Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

फर्जी कलेज चलाएर आधा करोड असुली

विहीबार, ०९ मंसिर २०७३

काठमाडौं ९ मंसिर / फर्जी प्रक्रियाबाट सञ्चालित एक कलेजले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को नाम बेचेर विद्यार्थीबाट ठूलो परिमाणमा रकम असुलेको पाइएको छ । धनगढीस्थित मल्टी स्किल इन्स्टिच्युट अफ टेक्नोलोजी नाममा चलाइएको कलेजले १ सय १० विद्यार्थीबाट ५५ लाख ५५ हजार रुपैयाँ ठगेको हो ।

उदासीपुर गाविसस्थित चमारीपुरका राजाराम चौधरीले सीटीईभीटीको सम्बन्धन लिएको भन्दै अवैधरूपमा कलेज चलाएका हुन् । प्राविधिक विषय पढाउने कलेज भनिए पनि उनले शिक्षक र कर्मचारीसमेत सम्बन्धित विषयका राखेका छैनन् ।
तिनै शिक्षकका भरमा तीन महिनादेखि अध्ययन गरिरहेका विद्यार्थीको पैसा डुब्नुका साथै भविष्यसमेत अन्योलमा धकेलिएको छ । ‘असोजमा नै उजुरी परेको हो,’ कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने, ‘छानबिन गर्दा समय लाग्यो, अहिले उनलाई थुनेर कारबाही सुरु गरिएको छ ।’ कलेज सञ्चालन, शिक्षक–कर्मचारी नियुक्तिलगायत सबै नक्कली देखिएपछि बुधबार चौधरीलाई प्रहरीका जिम्मा लगाइएको उनले जानकारी दिए ।
चौधरीले एक वर्षदेखि उक्त कलेज चलाउँदै आएका थिए । त्यहाँ अनुमतिबिनै कृषि जेटिए, भेटेरिनरी जेटीए र कम्युटर आईटी विषय सञ्चालन गरिएको पाइएको छ । चौधरीले सबै विद्यार्थीबाट गरी सुरुमै ५० हजार ५ सय रुपैयाँका ५५ लाख ५५ हजार लिएको स्वीकारिसकेका छन् ।
मोटो लगानी तिरेर भर्ना भएको कलेज फर्जी निस्किएपछि विद्यार्थी अन्योलमा छन् । ‘सुरुमै ५० हजार ५ सयका दरले लिइएको हो,’ बाजुराबाट पढ्न आएकी सरिता ऐडीले भनिन्, ‘हामीलाई नक्कली कलेज भन्ने जानकारी नै भएन, अव के गर्ने समस्या भएको छ ।’ कलेजमा कृषि जेटीए, भेटेरिनरी जेटीए र कम्युटर आईटी अध्ययन गरिरहेका विद्यार्थीको भविष्य अन्धकार भएको उनले बताइन् ।
विद्यार्थीका अनुसार इन्स्टिच्युट सञ्चालक राजाराम चौधरीले सीटीईभीटीबाट मान्यता पाएको भन्दै विद्यार्थीबाट रकम उठाएका थिए ।
उनीहरूले आफ्नो भविष्य अन्योल पार्नेलाई कारबाही माग गरी बुधबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेपछि चौधरीलाई नियन्त्रणमा लिइएको हो ।
‘प्रशासनलाई यसअघि नै जानकारी दिइएको हो तर कसैले वास्ता गरिदिएन,’ अर्का विद्यार्थी विवश खड्काले भने, ‘अब के गर्ने ? हाम्रो त भविष्य नै अन्योल भएको छ ।’ विद्यार्थीका अनुसार अभिभावकले समयसमयमा कलेजमा फोन गरे पनि सञ्चालक चौधरीले कहिल्यै फोन उठाएनन् । न त कलेजमै जाँदा भेटिन्थे ।
भर्ना हुने बेला पैसा दिएपछि प्रवेश परीक्षा नलिएर पनि भर्ना गरेको पाइएको छ । ४० जना विद्यार्थी भर्ना गर्नुपर्नेमा एउटै विषयमा ६५ जनासम्म भर्ना गरिएको छ ।
प्रजिअ रिजालले भने, ‘चौधरीलाई डेढ महिनादेखि तारेखमा राखिएको थियो, अनुसन्धानमा उनले सीटीईभीटीबाट मान्यता नलिएको जानकारी भएपछि थुनामा राखिएको हो ।’ कैलालीमा चौधरीले बिनाअनुमति सञ्चालित यस्ता दर्जनभन्दा बढी कलेज तथा तालिम केन्द्र रहेको प्रशासनको आशंका छ । तिनीहरूमाथि टोली नै बनाएर छानबिन गर्ने तयारी भइरहेको प्रजिअ रिजालले जानकारी दिए ।

डीआर पन्तले कान्तिपुरमा लेखेको खबर ।

प्रतिक्रिया