काठमाडौं १५ मंसिर / १७ दिनदेखि आमरण अनशनरत प्रा.डा.गोविन्द केसीको स्वास्थ्यस्थिति जटिल बन्दै गएको छ । मुटुको चालमा देखिएको अनियमितता ‘इरिदिमिया’ ले उनको ज्यान नै जोखिममा पर्न सक्ने अवस्था आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
चिकित्सकका अनुसार अनशनको तेस्रो दिन देखिएको अनियमित धड्कनको समस्या बारम्बार देखिन थालेको छ । ‘अहिले मुटुको चालमा एक सेकेन्डभन्दा कम समयको गडबडी छ । यो समय आठ–दस सेकेन्ड मात्र गयो भने जीवन नै खतरामा पर्छ,’ केसीको उपचारमा संलग्न डा.दिव्यासिंह शाहले भनिन्, ‘यसबाट हार्ट फेल, हार्ट ब्लक, कार्डियाक एरेस्टको खतरासमेत हुन सक्छ ।’
इरिदिमिया र अन्य शारीरिक समस्या र जटिलताले डा.केसीलाई कुनै पनि बेला आईसीयूमा राखेर उपचार गर्नुपर्ने स्थिति आउन सक्ने डा. शाहले बताइन् । डा. केसीको स्वास्थ्य निकै बिग्रिएपछि अनशनस्थलमै आकस्मिक औषधि तम्तयार राखिएको छ । मुटुको धड्कनलाई सन्तुलित बनाउन मद्दत गर्ने डिफाइब्रिलेटर मेसिन पनि तयारी अवस्थामा राखिएको छ । अचानक सास फेर्न गाह्रो भए, अक्सिजन कम भए वा आफैंले सास फेर्न नसक्ने स्थिति आए मुखबाट फोक्सोमा नली राखेर भेन्टिलेटरमा राख्ने गरी तयारी गरिएको छ । अनशन बसेको छेउकै कोठामा भेन्टिलेटर राखिएको छ ।
डा. केसीको रक्तचापसमेत कम हुँदै गएकोमा चिकित्सकले चिन्ता व्यक्त गरेका छन् । रगतमा सेता रक्तकणिका कम भएको छ । उनलाई निरन्तर अक्सिजन दिइराख्नुपरेको छ । शरीरको मांसपेशी बाउँडिने, रिंगटा लाग्ने, छातीको दुखाइलगायत समस्याले समेत डा. केसी थलिएका छन् ।
कुलपति–डिनमै अड्कियो वार्ता
डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीच तेस्रो दिन मंगलबारको वार्ता पनि बिनानिष्कर्ष टुंगिएको छ । त्रिवि उपकुलपति तीर्थ खनियाँको बर्खास्तगी र चिकित्साशास्त्र अध्ययन संस्थानमा प्राध्यापक भएको वरिष्ठताका आधारमा डिन नियुक्त हुनुपर्ने केसीको मागमा तीन दिनदेखि वार्ता अडकिएको छ । उच्च राजनीतिक तहमा सहमति भए मात्र वार्ताको निकास निस्कने वार्तामा सहभागी केसीका प्रतिनिधि डा. वाईपी सिंहले गरे । मंगलबार पनि यिनै दुई मागमा सहमति हुन नसकेको जानकारी दिँदै चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले बुधबार पनि वार्ता हुने बताए । ‘वार्तामा केही प्रगति भएको छैन,’ वार्तामा संलग्न केसी पक्षका डा. राजेन्द्र वाग्लेले भने, ‘आज स्वास्थ्यमन्त्री गगन थापाले केसी सरलाई भेटेकाले केही प्रगति हुन्छ कि भन्ने आस थियो तर त्यस्तो केही भएन ।’ सरकारी पक्षले समस्या समाधान गर्न नचाहेको बताउँदै उनले भने, ‘अब प्रधानमन्त्रीको हस्तक्षेपपछि मात्र केही हुन सक्छ ।’ मंगलबारको वार्तामा सरकारी पक्षबाट शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेती सहभागी थिए भने केसीका प्रतिनिधिका रूपमा डा. वाईपी सिंह, डा.जीवन क्षत्री, डा.वाग्ले, चिकित्सक संघका अध्यक्ष डा. श्रेष्ठ एवं पूर्वअध्यक्ष डा.अन्जनी झा सहभागी थिए ।
निर्णायक आन्दोलन गर्न संघलाई अनुरोध
रेजिडेन्ट चिकित्सक, चिकित्सक र चिकित्साशास्त्रका विद्यार्थीसम्बद्घ आठवटा संस्थाले चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघलाई डा. केसीको आन्दोलनलाई निर्णायक बनाउन आग्रह गरेका छन् । डा. केसीको अनशन १७औं दिनमा पुगेर स्वास्थ्यस्थिति बिग्रँदै जाँदासमेत सरकार गैरजिम्मेवार बनेको भन्दै उनीहरूले केसीको जीवन रक्षा गर्न बुधबारदेखि देशव्यापी कडा आन्दोलन गर्न आग्रह गरेका हुन् । संघलाई लिखित पत्र दिँदै नेपाल रेजिडेन्ट डक्टर्स एसोसिएसन, नेसनल डक्टर्स एसोसिएसन, नेपाल मेडिकल स्टुडेन्टस सोसाइटी, डक्टर्स सोसाइटी अफ नेपाल, रेजिडेन्टस एसोसिएसन अफ न्याम्स, सोलिडारिटी अफ मेडिकल फ्राटर्निटी, जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटी र सोलिडारेटी फर डा.गोविन्द केसी एलायन्सले उक्त आग्रह गरेका हुन् । संघले यसै विषयमा छलफल गर्न बुधबार कार्यकारिणी समितिको आकस्मिक बैठक डाकेको छ ।
अब आकस्मिकमा मात्रै सेवा
नेसनल रेजिडेन्ट डाक्टर्स एसोसिएसनले बुधबारदेखि त्रिवि शिक्षण अस्पतालको आकस्मिकबाहेकका सेवामा सहभागी नहुने जनाएको छ । एसोसिएसनको मंगलबार बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । यसअघि रेजिडेन्ट चिकित्सकहरू डा.केसीको समर्थनमा बहिरंग सेवामा सरिक हुन छाडेका थिए ।
सबैभन्दा लामो अनशन
डा. केसीको जारी अनशन हालसम्मकै सबभन्दा लामो हो । उनी हालसम्म उस्तै–उस्तै मागका लागि १ सय ९ दिन अनशन बसिसकेका छन् । यसअघि उनको आठौं अनशन १६ दिन चलेको थियो । उनका दुई अनशन विशेष परिस्थितिले गर्दा स्थागित भएको थियो भने सातवटा अनशन सरकारसँग लिखित सहमतिमा तोडिएका थिए ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया