काठमाडौं १६ मंसिर / स्थापना भएको पाँच महिना बितिसक्दा पनि राष्ट्रिय परीक्षा बोर्डले पूर्णता पाउन सकेको छैन ।
पदाधिकारीले पूर्णता नपाउँदा कार्यालयको नाम तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद्बाट परीक्षा बोर्डमा रुपान्तरण भए पनि देखिने गरी कुनै निर्णय हुन सकेको छैन ।
शिक्षा मन्त्रालयको सुस्तताका कारण बोर्डले गति पाउन नसकेको हो । अध्यक्ष तथा सदस्य नियुक्त हुन नसक्दा महत्वपूर्ण नीतिगत निर्णय रोकिएको छ ।
जसको प्रभाव संस्थाको नियमावली निर्माणमा देखिएको छ । कर्मचारी व्यवस्थापन तथा उनीहरुका लागि आवश्यक पर्ने निर्देशिका पनि बन्न सकेको छैन । भर्खर स्थापना भएका कारण संघीय प्रदेशअनुसार कार्यालय स्थापना गर्नुपर्ने चुनौती बोर्डमा छ ।
पाँच महिना बित्दासमेत अध्यक्ष तथा सदस्य नियुक्त हुन नसकेपछि शिक्षामन्त्री धनीराम पौडेलको समेत आलोचना हुन थालेको छ । मन्त्रालयले अध्यक्ष नियुक्तिका लागि सर्च कमिटी गठन प्रक्रिया सुरु भइसकेको बताएको छ ।
सूर्यप्रसाद पाण्डेले अन्नपूर्ण पोष्टमा लेखेको खबर ।
प्रतिक्रिया