काठमाडौं १७ मंसिर / डा. गोविन्द केसीको आमरण अनशनको १९ औं दिन बिहीबार भएको बार्ता पनि कुनै निष्कर्षमा पुग्न सकेन ।
डा. केसीका प्रतिनिधि र सरकारी पक्षबीच शिक्षा मन्त्रालयमा साँझ सुरु वार्ता राति अबेरसम्म भए पनि सरकारले कुनै ठोस प्रस्ताव नल्याएकाले टुंगोमा पुग्न नसकेको केसीका प्रतिनिधि डा. राजेन्द्र वाग्लेले राति ११ बजे बताए । वार्ता अबेरसम्म चलेकाले नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठलगायतका प्रतिनिधिहरू पहिल्यै बाहिरिएका थिए । ‘रातको साढे १० बजेसम्म बस्दा पनि टुंगोमा पुग्न सकिने स्थिति नदेखिएपछि हामी वार्तास्थलबाट निस्किएका छौं,’ संघका अध्यक्ष श्रेष्ठले कान्तिपुरसँग भने, ‘हाम्रो विरोध र संघर्षका कार्यक्रमहरू जारी नै रहनेछन् ।’
डा. वाग्लेले लामो छलफल भए पनि सरकारी पक्ष आफ्ना मागमा लचिलो हुन तयार नदेखिएको बताए । वार्ता त्रिवि उपकुलपति तीर्थ खनियाँको बर्खास्तगी, चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा. केपी सिंहको राजीनामा र त्यहाँ प्राध्यापक भएको वरिष्ठताका आधारमा नियुक्तिबारे केन्द्रित थियो । वार्तामा संलग्न डा. सचित शर्माले पनि सरकारी पक्षले ठोस प्रस्ताव ल्याउन नसकेको गुनासो गरे । वार्तामा स्वास्थ्यमन्त्री गगन थापा र शिक्षामन्त्री धनीराम पौडेलसमेत रहेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबारै डा. केसीका माग सम्बोधन गर्न शिक्षा र स्वास्थ्यमन्त्रीलाई निर्देशन दिएका थिए ।
शिक्षामन्त्री पौडेल र स्वास्थ्यमन्त्री थापालाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएरै उनले निर्देशन दिएका हुन् ।
डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि प्रधानमन्त्रीले चासो लिएका हुन् । यसैबीच, चिकित्सा शिक्षा सुधारका लागि रमेशकान्त अधिकारीको संयोजकत्वमा बनेको कार्यदलले सरकारलाई प्रतिवेदनसमेत बुझाउने जनाएको छ ।
एक घण्टा सेवा बन्द
डा. गोविन्द केसीको समर्थनमा देशभरका चिकित्सकले बिहीबार एक घण्टा अस्पताल र स्वास्थ्य केन्द्रहरूमा सेवा बन्द गरे । संघको आह्वानमा सबैजसो सरकारी, निजी शिक्षण अस्पताल, मेडिकल कलेजहरू, नर्सिङ होम, क्लिनिकलगायतमा बिहान १० देखि ११ बजेसम्म आकस्मिकबाहेकका सेवा बन्द गरिएको हो । सरकारबाट कुनै निर्णायक कदम नउठाइएकाले शुक्रबार बिहान १० बजेदेखि १२ बजेसम्म २ घण्टाका लागि आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गर्न आह्वान गरेको संघका अध्यक्ष श्रेष्ठले बताए ।
दुई दिन सेवा ठप्प पारिने
सरकारी चिकित्सक संघ (गोदान) ले केसीको जीवन रक्षा गर्न उनका मागलाई पूरा गराउन दबाब दिन शुक्रबारदेखि दुई दिनसम्म सबै सरकारी स्वास्थ्य निकायमा आकस्मिकबाहेकका सेवा ठप्प पार्ने घोषणा गरेको छ । गोदानले बिहीबार बसको आकस्मिक बैठकमा उक्त निर्णय लिएको हो । यसअघि सरकारी चिकित्सकहरूको यो संगठनले सरकारलाई बुधबार डा. केसीको जीवन रक्षाका लागि माग पूरा गरेर अनशन तोडाउन २४ घण्टे अल्टिमेटमसमेत दिएको थियो ।
एक इमानदार चिकित्सक र समाजको असल व्यक्ति १९ दिनसम्म अनशन बसेर मुटुको चाल बिग्रिन थालिसकेपछि आफूहरू विचलित नभई नियमित बिरामी जाँचिरहन सम्भव नहुने उल्लेख गर्दै गोदानका महासचिव डा. विष्णुरथ गिरीले जीवन रक्षाका लागि अनशन टुंग्याउन जे जस्तो सहमति गर्नुपर्ने हो विधिसम्मत रूपमा तत्काल गरिहाल्नसमेत माग गरेका छन् ।
अतुल मिश्रले कान्तिपुरमा लेखेको खबर ।
प्रतिक्रिया