स्याङ्जा - मंसिर ९ गते बिहीबार, दिउँसो करिब सवा बाह्र बजेको थियो, दरौंस्थित दरौं माध्यमिक विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद पौडेलको मोवाईलमा घण्टि बज्यो ।
फोन उठाउने बित्तिकै ‘म शिक्षामन्त्री धनीराम पौडेल’ बोलेको भनेपछि प्रअ पौडेलको सातो गयो, मन ढक्क फुल्यो ।
शिक्षामन्त्रीले फोन गरेपछि मंसिर ५ गते आफूले एक शिक्षकलाई हातपात गरेको सम्झना आयो, सम्झनासँगै उनलाई लौ अब शिक्षामन्त्रीले के के सोध्ने हुन् ? भन्ने लाग्यो । सो कुरा मनमा खेलाउँदै ‘के गरौं, के भनौं’ को स्थिति भए पनि फोनबाटै हतपत्त नमस्कार गरे ।
शिक्षामन्त्रीले नै फोन गरेपछि अत्तालिएका प्रअ पौडेलसँग शिक्षा मन्त्रीले पाँच मिनेट लामो कुराकानी गरे ।
‘उहाँले फोन गरेर अस्ति (मंसिर ५गते ) को घटना के थियो भनेर विवरण सोध्नु भएको हो’ प्रअ पौडेलले भने, ‘मैले त्यो सामान्य घटना हो भनेँ, त्यो दिन जे–जे भएको थियो, त्यही त्यही बताएँ, नढाँटीकन मैले बताएँ, मैले मलाई मात्र नभएर अर्को सरलाई पनि फोन गरेर सोध्नु भए बेटर हुन्थ्यो भनेर पनि भनेँ ।’
प्रअ पौडेलसँग फोनमा भएको कुराकानीका क्रममा शिक्षामन्त्रीले ड्रेसको कुरा राष्ट्रिय लेबलमा उठेको विषय भएको बताएको पौडेलले जानकारी दिए । नहुनुपर्ने झडप भएछ, तपाइँहरु मिल्नुपर्नेमा यस्तो हुँदा दुःख लाग्यो भनेर मन्त्रीले भनेको प्रअले बताए ।
'उनी शिक्षामन्त्री मात्र हैन, यही गाउँकै 'जुनियर भाइ' हुन्, यहि विद्यालयमा पढेका हुन्, चिनाजानेकै मान्छे हुन्' पौडेलले भने, 'मेरो त नाता पनि रहेका मान्छे हुन्, उनले फोन गर्नु सामान्य नै हो खासै ठूलो कुरा हैन ।'
शिक्षा मन्त्रीको फोन आउनुपूर्व नै विद्यालयमा भएको उत्तल घटनाको कुरो मिलिसकेको उनले दावि गरे । सामान्य घटनालाई लिएर प्रचार बढी भएको भन्दै उनले कुरो मिलाउन आफूले प्रावि शिक्षक महेन्द्रप्रसाद लामिछानेसँग माफी नै मागेको पनि बताए ।
के भएको थियो उक्त घटना पढ्नुहोस् : शिक्षा मन्त्रीकै गाउँका प्रअले कुटे शिक्षक
प्रतिक्रिया