Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

बाल शिक्षादेखि कक्षा आठसम्म आधारभूत तह र कक्षा नौदेखि १२ कक्षासम्म माध्यमिक तहप्रति हिसानको असहमति

विहीबार, ०९ मंसिर २०७३

काठमाडौं ९ मंसिर/ उच्च माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) ले शिक्षा नियमावलीको मस्यौदामा कतिपय जायज मागको सम्बोधन नगरिएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।  

खासगरी शिक्षाको तहगत संरचनामा बाल शिक्षादेखि कक्षा आठसम्म आधारभूत तह र कक्षा नौदेखि १२ कक्षासम्म माध्यमिक तह भन्ने संवैधानिक प्रावधान विपरीत कक्षा १ देखि १२ कक्षासम्मको शिक्षालाई एउटै तहमा प्रस्तावित गरिएकोमा हिसाानले आपत्ति जनाएको छ ।  
सरकारले शिक्षा नियमावलीलाई अन्तिम स्वरूप दिने तयारी गरिरहेका बेला बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा हिसानका अध्यक्ष रमेश सिलवालले शिक्षाको संरचनामा आफ्नो मुख्य चासो रहेको बताउनुभयो ।  हाल सञ्चालित दश जोड दुई कलेज निर्वाध रूपमा उक्त तह सञ्चालन गर्न पाउनुपर्ने वा २०७८ चैत मसान्तभित्र कक्षा नौ र १० को अनुमति लिइसक्नुपर्ने प्राधान ह्ुनुपर्ने माग उहाँले गर्नुभयो ।  
साथै हालसम्म उच्च माध्यमिक विद्यालय अस्थायी सम्बन्धनका आधारमा सञ्चालन भइरहेको भन्दै उहाँले पूर्वाधार पुगेका शैक्षिक संस्थालाई स्थायी सम्बन्धन दिनुपर्ने बताउनुभयो ।  यो अवस्थामा शैक्षिक संस्थामा कार्यरत शिक्षक, कर्मचारीलाई स्थायी गर्न नसकिने उहाँको भनाइ छ ।  विद्यालयमा पूर्णकालीन अध्यापक तथा कर्मचारी राख्न सकिने भए पनि स्थायीको व्यवस्था भने गर्न नसकिने उहाँले स्पष्ट गर्नुभयो ।  
विद्यालय तहको हालको शिक्षक अभिभावक सङ्घलाई विद्यालय अभिभावक परिवार बनाउनुपर्ने अवधारणा हिसानले अगाडि सारेको छ ।  शिक्षक अभिभावक संघमा भएको राजनीतिकरणलाई न्युन गरी वास्तविक सरोकारवालाई समेट्नुपर्ने उहाँको भनाइ छ ।
साथै विद्यालयको शैक्षिक सत्र वैशाखबाट प्रारम्भ हुने उल्लेख गरिएकोमा कक्षा ११ र १२ मा उक्त प्रावधान कार्यान्वयन हुन नसक्ने भएकाले त्यसलाई सच्याउनुपर्ने माग हिसानका अध्यक्ष सिलवालले गर्नुभयो ।  कक्षा ११ को शैक्षिक सत्र सुरुवात साउन १५ र कक्षा १२ को हकमा असार १५ राख्नु उपयुक्त हुने सुझाव दिइएको छ ।  दश जोड दुई तहमा १५० दिनभन्दा बढी विद्यालय सञ्चालन हुन सक्ने अवस्था नरहेको उहाँले उल्लेख गर्नुभयो ।  विद्यालय तहमा २२० दिन नै कक्षा सञ्चालन हुने प्रावधान शिक्षा नियमावलीको मस्यौदाले समेटेको छ ।  यसका साथै संस्थागत विद्यालय र उच्च माध्यमिक विद्यालयको हकमा अलग्गै शिक्षा नियमावली हुनुपर्ने माग गरिएको हिसानका अध्यक्ष सिलवालले बताउनुभयो ।  
गोरखापत्रमा प्रकाशित खबर ।

प्रतिक्रिया