काठमाडौं - शिक्षा मन्त्रालय अन्र्तगतका सबै निकायका प्रमुखहरुले शिक्षा सचिवलाई लिखित रुपमा जानकारी नगराई कार्यक्षेत्र छाड्न नपाउने भएका छन् । मन्त्रालय अन्र्तगतका विभागीय प्रमुख तथा क्षेत्रीय र जिल्ला शिक्षा कार्यालयका हाकिमले अनिवार्य रुपमा सचिवबाट लिखित स्वीकृति लिएर मात्र कार्यस्थल छोड्नु पर्ने मन्त्रालयले निर्देशन दिएको हो ।
मन्त्रालयले आफ्ना विभागीय निकायलाई परिपत्र गर्दै लिखित सम्भव नभए मौखिक रुपमा भएपनि स्वीकृति लिन अनिवार्य गरेको हो ।
मन्त्रालय अन्तर्गत कार्यरत विभागीय प्रमुख, परियोजना प्रमुख, क्षेत्रीय प्रमुख तथा जिल्ला स्थित जिल्ला शिक्षा अधिकारीहरु, जिल्ला स्थित शैक्षिक तालिम केन्द्रका प्रमुखहरुले जानकारी गराउनु पर्ने भएको हो । आफ्नो कार्यक्षेत्रभन्दा बाहिर जानु पर्ने भएमा अनिवार्य रुपमा सचिवबाट लिखित रुपमा र सम्भव नभए मौखिक रुपमा स्वीकृति लिएर मात्र कार्यस्थल छोड्न पाईने उक्त परिपत्रमा उल्लेख छ ।
मन्त्रालयमा अनुगमन तथा सुशासन महाशाखा मार्फत र सबै जिल्ला तथा क्षेत्रीय कार्यालयलाई विभाग मार्फत् परिपत्र गर्न भनिएको छ ।
यस्तै शैक्षिक तालीम केन्द्रका प्रमुखहरुलाई परिपत्र गर्न शैक्षिक जनशक्ति विकास केन्द्रलाई निर्देशन दिईएको छ ।
मन्त्रालय मातहतका शिक्षक सेवा आयोग, शिक्षा विभाग, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, पाठ्यक्रम विकास केन्द्र, अनौपचारिक शिक्षा केन्द्र, शैक्षिक जनशक्ति विकास केन्द्र, विद्यालय शिक्षक कितावखाना, शिक्षाको लागि खाद्य परियोजना, विश्व खाद्य कार्यक्रम, प्राविधिक शिक्षा तथा ब्यवसायिक तालीम परिषद् सिटिईभिटि, ब्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना ईभेण्टलाई उक्त परिपत्र गरिसकिएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया