकाइ उपलब्धि र एसएलसीको नतिजा भने राम्रो छ ।
स्थानीय विद्यार्थी भएपछि शिक्षकलाई खबरदारी गर्छन् । शिक्षण क्रियाकलापको नियमित निगरानी गर्छन् । छोराछोरीको पढाइ कमजोर भए प्रधानाध्यापक र कक्षा शिक्षकलाई गुनासो गर्छन् । अभिभावकको दबाब बारम्बार बढेपछि स्वत: सिकाइ उपलब्धि सुधार हुने शिक्षकहरूको भनाइ छ । ‘शिक्षकले पढाइ पनि ठीकै, नपढाए पनि ठीकै भएको छ । पढाउन छाडेर राजनीति गर्न हिँडे पनि भएकै छ,’ एक प्रधानाध्यापकले भने, ‘अनि कसरी नतिजा राम्रो हुन्छ ?’ अध्ययन गरिएका विद्यालयमा पढ्ने ७४ प्रतिशत विद्यार्थीका अभिभावक ज्याला मजदुरी गर्ने भेटिए । ‘दैनिक काम गरेर गुजारा गर्नेलाई छोराछोरीको पढाइभन्दा कामकै चिन्ता बढी हुन्छ । विद्यालयले बोलाएको बेला उपस्थित हुन पनि सक्दैनन्,’ एक शिक्षकले भने ।
सामुदायिक विद्यालयको अनुमति दिँदा त्यसको निश्चित ‘क्याचमेन्ट एरिया’ तोकिएको हुन्छ । त्यो भनेको विद्यालयले कुन–कुन क्षेत्रका विद्यार्थीलाई समेट्छ भन्ने हो । बानेश्वरको विद्यालयलाई अनुमति दिँदा महाराजगन्ज वा धादिङ र काभ्रेका विद्यार्थी आउलान् भन्ने सोचिएको हुँदैन । विद्यालय वरिपरिको जनसंख्यालाई आधार मानेर अनुमति दिइन्छ । तर, काठमाडौं उपत्यकाभित्र भने त्यही वरिपरिको समुदायले सामुदायिक विद्यालयलाई विश्वास नगरेको देखिन्छ ।
विद्यालयले पनि समुदायको मन जित्न सकेको छैन । ‘विद्यालय र समुदायबीच समन्वय छैन । स्थानीयले आफ्ना बालबालिका सामुदायिकमा भर्ना गराउँदैनन्,’ महेन्द्र आधारभूत विद्यालयका प्रधानाध्यापक राम कार्कीले भने । समुदायको मन जित्न विद्यालयहरूले अंग्रेजी माध्यमबाट पढाउन थालेका छन् । अभिभावकसँग नियमित भेटघाट गर्छन् । अध्ययनका क्रममा स्थानीय विद्यार्थी दुई प्रतिशतभन्दा कम भएका ९ वटा विद्यालय भेटिए । तीनकुनेको सिद्धेश्वर माध्यमिक विद्यालयमा ४ सय ३६ विद्यार्थी छन् । विद्यालयमा स्थानीय विद्यार्थी (काठमाडौं) का ६ जना मात्रै छन् । कक्षा ७ मा पाँच जना र २ कक्षामा १ जना छन् । विद्यालयमा ५० जिल्लाका विद्यार्थी अध्ययन गर्छन् । त्यसमा रामेछापको सबैभन्दा बढी ५२ जना छन् । काभ्रेका ४३, दोलखाका ३५, ओखलढुंगाका २९, महोत्तरीका १६ विद्यार्थी छन् । मध्यमाञ्चलको मात्रै नभई अन्य क्षेत्रका विद्यार्थी पनि यो विद्यालयमा अध्ययनरत छन् ।
कोटेश्वर सरस्वती माविमा ७ सय ६१ विद्यार्थीमा १२ जना मात्रै स्थानीय छन् । कक्षा चारमा एक जना, आठमा तीन जना, नौ कक्षामा ६ जना र १० कक्षामा २ जना स्थानीय विद्यार्थी रहेको विद्यालयका प्रधानाध्यापक पुष्पराज कँुवरले बताए । ‘सामुदायिक विद्यालयप्रति समाजको दृष्टिकोण नकारात्मक छ,’ उनले भने । काठमाडौंका सफल सामुदायिक विद्यालय मानिएको ज्ञानोदय माध्यमिक विद्यालयमा पनि स्थानीय विद्यार्थी ६ प्रतिशत मात्रै छन् । १ हजार ८ सय ७६ विद्यार्थी रहेको विद्यालयमा १ सय २५ जना मात्रै स्थानीय विद्यार्थी छन् ।
दुई सय ६३ जना रहेको शिशु कक्षामा पाँच जना मात्रै स्थानीय विद्यार्थी रहेको विद्यालयका प्रधानाध्यापक नातिकाजी महर्जनले बताए ।
कक्षा एक र दुईमा स्थानीय विद्यार्थी शून्य छ । पशुपति मित्र माविमा पनि सात सय १४ विद्यार्थीमध्ये ६ जना मात्रै स्थानीय विद्यार्थी छन् । लैनचौरको शान्ति विद्या गृहमा चार सय ७१ मध्ये आठ जना मात्रै स्थानीय विद्यार्थी छन् । कक्षा चारमा दुई, ७ मा १, आठमा २ र १० कक्षामा तीन जना स्थानीय विद्यार्थी छन् ।
स्थानीयले अवसर खोज्न मात्रै सामुदायिक विद्यालयमा भर्ना गर्छन् । सरकारले कक्षा ९ र १० मा सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न छात्रवृति दिने कानुनी व्यवस्था गरेको छ । यो सुविधा लिन निजी विद्यालयमा कक्षा आठसम्म पढाएर ९ र १० कक्षा भने सामुदायिकमा पढाउने गरेको पाइएको छ । ‘आर्थिक दृष्टिले निम्न वर्गका पनि सामुदायिक विद्यालयलाई पत्याउँदैनन् । केही सीप नलाग्नेले मात्रै सामुदायिकमा पढाएका छन्,’ पूर्वप्रधानाध्यापक धनन्जय शर्माले भने, ‘एसएलसीमा राम्रो छ भने आउँछन् । केही स्वार्थले आएका हुन् ।’
अध्ययनका क्रममा उपत्यकाका अधिकांश विद्यालयमा तल्लो कक्षामा विद्यार्थी संख्या न्यून पाइयो । तर, तिनै विद्यालयमा ८ कक्षादेखि माथि भने विद्यार्थी संख्या ठूलो पाइयो । यिनमा पनि स्थानीय विद्यार्थीको संख्या बढेको पाइयो । ज्ञानोदयमा १ सय २५ जना स्थानीयमध्ये शिशु कक्षामा पाँच जना, पाँच कक्षामा नौ जना, आठ कक्षामा २४ तथा ९ र १० मा २६/२६ जना छन् । भक्तपुरको वासु माविमा तल्लो कक्षामा स्थानीयका छोराछोरी न्यून छन् । माथिल्लो कक्षामा क्रमश: बढदै गएको देखिन्छ । शिशु कक्षामा १ सय १६ जनामध्ये स्थानीय विद्यार्थी ४० जना छन् । कक्षा १० मा ७१ जनामध्ये ४९ जना स्थानीय छन् ।
सरकारले इन्जिनियरिङ, मेडिकलजस्ता विषयमा उच्च शिक्षा पढा सामुदायिकमा पढेका विद्यार्थी हुनुपर्ने व्यवस्था गरेपछि आठ कक्षासम्म बोर्डिङमा पढाउने र नौदेखि सामुदायिकमा भर्ना गर्ने चलन बढेको हो । यो चलन मुलुकभरि रहेको शर्माले बताए ।
गत वर्षको एसएलसीमा बागलुङको एक विद्यालयका ३७ जनाले एसएलसीमा ३ जीपीएभन्दा बढी ल्याएका थिए । त्यसमध्ये ३३ जना बोर्डिङमा पढेर आठ र नौ कक्षामा सामुदायिकमा भर्ना भएको पाए । ‘त्यही विद्यालयमा कक्षा १ मा भर्ना भएका ६ जनाले मात्रै ३ जीपीएभन्दा बढी ल्याएका रहेछन् । अरू सबै बोर्डिङका थिए,’ उनले भने । यस्तो दृष्टान्त देशभरिका सदरमुकामका राम्रा विद्यालयमा रहेको उनले बताए । एसएलसीमा राम्रो नतिजा ल्याउने विद्यालयमा तल्लो कक्षामा विद्यार्थी कम छन् । माथिल्लो कक्षामा विद्यार्थी बढी छन् । ‘बोर्डिङका विद्यार्थी माथिल्लो कक्षामा आएपछि यस्तो देखिएको हो । यो राम्रो होइन । अर्काले तिखारेर पठाएको विद्यार्थीलाई मेरो विद्यार्थीले राम्रो गर्‍यो भन्न मिल्दैन,’ उनले भने ।
रामकोटको रत्नराज्य माध्यमिक विद्यालयमा चार सय एक विद्यार्थीमध्ये दुई सय ४७ जना स्थानीय विद्यार्थी छन् । तल्लो कक्षामा स्थानीय न्यून भए पनि माथिल्लो कक्षामा भने स्थानीयले छोराछोरी भर्ना गर्ने गरेको देखिन्छ । यही विद्यालयमा शिशु कक्षामा ३८ विद्यार्थीमध्ये १० जना मात्रै स्थानीय छन् । कक्षा एकमा २६ जनामा सात जना स्थानीय विद्यार्थी अध्ययनरत छन् । यो संख्या कक्षा आठदेखि १० मा स्थानीयको संख्या हवात्तै बढेको छ । कक्षा नौमा ५० जना विद्यार्थीमध्ये स्थानीय ३८ जना छन् । १० कक्षामा ४४ जनामध्ये ३६ जना स्थानीय रहेको विद्यालयले जनाएको छ । थानकोटको मंगलोदय माविमा एक हजार एक सय ३७ विद्यार्थीमध्ये दुई सय ८५ जना स्थानीय छन् ।
साँखुको भाग्योदय माध्यमिक विद्यालयमा २ सय ५४ विद्यार्थीमध्ये १ सय ५७ जना स्थानीय रहेको विद्यालयका प्रधानाध्यापक रुसन बासीले बताए । यो विद्यालयमा पनि रत्नराज्यको जस्तै तल्लो कक्षामा स्थानीय विद्यार्थीको संख्या न्यून छ भने माथिल्लो कक्षामा बढी छ । कक्षा १० मा ५७ जना विद्यार्थीमध्ये ५१ जना स्थानीय नै छन् । ‘हाम्रो विद्यालयमा पनि साँखुको भित्री बस्तीका नेवार समुदायका बच्चा कम नै छन्,’ विद्यालयका प्रधानाध्यापक बासीले भने, ‘शंकरापुर नगरपालिकाभित्रका अरू वडाका बच्चालाई पनि स्थानीय मान्दा अलि धेरै देखिएको हो ।’
ललितपुर उपमहानगरपालिका क्षेत्रमा भने स्थानीय विद्यार्थी न्यून छन् । त्रि–पद्म माविमा सात सय ८२ मध्ये ८६ जना मात्रै स्थानीय विद्यार्थी छन् । ‘समाजले हामीलाई विश्वास नगरेको हो,’ प्रधानाध्यापक टीकाराम तिमल्सिनाले भने, ‘सरकारीमा पढाइ हँ‘दैन । बोर्डिङसँग तुलना गरी सरकारीमा छोराछोरी पढाउँदा बिग्रन्छ भनेर पठाउँदैनन् ।’ बोर्डिङको गाडीले घरको ढोकामै पुगेर लाने गरेकाले पनि स्थानीय विद्यार्थी न्यून भएको उनले बताए ।
विद्यालयमा स्थानीय विद्यार्थी नभए पनि व्यवस्थापन समितिमा भने स्थानीयकै हालीमुहाली छ । व्यवस्थापन समितिका पदाधिकारी बन्न कागजी रूपमा त्यही विद्यालयमा छोराछोरी पढाएको देखाउँछन् । तर, छोराछोरी निजी विद्यालयमा पढिरहेका हुन्छन् । निजी विद्यालयमा दैनिक कक्षा लिन्छन् । परीक्षाचाहिँ सामुदायिक विद्यालयबाट दिलाउँछन् । यस्तो खेल विशेषगरी कक्षा नौ र १० मा हुन्छ । ‘माथिल्लो कक्षामा सामुदायिकमा पढाएपछि उच्च शिक्षा अध्ययन गर्न सुविधा पनि पाइने, व्यवस्थापन समितिमा बसेर हालीमुहाली गर्न पाइने भएकाले यो प्रवृत्ति बढेको हो,’ राजधानीका एक प्रधानाध्यापकले भने, ‘छोराछोरी त्यही विद्यालयमा नपढाएपछि विद्यालयप्रति मायाचाहिँ हुँदैन ।’ विद्यालय वरिपरिको समुदाय र बाहिरको फरक हुन्छ । ‘बाहिरका विद्यार्थीका स्थायित्व हुँदैन । अस्थायी बसोबास गर्ने हो । अहिले सुविधाका लागि एक ठाउँमा हुन्छ । भोलि अर्कै ठाउँमा सर्छन्,’ प्रधानाध्यापक अधिकारीले भने ।
नवआदर्श मावि वसन्तपुरका प्रधानाध्यापक प्रमोदकृष्ण श्रेष्ठले विद्यायल वरिपरिका स्थानीय विद्यार्थी नहुँदा कोठा सर्नेबित्तिकै विद्यार्थी घट्ने गरेको बताए । ‘अहिले बसिरहेको ठाउँमा भन्दा अन्यत्र सस्तोमा कोठा पाउँदा, अन्यत्र काम गर्ने भएपछि विद्यार्थी पनि जान्छन्,’ उनले भने, ‘विद्यार्थी टिकाउनै मुस्किल । छोराछोरी यही विद्यालयमा पढाउने हो भने कोठा खोजिदेऊ भन्छन् ।’ विद्यालयमा बाहिरी जिल्लाका विद्यार्थी शैक्षिक सत्रको बीचमा पनि भर्ना हुन आउने गरेको बालउद्धार माविका निमित्त प्रधानाध्यापक हेमचन्द्र वाग्लेले बताए । फुटपाथमा व्यापार गर्ने र ज्यालामजदुर गर्ने अभिभावकका छोराछोरी जता व्यापार भयो त्यतै छोराछोरी भर्ना गर्छन् । ‘शैक्षिक सत्रको बीचमा भर्ना लिन्न भन्न मिल्दैन,’ उनले भने । घरमा काम गर्न ल्याउने घरेलु मजदुरलाई पनि शैक्षिक सत्रको बीचमा ल्याएर भर्ना गर्छन् ।

मकर श्रेष्ठले कान्तिपुरमा लेखेको खबर ।

प्रतिक्रिया