Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

विद्यालय जीर्ण भएपछि पढाइ प्रभावित

विहीबार, ०९ मंसिर २०७३

काठमाडौं ९ मंसिर / पिछडिएका समुदायका बालबालिका पढ्ने महोत्तरीको सिमरदही—१ स्थित लक्ष्मी नारायण माध्यमिक विद्यालयको भवन पूर्ण रूपमा जीर्ण भएपछि पठनपाठन प्रभावित भएको छ ।

२०११ सालमा स्थापित विद्यालमा मुसहर, पासमानलगायतका पिछडिएका समुदायका ६ सय ५२ जना बालबालिका अध्ययन गर्दै आएका छन् ।

विद्यालयका प्रधानाध्यापक राजकिशोर चौधरीका अनुसार विद्यालयको ८ वटा कक्षा कोठा कामै नलाग्ने गरी पहिलेदेखि नै जीर्ण थिए । २०७२ साल वैशाख १२ र २९ गते आएको भूकम्पले विद्यालयको भवन थप क्षतिग्रस्त बनाएपछि प्रत्येक कक्षाकोठामा टेको लगाएर पढाउनुपर्ने बाध्यता छ ।

विद्यालयमा रहेका ८ कोठामा शिक्षण क्रियाकलाप सञ्चालन गर्ने अवस्था नरहेको र बाँकी ८ कोठा काम चलाउ मात्रै रहेको प्रअ चौधरीको भनाइ छ । भवन जीर्ण भएपछि गर्मीको समयमा विद्यालयको प्रांगणमा रहेको आँपको बोटमुनि विद्यार्थीहरू पढ्छन् । तर अब जाडोमा बाहिर झन् चिसो हुने भएकाले बच्चाहरूलाई कहाँ राखेर पढाउने चिन्ता बढेको अभिभावक श्रीनारायण मटरले बताए ।

सदरमुकाम जलेश्वरबाट करिब चार किलोमिटरको दूरीमा रहेको विद्यालयको भवन जीर्ण भए पनि जिल्ला शिक्षा कार्यालय महोत्तरीको आँखा पुग्न सकेको छैन । ‘भवन जीर्ण छ । जतिखेर जे पनि हुनसक्छ,' अभिभावक केसी सहनीले भने, ‘विद्यलायको जीर्ण भवन राज्यले धराप थापेर राखेको छ । कुनै पनि बेला भवन भत्किएर विद्यार्थी र शिक्षकको ज्यान जाने खतरा छ ।'

अनुगमनका क्रममा विद्यालय पुगेका पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यालयमा शिक्षण क्रियाकलाप प्रभावित भए मरनीदेवीजस्ता धेरै महिला बोक्सी, बालविवाहजस्ता विकृति विसंगतिको सिकार बन्ने बताए । उनले भने, ‘शिक्षा सबै नागरिकको मौलिक अधिकार हो । पछाडि परेका विद्यालय र समुदायलाई विशेष अधिकार दिनुपर्छ ।' अनुगमनका क्रममा विद्यालयका कक्षाकोठा नियालेका पोखरेलले विद्यार्थीलाई जीर्ण कक्षाकोठामा नपढाउन प्रअ चौधरीलाई निर्देशन दिएका थिए ।

सिमरदही गाविसमा ९ वडामध्ये ५ वडामा दलितको बसोबास छ । ८० प्रतिशत दलितको २ धुर बस्ने जग्गाबाहेक केही नरहेको स्थानीय श्याम चौधरीले बताए । उनले भने, ‘बिहान कमाएर राति खान्छन् । फेरि भोलि के खाने भन्ने समस्या भएका मुसहर, पासमानजस्ता दलित समुदायका बच्चाहरू विद्यालयमा पढ्छन् ।'

‘धनीका छोराछोरी बाहिर गएर पनि पढिहाल्छन् । तर गरिबका बच्चा काहाँ पढ्छ ? प्रश्न उठेको छ,' विद्यालयको निरीक्षणमा पुगेका जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहाललाई प्रश्न गर्दै जलेश्वरका बुद्धिजीवी रामआधार कापरले भने, ‘जिल्ला शिक्षा कार्यालयकामा आएको बजेटमा सिमरदहीका दलित बालबालिकाको पनि अधिकार छ । शिक्षा अधिकारीले विद्यालयको बारेका सोच्नुपर्छ ।'

जिल्ला शिक्षा अधिकारी दाहालले विद्यालयमा पढ्ने वातावरण नहरेकोमा दुःख व्यक्त गर्दै भने, ‘नाम मात्रको हाइस्कुल हो । विद्यालयमा बच्चा पढ्ने अवस्था नै छैन । यसमा हामी सबै दोषी छौं ।' विद्यालयको भवन अति जीर्ण हुँदा पनि लक्ष्मीनारायण विद्यालयमा भवन बन्ने बजेट किन आएन ? भन्ने विषयमा खोजी गर्ने विद्यालयका अभिभावकलाई उनले आश्वासन दिए ।
विद्यालयमा निमावि र मावि तहमा अध्ययापन गराउने गणित विषयको शिक्षकको समेत अभाव रहेको प्रअ चौधरीले बताए ।
अन्नपूर्ण पोष्टमा राजकरण महतोले लेखेको खबर ।

प्रतिक्रिया