काठमाडौं १३ मंसिर / अनशनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच आइतबार सिंहदरबारमा भएको वार्ता कुनै निष्कर्षमा पुग्न सकेन । डा. केसीका मागअनुसार त्रिविका उपकुलपतिको बर्खास्तगी र डिनको राजीनामाबारे कुरा नमिलेपछि करिब ६ घण्टा चलेको वार्ता निष्कर्षमा पुग्न सकेन ।
मेडिकल शिक्षामा चलखेल गरेको र वरिष्ठता मिचेर चिकित्साशास्त्र अध्ययन संस्थानमा डिन नियुक्त गरेको भन्दै डा. केसीले त्रिविका उपकुलपति तीर्थ खनियाँलाई बर्खास्त गर्नुपर्ने माग गरेका छन् । खनियाँले चिकित्साशास्त्र अध्ययन संस्थानका डिनमा नियुक्त गरेका डा. केपी सिंहको सट्टा वरिष्ठताका आधारमा डिन नियुक्ति हुनुपर्ने उनको अडान छ । केसी पक्ष यी दुई मागमा अडिग भएपछि वार्ता निष्कर्षमा पुग्न नसकेको हो ।
केसीको दसौं आमरण अनशनको १४ औं दिन शनिबार सरकारले शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेती सदस्य रहेको वार्ता समिति बनाएको थियो । समिति गठन हुनु केही घण्टा अघि नेपाल चिकित्सक संघले सरकारलाई २४ घण्टाभित्र वार्ता नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको थियो । आइतबार सिंहदरबारमा वार्ता चलिरहेका बेला डा. केसीले कान्तिपुरसँग कुरा गर्दै आफ्ना दसवटै माग अक्षरश: पूरा नभई अनशन नतोड्ने बताए । सरकारी वार्ता टोलीका सदस्यले उपकुलपति र डिन हटाउने विषय आफ्नो बुताको नभएको बताएका थिए । यो निर्णय प्रधानमन्त्रीको तहबाट मात्रै हुन सक्ने भन्दै उनीहरूले थप छलफलका लागि समय मागेका थिए । वार्ता समिति मन्त्रीस्तरीय निर्णयबाट गठन भएकाले पनि यो समितिले धेरै कुरामा निर्णय लिन नसक्ने केसी पक्षधर वार्ता टोलीका एक सदस्यले बताए ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया