Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

हात्ती आतंकले विद्यार्थी त्रासमा

बुधबार, १५ मंसिर २०७३

काठमाडौं १५ मंसिर / दिउँसै जंगली हात्तीले आक्रमण गर्न थालेपछि बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका विद्यार्थीमा त्रास फैलिएको छ । एक महिनाअघि हात्ती आक्रमणमा सूर्यपटुवास्थित त्रिभुवन माविमा ७ कक्षा अध्ययनरत युवराज चौधरीको मृत्यु भएपछि त्रास बढेको हो ।

विद्यालयबाट घर फर्किंदा उनको ज्यान गएको थियो । त्यसयता विद्यार्थीमा त्रास फैलिएको हो । निकुञ्जले विद्यार्थी आउजाउका लागि नि:शुल्क बस व्यवस्था गरेको छ । बिहान ९ बजे पत्थरबोझीबाट छुट्ने र बिदा भएपछि फर्कने व्यवस्था गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले बताए ।
५० जना विद्यार्थी घना जंगल र जैविक मार्ग हुँदै विद्यालय आउजाउ गर्छन् । अन्तर्राष्ट्रिय जैविक मार्गमा पर्ने यस क्षेत्रमा जंगली हात्तीको आतंक कायमै रहेकाले डल्ला गाउँ वरपर निकुञ्ज सुरक्षाका लागि तैनाथ नेपाली सेनाले नियमित गस्ती गर्ने गरेको छ । गाउँ वरिपरि हात्ती देख्नासाथ सेनाले हवाई फायर गर्दै धपाउने गरेको स्थानीयले बताए ।
जंगली हात्तीले युवराजको दिउँसो र राति ७४ वर्षीय पुरई थारूको ज्यान लिएको थियो । त्यसयता सूर्यपटुवास्थित डल्ला, पत्थरबोझी र डाँडागाउँका बासिन्दा त्रासै त्रासमा छन् । ‘दसैं र तिहार त्रासमै बित्यो,’ डाँडागाउँका वीरबल थारूले भने, ‘अहिले प्राय:जसो दैनिक हात्ती गाउँ आसपास पस्न थालेपछि घर व्यवहार चलाउन बाहिर निस्कनै गाह्रो छ ।’
तीन साताअघि पनि हात्तीले पर्यटकीय क्षेत्र रहेको डल्ला होमस्टेमा राति सुतेको समय कच्ची घरको भित्ता भत्काएको थियो । राति भित्ता भत्काउन थालेपछि आन्तरिक पर्यटकलाई तत्काल सुरक्षित स्थानमा सारिएको होमस्टे सञ्चालक शालिग्राम योगीले बताए । तीनवटा हात्ती दैनिक जैविक मार्गमा आउजाउ गर्ने गरेका छन् । जंगल वरिपरि विद्युतीय तारबार नभएकाले जोखिम बढ्दै गएको स्थानीयले बताए । विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले अन्य काममा लाखौँ रुपैयाँ खर्च गरे पनि तारबारमा कुनै चासो नदेखाएको डाँडागाउँका वीरबल थारूले गुनासो पोखे ।
जैविक मार्गमा रहेका हात्तीलाई निकुञ्जतर्फ फर्काउने पटकपटकको प्रयास असफल भएको निकुञ्जले जनाएको छ । मध्यवर्ती क्षेत्रमा हात्तीको आतंकका कारण स्थानीयवासी साँझ पर्नासाथ सुरक्षित स्थानमा गएर जाग्राम बस्ने गरेका छन् । पाताभार, गोला, ठाकुरद्वारा, बगनाहा, नेउलापुर, धधबारलगायतमा हात्तीले अन्नबाली क्षति पुर्‍याउने गरेको छ ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया